• Saturday 25th of July 2026

समितिको प्रतिवेदनअनुसार ललिता निवास प्रकरणको कारवाही : प्रम


  • गोकर्णेश्वर अनलाइन

प्रधानमन्त्री केपी शर्मा ओलीले ललिता निवास प्रकरणमा छानबिन समितिको प्रतिवदेनअनुसार नै कारवाही प्रक्रिया अघि बढाइएको बताउनुभएको छ । प्रतिनिधिसभाको आजको बैठकमा सरकार गठन भएको दुई वर्ष पुगेको अवसरमा प्रधानमन्त्री ओलीले भन्नुभयो, “सरकारले ललिता निवास प्रकरणमा समितले जे प्रतिवेदन दियो, त्यसलाई आवश्यक कारवाहीका लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा पठाएको हो ।” उहाँले ललिता निवास प्रकरणमा अहिले मुछिएका व्यक्ति आरोपित मात्र रहेको उल्लेख गर्दै न्यायालयले फैसला नगरेसम्म अपराधी नहुने बताउनुभयो । उहाँले संवैधानिक आयोगहरु लोकतन्त्रलाई स्वच्छ राख्न निर्मित स्वायत्त संस्था भएकाले ती संस्थालाई बलियो हुँदा प्रणाली दुरुस्त हुने बताउनुभयो । सम्बोधनका क्रममा उहाँले सरकार कसैप्रति पनि आग्रही वा पूर्वाग्रही नहुने भन्दै आग्रह, पूर्वाग्रहबेगर चर्चामा ल्याइएका सुन तस्करी, वाइडबडीलगायत विभिन्न प्रकरणको निष्पक्ष छानबिन हुने जानकारी गराउनुभयो । प्रधानमन्त्री ओलीले नेपाल ट्रस्टको सम्पत्तिको संरक्षण गरी त्यसलाई मुलुकको हित हुनेगरी उपयोग र प्रवद्र्धन गर्ने काम सरकारले कानूनबमोजिम गर्ने बताउनुभयो ।

उहाँले ललिता निवास प्रकरणको छानबिनजस्तै मातातीर्थस्थित नेपाल ट्रस्टको स्वामित्वमा रहेको जग्गा पनि छानबिन गर्ने बताउनुभयो । “मातातीर्थस्थित नेपाल ट्रस्टको स्वामित्वमा रहेको करीब १७४ रोपनी जग्गामा भएको कानूनविपरीत मोही काण्डको तथ्य पनि सार्वजनिक भइसकेको छ, केही व्यक्तिलाई लाभ पु¥याउने नियतका साथ नीतिगत निर्णय लिनुपर्ने अवस्था भयो भन्दै विसं २०६९ कात्तिक २ गते यस सम्बन्धमा नेपाल ट्रस्ट ऐन २०६४ को दफा (४)को उपदफा (२) र (३) विपरीत निर्णय भएको देखिन्छ”, प्रधानमन्त्रीले सम्बोधनका क्रममा भन्नुभयो, “जसरी ललिता निवास प्रकरणमा राज्यको सम्पत्तिमा भएको अवाञ्छित दोहनको छानबिन गरी कारवाही अघि बढाइएको छ, यस काण्डको पनि सोहीअनुरुप छानबिन हुन्छ ।”

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology