• Saturday 25th of July 2026

कोभिड –१९ : कारोनाको डर भन्दा गहुँ थन्काउन चिन्ता


  • गोकर्णेश्वर अनलाइन

जिल्लाको दिपायल सिलगढी नगरपालिका वडा नं ४ गैरका किसान रामबहादुर बिक शुक्रवार बिहानै आफ्नो गहुँ काट्न व्यवस्त हुनुहुन्थ्यो । उहाँलाई कोरोना भाइरस (कोभिड–१९) को सम्भावित जोखिम बारेमा कुनै डर थिएन । समयमै पाकेको गहुँ नकाटिए पछि के खाने भन्ने चिन्ताले आफु हिजो आज गहुँ काट्नमै व्यस्त हुने गरेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “गरिब मान्छे पाकेको बाली समयमै नभित्र्याएपछि के खाने, भाडमा जाउन केरोना गहुँ नकाटे के खाने भोकले मर्ने ।” रामबहादुर जस्तै सोही वडाका पिपल्ला गाउँका अर्का किसान टिकाराम बिकपनि आफ्नो पाकेको गहुँ बाली भित्र्याउनमा लागि परेका छन् । घरैका सबै परिवार लगेर बिहान दिउसो गहुँ काट्नमै व्यवस्त हुने गरेको बताउनु हुन्छ । उहाँ भन्नु हुन्छ, “आकसको भरछैन्, कतिबेला असिना पर्छ पाकेको गहुँ झारिदिन्छ भन्ने चिन्ता छ, हामीलाई कोरोनाको डर छैन् ।” कोरोनाको जोखिमलाई कुनै वास्ता नगरी किसानहरु दिनहुँ गहुँ काट्न थालेका छन् । कोरोनाको सम्भावित जोखिम हुन नदिन सरकारले देशैभरी लकडाउन गरेपनि वर्षभरीको उत्दान गरेको गहुँबाली भित्र्याउन जिल्लाका बजार तथा ग्रामीण क्षेत्रका किसानलाइ भ्याइ नभ्याइ भइरहेको छ । अहिले यहाँका किसान दिनहुँ खेत बारीमा व्यस्त देखिन थालेका छन् ।

यहाँका किसानलाई कोरोनाको डर भन्दा पनि पाकेको गहुँ बाली कसरी चाडो घरमा भित्र्याउने भन्ने चिन्ता बढेको केआइसिंह गाउँपालिका वडा नं ५ रानागाउँका शुरेन्द्रवीक्रम शाहीले बताउनुभयो । उहाँले भन्नुभयो, “कोरोनाका डर शहर बजारमा होला गाउँमा केही छैन । गहुँ बाली कसरी घर भित्रयाउने भन्ने चिन्ता किसानमा बढेको छ ।” कोरोनाको जोखिम भन्दापनि किसान बेला बेलामा मौसम परिवर्तन हुँने हुँदा कतै बारीमा पाकेको गहुँ भित्र्याउन पाईदैनकी भन्ने चिन्ताले ग्रसित बन्दै गहुँकाट्नमा व्यस्त हुने गरेको छन् । पाकेको गहुँ बाली समयमै भित्र्याउन पाए आनन्दसंग सुत्ने मनसाय बोकेर किसान कोरोनाको कुनै प्रबाह नगरी खेतीपाती भित्र्याउनमै व्यस्त हुने गरेको जोरायल गाउँपालिका वडा नं ५ पातली गाउँका खेमबहादुर पातलीले बताउनुभयो । उहाँले भन्नुभयो, “वर्ष भरीको खाने खेती हो, समयमै नभित्र्याएपछि के खाने,आफु मरेपनि बचेका त खालान भनेर गहुँ भित्र्याउन थालेका छौँ ।” यहाँका गाउँघरमा गहुँ बाली प्रायः सबै ठाउँमा पाकी सकेकाले कोरोनाको कुनै प्रबाह नगरी किसानहरु गहुँ काट्नमै व्यस्त हुन थालेका छन् । यहाँका किसानलाइ कोरोनाले कहाँ के के भयो भन्ने सामान्य जानकारी समेत छैन् । यहाँका गाउँघरमा गहुँ चुट्ने थ्रेसर मेसिन पनि नभएका कारण किसानहरु पालै पालो गरी एक अर्काका गहुँ बाली काट्ने गर्न थालेका छन् । यसरी एक अर्काको गहुँ बाली काट्ने चलनलाई यहाँका गाउँघरमा अरिमो परिमो भन्ने चलन रहेको बडीकेदार गाउँपालिका श्याली गाउँका ठक्करबहादुर कलेलले बताउनुभयो ।

उहाँले भन्नुभयो, “शहर बजारको जस्तो गाउँमा गहुँ चुट्ने थ्रेसर मेसिन छैन, अरिमो परिमो गरेर हामी गहुँ काट्न थालेका छौँ, भनेको बेला त्यो पनि नपाइने हुँदा समस्या हुने गरेको छ ।” बिगतका वर्षहरुमा चैत महिनाको दोस्रो सातामै जिल्लामा गहुँ काटेर सकिदै आएपनि यो वर्ष लागातारको वर्षाद र कोरोनाको त्रासका कारण गहुँ काट्नमा ढिलो भएको स्थानीय किसानहरु बताउछन् । जिल्लाका किसानहरु गहुँ काट्नमा व्यस्त हुने गरेको भएपनि कोरोना रोगबाट जोगिनका लागि उनीहरुले सबै विधि अपनाउन थालेको दिपायल सिलगढी नगरपालिका वाड नं ४ का वडा अध्यक्ष वीरेन्द्र शाहले बताउनुभयो । उहाँले भन्नुभयो, “वर्षभरीको खेती गहुँ काट्नमा किसान व्यवस्त भएपनि उनीहरुले मास्क प्रयोग गर्ने तथा गहुँ काटी सकेपछि सावुन पानीले हात धुने बानी बसालेका छन्, जो आफैमा राम्रो काम हो ।” पछिल्लो समय स्थानीयतहका जनप्रतिनिधि तथा कर्मचारी किसानका खेतबारीमै गएर कोरोना रोगका बिषयमा जानकारी दिनुका साथै कोरोना रोगको संक्रमणबाट जोगिने तरीका बारे सिकाउनुका साथै साबुन र मास्क बितरण गर्न थालेको पाइएको छ ।

यहाँका ग्रामीण क्षेत्रमा रहेका स्थानीय तथा किसानहरुलाइ कोरोना रोगबारे बच्ने तरीका अझै सम्म खासै जानकारी नभएका कारण हामी किसानका खेतबारीमै गएर कोरोनाबारे जानकारी दिन थालेको सुदूरपश्चिम गाउँपालिका अध्यक्ष महासंघका अध्यक्ष तथा जोरायल गाउँपालिकाका अध्यक्ष दुर्गादत्त ओझाले बताउनुभयो । उहाँले भन्नुभयो, “कोरोनाबारे किसानलाइ खासै जानकारी छैन, त्यसबारे जोगिन र सावधानी अपनाउन हामी उनीहरुको खेतबारीमै पुगेर जानकारी दिन थालेका छौँ ।”

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology