• Saturday 25th of July 2026

भैरहवा कोरोना परीक्षण प्रयोगशालामा आजदेखि परीक्षण शुरु हुने


  • गोकर्णेश्वर अनलाइन

विश्व महामारीका रुपमा फैलिएको कोरोना भाइरस (कोभिड १९) सं–क्रमण परीक्षणका लागि प्रदेश नं ५ को भैरहवामा स्थापना भएको प्रदेशस्तरीय प्रयोगशालामा आजदेखि सेवा शुरु हुने भएको छ । सरकारले प्रदेश ५ को भैरहवास्थित गहुँबाली अनुसन्धान केन्द्रको खाली भवनलाई मर्मतसंम्हार गरेर प्रदेशस्तरिय प्रयोगशाला स्थापना गरेको हो । कोरोना प्रयोगशालाको सेवा शुरुमा तीन दिनभित्र सञ्चालनमा आउने बताइए पनि भवनको मर्मत र कोरोना परीक्षणका लागि पिसिआर मेशिन मात्रै नराखी सँगै विएसएल टु क्याविनेट वायो सेफ्टी लेभलको प्रयोगशाला स्थापनाको तयारीका कारण केही ढिलाइ भएको प्रदेश जनस्वास्थ्य प्रयोगशालाका निमित्त प्रमुख डा राजेन्द्रकुमार गिरीले बताउनुभयो । अब यो वायो सेफ्टी लेभलको प्रयोगशालामा कोरोना भाइरस मात्रै नभएर अन्य खालका इन्फ्लुएञ्जा पनि परीक्षण गर्न सकिने सुविधासम्पन्न प्रयोगशालाको पूर्वाधार तयार भएको डा गिरी बताउनुहुन्छ । प्रयोगशालाको सञ्चालनका लागि भवनको मर्मत सम्पन्न भएर मेशिन जडान र मेशिनको गुणस्तर परीक्षणको काम सकिएपछि प्रयोगशालाको काम आज बेलुकासम्म केही नमूना परीक्षण रिपोर्ट निकाल्ने तयारीका साथ काम भइरहेको डा गिरीले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो,‘सोमबारदेखि प्रयोगशाला पूर्णरुपले सञ्चालनमा आउँछ ।’ सोमबारदेखि प्रयोगशाला पूर्णरुपमा सञ्चालनमा आयो भने एक व्यक्तिको परीक्षणको नतिजा निकाल्न कम्तीमा एक घण्टा लाग्ने भएकाले जनशक्ति थप गर्न सकिए यन्त्रलाई लगातार ७२ घण्टासम्म सञ्चालन गर्न सकिने उहाँले जानकारी दिनुभयो । ‘लगातार ७२ घण्टा सञ्चालनमा रहेको मेसिनलाई करीब चार घण्टा बन्द गरेर राख्नुपर्ने हुन्छ’, डा गिरीले भन्नुभयो, ‘त्यसपछि पुनः त्यसैगरी ७२ घण्टा सञ्चालन गर्न सकिन्छ ।’ केन्द्रबाट आएका विज्ञ प्राविधिकले प्रयोगशाला सञ्चालन शुरु गर्ने र संँगै तत्काललाई व्यवस्थापन भएका दुई प्राविधिक जनशक्तिबाट काम चलाइने बताइएको छ । प्रयोगशालाको कामलाई छिटोछरितो बनाउन आवश्यक जनशक्ति व्यवस्थापन गरिने उहाँले बताउनुभयो । सरकारले प्रदेश नं ५ मा स्थापना भएको प्रदेशस्तरीय प्रयोगशालाका लागि विष्णु रायमाझी, रामबहादुर खड्का र खेमध्वज कार्कीलाई प्राविधिकका रुपमा जिम्मेवारी तोकेको छ । दाङ र नेपालगञ्जमा पनि प्रदेश सरकारको मन्त्रिपरिषद्को निर्णयानुसार प्रदेशमा भैरहवासहित दाङ र नेपालगञ्जमा कोरोना भाइरस (कोभिड–१९) को प्रयोगशाला स्थापना भएको छ । यस्तै दाङ र नेपालगञ्जमा पनि एक साताभित्र सरकारको निर्णयानुसार कोरोना भाइरसको परीक्षण शुरू हुने भएको छ ।

प्रदेश सरकार सामाजिक विकास मन्त्रालय स्वास्थ्य विभाग प्रमुख डा उमाशंकर चौधरीले भैरहवामा प्रयोगशाला सञ्चालन सोमबारसम्म पूर्णरुपले हुने जानकारी दिनुभयो । उहाँले भैरहवाको प्रयोगशाला सञ्चालनमा आएपछि ततकाललाई प्रदेशभरिको नमूना परीक्षणका लागि राजधानी पठाउनुपर्ने बाध्यता अन्त्य हुने बताउनुभयो । सुरुमा यो प्रयोगशाला संचालन भएपछि दाङ र नेपालगञ्जमा पनि छिटट्ै प्रयोगशाला स्थापना गरिने जानकारी उहाँले दिनुभयो । प्रदेश सरकारको निर्णयानुसार दाङको घोराहीमा राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान र नेपालगञ्जमा भेरी अस्पतालमा प्रयोगशाला स्थापना गर्ने काम अघि बढेको उहाँले बताउनुभयो । नेपालगञ्जमा स्थापना हुने प्रयोगशाला बाँके र बर्दिया जिल्लाका शङ्कास्पद बिरामीको परीक्षण हुने छ । भेरी अस्पतालमा कोरोना भाइरस परीक्षणका लागि पिसिआर मेशिन जडान गर्ने प्रक्रिया अघि बढेको अस्पतालका निमित्त मेडिकल सुपरिटेण्डेण्ट डाप्रकाश थापाले जानकारी दिनुभयो । अस्पतालको मूल्याङ्कन समितिको शनिबार बसेको वैठकले बोलपत्र दर्ता गर्ने कम्पनीमध्येबाट छनोट गरी कामको जिम्मा दिइएको समितिका संयोजक डा. बद्रि चापागाईले जानकारी दिनुभयो ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology