• Saturday 25th of July 2026

भीरकोटका किसानलाई ५० प्रतिशत अनुदानमा हाते ट्र्याक्टर


  • गोकर्णेश्वर अनलाइन

यहाँका ३२ किसानलाई ५० प्रतिशत अनुदानमा हाते ट्र्याक्टर वितरण गरिएको छ । परम्परागतभन्दा पनि आधुनिक तवरबाट कृषि प्रणाली अगाडि बढाउँदै उत्पादन वृद्धि गर्न र कृषिमा हुने लागत घटाउने मुख्य उद्देश्यले किसानलाई ५० प्रतिशत अनुदानमा हाते ट्र्याक्टर (मिनी टिलर) वितरण गरिएको भीरकोट नगरपालिकाका प्रमुख छायाराम खनालले बताउनुभयो । “गाउँघरमा आजभोलि गोरु पाल्ने चलन हरायो, खेताला खोज्दा पाउन छाड्यो”, नगर प्रमुख खनालले भन्नुभयो, “हाते ट्र्याक्टरको प्रयोगसँगै कम खर्चमा छिटोछरितो र सहजरूपमा काम हुने भएकाले पनि अनुदानमा हाते ट्र्याक्टर वितरण गरेका हौँ ।” हाते ट्र्याक्टरको सही सदुपयोग गरी व्यावसायिकतातर्फ उन्मुख हुन नगर प्रमुख खनालले सुझाव दिनुभयो । उहाँले भन्नुभयो, “सर्वप्रथम किसानको आर्थिक अवस्था मजबुत बनाउँदै समग्रमा भीरकोटलाई कृषिमा आत्मनिर्भर बनाउनेतर्फ लाग्नु जरुरी छ, काम गर्दै जाँदा एकदिन अवश्य पनि गन्तव्यमा पुगिन्छ ।” रु ५२ हजार पर्ने हाते ट्र्याक्टरलाई नगरपालिकाले ५० प्रतिशत अुनदान दिएको हो भने ५० प्रतिशत किसानले बेहोर्ने गरी ३२ किसानलाई हाते ट्र्याक्टर हस्तान्तरण गरिएको उपप्रमुख सीमा केसी कर्माचार्यले बताउनुभयो ।

“भीरकोट कृषिका क्षेत्रमा सम्भावना बोकेको ठाउँ हो त्यसैले यहाँका खेतबारीलाई बाँझो हुन नदिन र उत्पादनसित जोड्नका लागि सहयोग होस् भन्ने हेतुले हाते ट्र्याक्टर वितरण गरेका छौँ”, उपप्रमुख कर्माचार्यले भन्नुभयो, “आधुनिक प्रविधिको प्रयोगसँगै कृषिका क्षेत्रमा लागत तथा समय कम लाग्ने भएकाले अपेक्षाअनुसार सफलता मिल्नेमा हामी विश्वस्त छौँ ।” नगरभित्रका नौ वटा वडाबाट माग भई आएका किसानलाई लक्षित गरी हाते ट्र्याक्टर वितरण गरिएको कृषि संयोजक एवं नगर प्रवक्ता दीपेन्द्र केसीले बताउनुभयो । “यस वर्ष ३२ किसानलाई हाते ट्र्याक्टर ५० प्रतिशत अनुदानमा दिएका छौँ”, प्रवक्ता केसीले भन्नुभयो, “उहाँहरुलाई चलाउने तरिकाका बारेमा तालीमसमेत दिएका छौँ भने हाते ट्र्याक्टर बिग्रिएमा वा समस्या आएमा प्रत्येक वडामा एक÷एकलाई मर्मत गर्ने तालीम दिने तयारी भइरहेको छ ।” हाते ट्र्याक्टरको प्रयोगले कृषिको उत्पादनमा लागत घटाउने र कृषि उत्पादनमा पनि यसले सघाउ पु¥याउने भानु मेशिनरी पोखराका प्राविधिक कुमार सुवेदीले बताउनुभयो । “हामीले हाते ट्र्याक्टर बिक्री मात्रै गर्दैनौँ यसको प्रयोग गर्ने तरिकाका बारेमा किसानलाई आवश्यक तालीम पनि दिन्छौँ”, प्राविधिक सुवेदीले भन्नुभयो, “ससाना खेतबारीमा तथा ठूलाठूला ठाउँमा पनि यसको प्रयोग बढ्दै गएकाले हाते ट्र्याक्टर प्रभावकारी बन्दै गएको छ ।”

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology