• Saturday 25th of July 2026

पोखरामा नै हुने भयो कोरोना परीक्षण, अब एक घण्टामा नै रिपोर्ट


  • गोकर्णेश्वर अनलाइन

गण्डकी प्रदेशको राजधानी पोखरामा कोरोना भाइरसको परीक्षण हुने भएको छ । पोखरामा नै कोरोना भाइरसको परीक्षण हुनुपर्ने भन्दै चौतर्फी आवाज उठिरहेको अवस्थामा आज काठमाडौँबाट परीक्षण गर्ने मेसिन ल्याइएको हो । बिहान ८ः०० बजे हेलिकप्टरमार्फत परीक्षण उपकरणसहित प्राविधिकको टोली पश्चिमाञ्चल क्षेत्रीय अस्पताल आइपुगेको हो । मेसिन पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रयोगशालामा राखिएको छ । उपकरणसँगै अब कोरोनाको परीक्षण एक घण्टामा नै गर्न सकिने वीर अस्पतालका विज्ञ बलराम गौतमले जानकारी दिनुभयो । यसअघि नमूना परीक्षणका लागि काठमाडौँ नै पठाउनुपर्ने बाध्यताका कारण प्रदेशबाट पठाइएको नमूनाको रिपोर्ट आउने २४ देखि ४८ घण्टासम्म लाग्ने गरेको थियो । “यो प्रोटेवल मेसिन हो, परीक्षण गरिएको एक घण्टामा रिपोर्ट आउँछ”, उहाँले भन्नुभयो, “परीक्षण सेवा आजैबाट शुरु गरिनेछ, हामी मेसिन सञ्चालन गरेर मात्रै फर्कन्छौँ ।” पोखरामा नै परीक्षणका लागि उपकरण आएपछि अब नमूना काठमाडौँ पठाउन नपर्ने भएको छ । मेसिनबाट दैनिक १५ देखि २० वटा सम्म परीक्षण गर्न सकिने गौतमले जानकारी दिनुभयो ।

प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री तथा कोरोना भाइरस रोकथाम तथा उपचार समितिका संयोजक किरण गुरुङले विश्वव्यापी फैलिएको कोरोना भाइरसको महामारी प्रदेशमा रोक्नका लागि महत्वपूर्ण सहयोग पुग्ने बतउनुभयो । रोगको समयमा नै पहिचान हुने भएकाले यसको न्यूनीकरणमा महत्वपूर्ण सहयोग पुग्ने उहाँले विश्वास व्यक्त गर्नुभयो । “आवश्यक सुरक्षा सामग्री (पिपिई) सहित उपकरण तथा किट प्राप्त भएसँगै स्वास्थ्यकर्मीले यसको भरपुर उपयोग गरी जनताको सेवामा समर्पित बन्नुपर्छ”, उहाँले भन्नुभयो । सामाजिक विकास मन्त्री नरदेवी पुनले सङ्घबाट प्राप्त सामग्री बुझ्दै प्रदेशमा यसको सदुपयोग हुने बताउनुभयो । सबै मिलेर कोरोनाको विरुद्धमा सङ्घर्ष गर्नुपर्ने बेला आएको बताउँदै उहाँले महामारीको यस घडीमा जनताको स्वास्थ्य सुरक्षातर्फ गम्भीर बन्नु अपरिहार्य भएको आवश्यकता औँल्याउनुभयो । पूर्व स्वास्थ्यमन्त्री एवं प्रतिनिधिसभा सदस्य खगराज अधिकारीले बिरामी भएर अस्पतालमा आउनेलाई उपचार नगरी फर्काउन नहुने उल्लेख गर्दै कोरोना सङ्क्रमणको उपचारका लागि सङ्घ सरकारबाट प्राप्त उपकरणलाई भरपुर उपयोग गर्नुपर्ने धारणा राख्नुभयो ।

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डा बुद्धिबहादुर थापाले उपचारमा खटिएका स्वास्थ्यकर्मीको सुरक्षालगायतमा सरकारको ध्यान पुग्नुपर्ने बताउँदै उपलब्ध सामग्रीले कोरोना महामारीको रोकथाममा विशेष सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो । उहाँका अनुसार उक्त मेसिन सञ्चालन गर्न पोखरामा दुईजना दक्ष प्राविधिक रहेका छन् । नेपाल पत्रकार महासङ्घ कास्कीका अध्यक्ष एवं सूचना तथा सञ्चार व्यवस्थापन समितिका संयोजक दीपेन्द्र श्रेष्ठले कोरोना महामारीको रोकथाम तथा नियन्त्रणका लागि सङ्घ सरकारले उपलब्ध गराएको सामग्रीले प्रदेशवासीमा आशा एवं विश्वास जगाएको उल्लेख गर्नुभयो ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology