• Saturday 25th of July 2026

युवाको रोजाइमा च्याउखेती


  • गोकर्णेश्वर अनलाइन

– पवित्रा घिमिरे पाल्पामा विदेशबाट फर्केका युवाको च्याउखेतीमा आकर्षण बढ्न थालेको छ । युवाहरुले निस्दी गाउँपालिका वडा नं ५ गेझा, ढुङ्गानाबेँसी, वेलडाँडामा विभिन्न च्याउ फार्म सञ्चालन गरेर मनग्य आम्दानी गर्दै आएका छन् । निस्दी गेझाका पूर्णबहादुर पचभैंयाले च्याउ बिक्रीबाटै एक मौसममा करीब रु चारदेखि पाँच लाख आम्दानी गर्दै आएको बताउनुभयो । विसं २०६९ देखि कृषिमा लागेका पचभैंयाले केही वर्ष टमाटर, काउली बन्दालगायतका तरकारीखेती गरे पनि अहिले पछिल्लो समय यी तरकारी बिक्रीका लागि बजारको समस्या भएपछि च्याउखेती गरेको सुनाउनुभयो । उहाँले अहिले फार्ममा १० हजार गोला भएको र दैनिक उत्पादन भए बिक्रीमा सजिलो हुने बताउनुभयो । उहाँले अरु तरकारी खेतीभन्दा च्याउखेती गर्न र बिक्रीका लागि समेत सहज भएकाले च्याउखेती गरेको जानकारी दिनुभयो । शुरुमा गाउँका सात युवा मिलेर थालेको च्याउखेती अहिले तीन युवाले धानेको उहाँ बताउनुहुन्छ । गाउँमा तीन युवाले छुट्टाछुट्टै च्याउ फार्म सञ्चालन गरे पनि बिक्री तथा पराल खरीदलगायतका काममा भने सधैँ सहकार्य भएको पचभैंयाको भनाइ छ । पाल्पामा च्याउको बजारसमेत राम्रो रहेकाले कन्य र सिताके च्याउखेती गर्दै आएको उहाँले बताउनुभयो ।

करीब एक दर्जनको हाराहारीमा पाल्पामा व्यावसायिक तवरले कृषकले च्याउखेती गर्दै आएका छन् । बजारमा रु २०० देखि ७०० प्रतिकिलोमा बिक्री हुने च्याउ गल्धा गेझाका पचभैंयाले मोटरसाइकलमा बिक्रीका लागि निस्दी, रामपुरलगायत जिल्लाका विभिन्न ठाउँ, स्याङ्जा, तनहुँ र नवलपुरसम्म पु¥याउनुहुन्छ । निस्दीमा निस्दी किनारा कृषि फार्म सञ्चालन गरेका उहाँले एक दिनमा एक क्विन्टलभन्दा धेरै च्याउ बिक्री हुने जानकारी दिनुभयो । उहाँका अनुसार प्रायः जाडो महिनामा मात्र गरिने च्याउखेती यसवर्षदेखि गर्मीमा पनि गर्ने सोच रहेको बताउनुभयो । जिल्लाका रामपुर नगरपालिका, तानसेन नगरपालिका, निस्दी, तिनाउ, रिब्दीकोट गाउँपालिकालगायतका क्षेत्रमा व्यावसायिकरूपमा युवाले च्याउखेती गर्दै आएका कृषि ज्ञान केन्द्रले जनाएको छ । रिब्दीकोट गाउँपालिकामा १६ युवाले मिलेर च्याउखेती गरेका छन् । निस्दीमा रहेका सारु फार्म, धर्तीमाता कृषि फार्मलगायतका फार्ममा अहिले च्याउखेतीसम्बन्धी सीप सिक्न, च्याउ खरीद गर्न नागरिक पुग्ने गरेका सञ्चालकको भनाइ छ । पाल्पाका शेरबहादुर सोतीलाई पनि यतिबेला च्याउ बिक्रीमा भ्याइनभ्याई भएको छ ।

विभिन्न मौसमी बेमौसमी तरकारी खेतीसँगै च्याउखेती थाल्नुभएका सोतीले च्याउ बिक्रीबाटै वर्षमा रु चार लाख कमाउने बताउनुभयो । “वहराइनमा दुई वर्ष काम गरेर दुःख पाएँ, कमाइ राम्रो भएन, अब कहिल्यै विदेश नजाने गरी तरकारी खेतीमा लागेको आठ वर्ष भयो”, उहाँले भन्नुभयो, “सीप सिकेर काम गरे विदेश नै जानुपर्छ भन्ने आवश्यक छैन ।” रामपुरका बलबहादुर रानाले पनि विगत छ वर्षदेखि च्याउखेती गर्दै आउनुभएको छ । विदेशबाट फर्केपछि च्याउखेती थाल्नुभएका रानाले वेझाडमा च्याउगोठमा च्याउ उत्पादन गरी बिक्री वितरण गर्दै आएको बताउनुभयो । एक हजार २०० गोला राख्नुभएका रानाले प्रायः होलसेलमा रामपुरका बजारमा च्याउ बिक्री गर्ने बताउनुभयो ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology