• Saturday 25th of July 2026

स्ववियु निर्वाचनमा भाग लिन्छौँ : नेविसङ्घ


  • गोकर्णेश्वर अनलाइन

आगामी फागुन १४ गते हुने स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनमा सक्रियरुपमा सहभागी हुने नेपाल विद्यार्थी सङ्घ (नेविसङ्घ) को नयाँ नेतृत्वले स्पष्ट गरेको छ । नेविसङ्घका नवनियुक्त अध्यक्ष राजीव ढुङ्गानाले आफूहरुको पहिलो मुद्दा नै स्ववियु निर्वाचन भएकोले विगत १० वर्षदेखि हुन नसकेको निर्वाचनमा सक्रिय भाग लिने बताउनुभयो । “हामी मनोनित हुँनासाथ हाम्रो पहिलो कार्यसूची नै स्ववियु निर्वाचन हो’’ उहाँले भन्नुभयो, ‘‘निर्वाचनमा सक्रिय भाग लिएर सफल बनाउछौँ ।’’ उहाँले निर्वाचनका सम्बन्धमा त्रिवि पदाधिकारीसँग पनि आफूहरुले छलफल गरिरहेको समेत जानकारी गराउनुभयो । उहाँले स्ववियु निर्वाचनको वातावरण बनाउन त्रिविलाई आग्रह गर्नुभयो । ‘‘त्रिविमा निर्वाचन गर्ने प्रमुख निर्वाचन अधिकृत भनेको रेक्टर हो’’, उहाँले भन्नुभयो, ‘‘त्रिविले चाडै रेक्टर नियुक्त गरेर स्ववियु निर्वाचनको वातावरण बनाउनुप¥यो ।’’ त्रिविमा २०६५ सालयता सबै क्याम्पसमा स्ववियु निर्वाचन हुन सकेको छैन । विसं २०७३ मा २५० क्याम्पसमा स्ववियु निर्वाचन भएको थियो । अनेरास्ववियुका संयोजक ऐन महरले निर्धारित मितिमा नै स्ववियु निर्वाचन गर्न सबै विद्यार्थी सङ्गठनले प्रतिबद्धता जनाएकोले निर्वाचन हुने बताउनुभयो ।

‘‘नेविसङ्घको नयाँ नेतृत्व पनि निर्वाचन गर्नमा सकारात्मक छ’’, उहाँले भन्नुभयो, ‘‘ हामी निर्वाचनका सम्बन्धमा नेविसङ्घसँग छलफल गरिरहेका छौँ ।’’ त्रिविले ६२ आङ्गिक क्याम्पसमा स्ववियु निर्वाचनको तयारी गर्न क्याम्पस प्रमुखलाई पत्र पठाइसकेको छ । त्रिवि सभा सदस्य तथा आरआर क्याम्पसका स्ववियु सभापति तपेन्द्रबहादुर शाहीले चाडै नै त्रिविले निर्वाचनका सम्बन्धमा सबै विद्यार्थीसँग छलफल गरेर कार्यतालिका सार्वजनिक गर्ने बताउनुभयो । यसअघि त्रिविले फागनु १४ गते निर्वाचन मिति मानी प्रस्तावित कार्यतालिका सार्वजनिक गरेको छ । स्ववियु निर्वाचन २८ वर्षे उमेर हदबन्दी र मिश्रित निर्वाचन प्रणाली अनुरूप हुनेछ ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology