• Saturday 25th of July 2026

महिनैपिच्छे बढ्दै कुष्ठरोगी


  • गोकर्णेश्वर अनलाइन

–विमलबहादुर विष्ट जिल्लामा कुष्ठरोगीको संख्या महिनैपिच्छे बढिरहेको छ । गएको सात महिनामा चारजना नयाँ कुष्ठरोगीको सङ्ख्या थपिएको छ । अहिले जिल्लामा सातजना कुष्ठरोगी रहेको जिल्ला स्वास्थ्य कार्यालयको तथ्याङ्कमा उल्लेख छ । रोगीको संख्या शून्यमा झार्न अभियान सञ्चालन गरिए पनि असफल बनेको छ । गत आर्थिक वर्षको अन्तिम असारसम्म जिल्लामा तीनजना कुष्ठरोगी रहेकामा चालु आवको पुस मसान्तसम्ममा थप चारजना कुष्ठरोगी फेला परेको जिल्ला स्वास्थ्य कार्यालय डोटीले जनाएको छ । तथ्याङ्कअनुसार केआईसिंह गाउँपालिकामा एक, शिखर नगरपालिकामा दुई, पूर्वीचौकी गाउँपालिकामा एक, दिपायल–सिलगढी नगरपालिकामा दुई र बडीकेदार गाउँपालिकामा एकजना कुष्ठरोगका बिरामी फेला परेका हुन् । स्वास्थ्य कार्यालयको रेकर्डमा आउन बाँकी रहेका दुईजना फेरि नयाँ कुष्ठरोगी फेला परेको क्षय कुष्ठरोगसम्बन्धी फोकल पर्सन उद्धवसिंह ठगुन्नाले बताउनुभयो । उहाँले भन्नुभयो, “हाम्रो रेकर्डमा आउन बाँकी रहेका दुईजना कुष्ठरोगीका बारेमा जानकारी आएको छ, सबै अध्ययन गरेर हामी रेकर्डमा राख्नेछौँ ।”

जिल्लामा कुष्ठरोगीको सङ्ख्या थपिँदै जान थालेपछि स्वास्थ्य कार्यालयले चालु आवमा जिल्लाका नौवटै स्थानीय तहमा कुष्ठरोगका बिरामी पहिचानका लागि स्क्रिनिङ क्याम्प गर्ने योजना रहेको स्वास्थ्य कार्यालय डोटीका कार्यालय प्रमुख तथा जनस्वास्थ्य अधिकृत रमेश मलासीले जानकारी दिनुभयो । नेपाल सरकारले कुष्ठरोग मुक्त नेपालको परिकल्पना गर्दै सन् २०२० मा कुष्ठरोग प्रकोप दर प्रति १० हजार जनसङ्ख्यामा एकजनाभन्दा कम गर्ने लक्ष्य राखेको भए पनि डोटीमा कुष्ठरोगीको सङ्ख्या थपिँदै जान थालेपछि उक्त लक्ष्य चुनौतीका रुपमा लिइन थालिएको छ । कुष्ठरोगका बिरामीहरुलाई जिल्लामा देवीदेउता, पिचास लागेको भन्ने समाजमा रहेको अन्धविश्वास र विभेदको अन्त्य गरी ससम्मान स्वास्थ्योपर गर्ने वातावरण सिर्जनाका लागि चेतनामूलक अभियान सञ्चालन गर्नुपर्ने जिल्ला अस्पताल डोटीका अध्यक्ष यज्ञराज जोशीले बताउनुभयो । उहाँले भन्नुभयो, “कुष्ठरोगका बिरामीलाई देवीदेउता लागेको भन्दै गाउँबाट अलगै राख्ने र कसैले पनि छुनु नहुने भन्ने अन्धविश्वासले यो रोग निवारण गर्न समस्या भएको छ । कुष्ठरोगीलाई ससम्मान उपचार गर्नमा सबैले सहयोग गर्न जरुरी छ ।”

समाजमा कुष्ठरोगीप्रति हुने गरेका विभेद नहटाउन्जेलसम्म यो समस्या विद्यमान रहने र कुष्ठरोग निर्मूल पार्न नसकिने दिपायल–सिलगढी नगरपालिका–३ का स्थानीयवासी तथा समाजसेवी घनश्याम पाठकले बताउनुभयो । उहाँले भन्नुभयो, “कुष्ठरोग निर्मूल पार्ने हो भने रूढीवादी सोच चिन्तन हटाउनु जरुरी छ, कुष्ठरोगीलाई अलगै राख्ने होइन उपचार गर्नमा सहयोग गर्न जरुरी छ ।” कुष्ठरोगलाई अन्त गर्नका लागि जिल्लाका स्थानीय तह र त्यहाँका वडाध्यक्षदेखि वडासदस्यहरुको मुख्य भूमिका रहने सुदूरपश्चिम गाउँपालिका अध्यक्ष महासङ्घका अध्यक्ष दुर्गादत्त ओझाले बताउनुभयो । उहाँले भन्नुभयो, “जिल्लाको कुष्ठरोगको अन्त गर्न स्थानीय सरकार तात्नुपर्ने अवस्था आएको छ ।” सुदूरपश्चिम प्रदेशका तराईका जिल्लाहरुको तुलनामा पहाडी जिल्लाहरुमा कुष्ठरोगका बिरामीको सङ्ख्या कमी भए पनि पहाडी जिल्लामा खासै कुष्ठरोगी पत्ता लाग्न नसकेका कारण कुष्ठरोग निवारण अभियान सञ्चालन गर्न आवश्यक भएको जिल्ला स्वास्थ्य कार्यालय प्रमुख रमेश मलासीले बताउनुभयो । उहाँले भन्नुभयो, “गाउँमा भएका कुष्ठरोगीको सङ्ख्या पत्ता लगाउने हो र कुष्ठरोग निवारण गर्ने हो भने गाउँपालिकामा छाला रोगसम्बन्धी शिविर सञ्चालन गर्न आवश्यक छ ।”

सरुवा रोगका रुपमा रहेको कुष्ठरोग निवारणका लागि कुष्ठरोग सर्ने प्रक्रिया र जटिलता रोक्ने, भेदभाव रोक्ने र समावेशीमा प्रवद्र्धन गर्ने र सरकारी स्वामित्व, समन्वय र साझेदारीमा सुदृढीकरण गर्ने प्रकारको स्वास्थ्य कार्यालयले तीनखम्बे रणनीति बनाएको प्रमुख मलासीले जानकारी दिनुभयो । तराईका जिल्लाहरू कैलालीमा गत आवमा प्रति १० हजारमा १.९१ र कञ्चनपुरमा ०.८९ प्रतिशत कुष्ठरोगको प्रकोपदर थियो भने पहाडी जिल्लाअन्तर्गत दार्चुला ०.१४, डडेल्धुरा ०.३८, बाजुरा ०.३९, बझाङ ०.९, बैतडी ०.२३, अछाम १.८० तथा डोटी ०.२८ रहेको छ । चालु आवमा कार्यालयले सञ्चालन गरेका केही शिविर र प्रचारप्रसारका कारण नयाँ बिरामीको सङ्ख्या थपिँदै गएको जिल्ला स्वास्थ्य कार्यालय डोटीको दाबी छ । यस वर्ष प्रकोपदर प्रतिएक लाखमा ९.२८ रहेको बताइएको छ । कैलालीमा नयाँ बिरामीको प्रकोपदर प्रतिएक लाखमा १८.७८, कञ्चनपुर ७.७३ र अछाम १२.०१ रहेको जिल्ला स्वास्थ्य कार्यालय डोटीका क्षय तथा कुष्ठरोग अधिकृत उद्धवसिंह ठगुन्नाले जानकारी दिनुभयो । कुष्ठरोग लाग्दा रातो, फुस्रो गिर्खा तथा दाग देखिने, छुँदा थाहा नपाउने, हातखुट्टा झमझम हुने, बाहिरी सतहका स्नायु सुनिने, अनुहार र कानका लोती बाक्लो हुने, छाला चम्किलो र बाक्लो हुने जस्ता लक्षण देखिन्छन् ।

कुष्ठरोगको उपचार आधारभूत सेवाअन्तर्गत पर्ने भएकाले स्वास्थ्य संस्थाहरूमा यसको औषधि निःशुल्क रुपमा पाइन्छ । माइक्रो ब्याक्टेरियमबाट सर्ने उक्त रोग निको पार्न रिफामपिसिन एमबी र पीबी नामक औषधि अवस्था हेरी ६ महिना र १ वर्षसम्म नियमित सेवन गर्नुपर्छ । गम्भीर खालका बिरामीलाई एमबी र सामान्य खालकालाई पीबी औषधि दिइने गरिएको छ ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology