• Saturday 25th of July 2026

आत्मबल बढाउँदा कम हुन्छ मानसिक रोगको जोखिम


  • गोकर्णेश्वर अनलाइन

तपार्इंलाई विश्वव्यापीरूपमा फैलिएको कोभिड–१९ ले कतिको त्रसित बनाएको छ ? हामीमध्ये जो कसैलाई पनि आफू, आफ्नो परिवार वा आफन्तलाई रोग लागिहाल्ने हो कि भन्ने चिन्ता हुनु स्वभाविक हो । रोगबारे सजग भएर आवश्यक सावधानी अपनाए पनि अनावश्क चिन्तित हुनु भने ठीक होइन । त्यसले कोभिड–१९ को सङ्क्रमण नदेखिए पनि मानसिक रोग लाग्न सक्ने देखिएको छ । मानसिक रोग विशेषज्ञका अनुसार ठूला विपद् र त्यसपछिको समयमा समेत मानसिक रोग लाग्न सक्ने खतरा रहन्छ । कोभिड–१९ रोगको सङ्क्रमणबारे पढ्ने, हेर्ने र सुन्ने गर्दा व्यक्तिको मनोबल कमजोर हुनसक्ने पाइएको छ । सामाजिक सञ्जालमा दिइएका अतिरञ्जित सामग्रीहरुले पनि व्यक्तिमा भय बढाएको पाटन मानसिक अस्पतालका प्रमुख कन्सल्टेन्ट साइक्याटिक्स डा अनन्तप्रसाद अधिकारीले बताउनुभयो । विश्व स्वास्थ्य सङ्गठन, नेपाल सरकार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको सूचना र आधिकारिक समाचार माध्यमका समाचार सामग्री मात्रै पढ्नुपर्ने उहाँको भनाइ छ । सरकारले ‘लकडाउन’ घोषणा गरेसँगै घरभित्रै बसिरहँदा धेरैले दिनभर धेरै समय यही विषयका बारेमा जानकारी लिने गरेका छन् ।

उहाँले भन्नुभयो, “दिनभर यही विषय मात्रै हेर्दा र सुन्दा त्यसको प्रभावका रुपमा मानसिक रोग लाग्नसक्ने जोखिम हुन्छ ।” काठमाडौँमा कोभिड–१९ को सङ्क्रमण एक जना युवतीमा देखिएपछि धेरै जना त्रसित भएको डा अधिकारीले बताउनुभयो । छिमेकी मुलुकलगायत विश्वका अधिकांश देशमा यो सङ्क्रमण बढेसँगै नेपालमा पनि देखिनसक्ने भन्दै डराउन थालेकाहरुमा ती युवतीलाई सङ्क्रमण भएको पुष्टि भएसँगै भय बढेको छ । विश्वका विकसित देशहरुमा त रोग नियन्त्रण नभएकाले यहाँ फैलन सक्ने भन्दै धेरै डराएको पाइएको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “सामाजिक सञ्जालमा यस्तै पढेपछि त्रास अझ बढेको छ ।” अहिले कतिपय व्यक्ति रोगप्रति जति सजग हुनुपर्ने हो त्योभन्दा बढी भएको पाइएको छ । अस्पतालमा उहाँले भेट्नुभएको एक जना महिलाले सन्तानलाई सुरक्षाका लागि भन्दै चार वटासम्म मास्क लगाएको पाइएको उहाँले बताउनुभयो । रोगबाट बच्न हात धुनुपर्छ भनेकाले कतिपयले दिनभर हात मात्रै धुन थालेका छन् । कतिपयले सूचना नबुझेर त कतिले बढी सुरक्षित हुन चाहेर पनि यी कुरामा बढी ध्यान दिइरहेका छन् । उहाँले भन्नुभयो, “त्यसैले पनि आधिकारिक सूचना मात्रै पछ्याउनु खाँचो छ ।”

रोग विश्वव्यापी बन्दै जाँदा सामान्यभन्दा बढी चिन्ता गर्ने समस्या हुनसक्ने देखिएको प्रमुख कन्सल्टेन्ट साइक्याटिक्स डा अधिकारीले बताउनुभयो । व्यक्तिमा रोग लाग्ने चिन्ता, रोग लागेपछि पनि उपचार नपाउने हो कि भन्ने चिन्ता र कतिपयलाई आफ्नो रोजगारी गुम्ने पो हो कि भन्ने चिन्ता समेत भएको पाइन्छ । यसले निराशा, उदासीपनलगायतका समस्या देखिन थालेको उहाँले बताउनुभयो । त्यस्तै रोगबारे बढी चिन्ता गर्दा निद्रा कम लाग्ने र थकाइको महसुस पनि हुनसक्ने देखिएको छ । उहाँले भन्नुभयो, “खाली समय पर्याप्त हुँदा पनि लागुऔषधको प्रयोग बढ्न सक्ने देखिएको छ ।” मानसिक रोगको असर सबै उमेर, वर्ग र पेशामा देखिएको भए पनि यस्ता विपद्का समयमा विगतमा औषधि उपचार गरेर निको भएका वा हाल उपचार गराइरहेका व्यक्ति बढी जोखिममा रहेका छन् । ती व्यक्तिमा कुनै पनि कुरा सहन नसक्ने समस्या देखिन सक्नेछ । बालबालिका पनि रोगको जोखिम बढी रहेको छ । उनीहरुमा रोग लागेपछि निको नै हुँदैन भन्ने चिन्ता हुनसक्छ । बालबालिकालाई रोगका बारे सजग गरे पनि अभिभावकले सही सूचना दिएर अनावश्यक चिन्तामा जान दिन नहुने उहाँको सुझाव छ ।

उहाँले भन्नेभयो, “जुनसुकै कुरालाई झिँझो मान्ने, निद्रा नलाग्नेलगायत यो रोगका लक्षण हुन् ।” कोभिड–१९ का बारेमा आधिकारिक निकायका सूचना मात्रै पढ्न र सुन्न उहाँले सुझाव दिनुभयो । रोगका लक्षण देखिएपछि वा सङ्क्रमणको सम्भावना हुँदा ‘आइसोलेशन’ मा गए पनि सामान्य अवस्थामा यो समय परिवारसँग बिताउन सकिन्छ । सामाजिक सञ्जालको अत्याधिक प्रयोग गर्नुभन्दा पारिवारका सबै सदस्य एक ठाउँमा बसेर कुराकानी गर्नु उपयुक्त हुन्छ । घरमा बस्दा हुने खाली समय सिनेमा हेर्ने वा सङ्गीत सुनेर बिताउनुपर्ने उहाँको सुझाव छ । उहाँले भन्नुभयो, “परिवार एकै ठाउँमा बस्दा एकले अर्काको कुरा सुन्ने हँुदा डिप्रेसनको जोखिम कम हुन्छ ।” मानसिक रोगका औषधि सेवन गरिरहेका व्यक्तिहरुले अहिले नियमितरूपमा औषधि सेवन गर्नुपर्ने प्रमुख कन्सल्टेन्ट साइक्याटिक्स डा अधिकारीले बताउनुभयो । उच्च रक्तचाप, मधुमेहलगायतका दीर्घ रोगीले पनि आफूले खाँदै आएको औषधि नियमितरूपमा खानुपर्ने जरुरी छ ।

‘फलोअप’ का लागि अस्पताल जान सवारी साधन उपलब्ध नहुने र यो समयमा सकेसम्म भीडभाडमा जान नहुने भएकाले पहिले खाइरहेका औषधिलाई निरन्तरता दिनुपर्ने उहाँको सुझाव छ । सन्तुलित भोजन, पर्याप्त पानी खाने र लागुऔषधको प्रयोग नगर्नेमा पनि ध्यान दिनुपर्छ । उहाँले भन्नुभयो, “आवश्यक स्वास्थ्य सावधानी अपनाएर आत्मबल उच्च बनाउँदा मानसिक रोगको जोखिम कम हुन्छ ।”

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology