• Saturday 25th of July 2026

रगतको कमी हुन नदिन नियमित रक्तदातालाई तयारी अवस्थामा


  • गोकर्णेश्वर अनलाइन

नेपाल रेडक्रस सोसाइटीले रगतको अभाव हुन नदिन नियमित रक्तदाता (स्वयसेवी)लाई तम्तयारी रहन भनेको छ । अहिले लकडाउनका कारण रगतको खासै माग नभए पनि रेडक्रसले उपत्यकामा रहेका नियमित रक्तदाता स्वयम्सेवीलाई तम्तयारी रहन भनेको हो । रेडक्रसमा रगत मौज्दात नभएकाले कमी हुन नदिन विभिन्न रगत समूहका आफ्ना नियमित स्वयम्सेवीलाई तयारी अवस्थामा राखेको रेडक्रसका सूचना तथा सञ्चार शाखाका निर्देशक दिव्यराज पौडेलले जानकारी दिनुभयो । “हाम्रा धेरैजसो नियमित रक्तदाता भनेका विद्यार्थी हुन् । उनीहरु अहिले घर गएका छन्”, उहाँले भन्नुभयो, “कुनै रगतको समस्या नहोस् भनेर अहिले उपत्यकामा रहेका रक्तदातालाई सम्पर्क गरेर तयारी अवस्थामा बस्न भनेको छौँ ।” रक्तसञ्चार सेवा केन्द्रसँग अहिले २५ हजार नियमित रक्तदाता रहेका छन् । लकडाउनका कारण अहिले विभिन्न सङ्घसंस्थाले गर्दै आएको रगत सङ्कलनसमेत रोकिएको छ । रेडक्रसमा दैनिक २०० देखि ३०० युनिट रगत सङ्कलन गरेर मौज्दात हुने गरेको थियो तर अहिले लकडाउनका कारण २० युनिट मात्रमा रहेको छ ।

उहाँका अनुसार चैत ११ गते २४ युनिट, १२ गते १२ युनिट, १३ गते २० युनिट र १४ गते ४१ युनिट सङ्कलन र चैत ११ गते ६२ युनिट १२ गते ४३ युनिट, १३ गते ५३ युनिट र १४ गते ५९ युनिट वितरण गरिएको छ । यसैगरी शुक्रबार भक्तपुरमा ३० युनिट सङ्कलन भएकामा ३० युनिट वितरण र ललितपुरमा ११ युनिट सङ्कलन भएकामा १४ युनिट वितरण गरिएको छ । रेडक्रसले प्रसूति गृह, त्रिवि शिक्षण अस्पताल, वीर अस्पताल, कान्ति बालअस्पताल, पाटन स्वास्थ्य तथा विज्ञान प्रतिष्ठान अस्पताललगायत ठूला अस्पतालमा रक्तसञ्चार एकाइ रहेकाले आफैँ बिरामीलाई चाहिँ रगत बिरामीका आफन्तबाट लिइरहेको छ । सञ्चार शाखाका निर्देशक पौडेलले बिरामीलाई आफ्नो रगत समूह मिल्ने आफन्तलाई समेत सम्पर्कमा राख्न अनुरोध गरिएको जानकारी दिनुभयो । “सकभर बिरामीलाई आफ्नो रगत समूह कोसँग मिल्छ भनेर आफैँ रक्तदाता खोज्न भनेका छौँ”, उहाँले भन्नुभयो, “जसले गर्दा रगत अभाव हुँदैन । अहिले सट्टामा नै रगत दिनेलिने गरेका छौँ ।” अहिले नयाँ बिरामी अस्पतालले भर्ना नदिएपछि सुत्केरी, सानो बच्चा र अस्पतालमा भर्ना भएका दीर्घरोगीलाई मात्र रगत खपत भइरहेको छ ।

केन्द्रीय रक्तसञ्चार सेवा केन्द्रका निर्देशक डा मनिता राजकर्णिकारले दैनिक रगत अभाव हुन नदिनका लागि ठाउँठाउँमा मोबाइल टोलीले गएर रगत सङ्कलनसमेत गरिरहेको जानकारी दिनुभयो । उहाँले रगतको माग धेरै नभएकाले रगत सङ्कलन पनि समूह क्लबले बोलाएको अवस्थामा मात्र गरिएको बताउनुभयो । “टोलटोलबाट युवा क्लब, समूहले बोलाएको बेला गाडीले लिएर सोही ठाउँमा गएर रगत सङ्कलन गरिरहेको छौँ”, उहाँले भन्नुभयो, “हिजोमात्र करीब ४० युनिट रगत सङ्कलन भयो ।” कोही रक्तदाता आफँै नै रक्तसञ्चार सेवा केन्द्रमा पुगी रगत दिने गरेका छन् । उहाँका अनुसार हिजो केन्द्रमा आएर १७ जनाले रगत दिएका थिए र आज पनि लगनखेलतिर गएर रगत सङ्कलन गरिने जानकारी दिनुभयो । सञ्चार सेवाले कोभिड–१९ को सङ्क्रमण नहोस् भनेर रक्तदाता सबै परीक्षण गरेर मात्र रगत सङ्कलन गरिएको छ ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology