• Saturday 25th of July 2026

बजार नपाए पछि बोटमै पाक्न थाले केरा


  • गोकर्णेश्वर अनलाइन

लकडाउनसँगै बजार नपाएपछि यहाँका कृषकका बारीमा बोटमानै केरा पाक्न थालेका छन् । कोरोना भाइरसको सम्भावित संक्रमण रोक्न चैत ११ गतेदेखि देशभर लकडाउन गरिएको छ । जिल्लाका विभिन्न ठाउँमा लगाईएको केरा बजार लैजान तयारी गरिएका थिए । जिल्ला केरा उत्पादक संघका अध्यक्ष धननाथ महतोका अनुसार बजार बन्द भएपछि छिप्पिएका केरा बारीमै पाक्न थालेका छन् । उहाँले भन्नुभयो , “चैतको १५ गतेदेखि यहाँका बारीमा केरा तयारी भएको थियो । अहिले वैशाखको पहिलो हप्ता लाग्दासमेत बिक्री गर्न सकीएको छैन ।” नारायणगढको तरकारी तथा फलफूल थोक बजार बन्द छ । थोक बजार बन्द भएपछि सामान बिक्री गर्न समस्या भएको उहाँले जानकारी दिनुभयो । स्थानीय प्रशासनले केरा बोकेको गाडी चलाउन दिएपनि बिक्री गर्ने स्थानको अभावमा बारीमा तयारी अवस्थामा रहेको केरा लैजान नसकिएको उहाँले बताउनुभयो । मार्कण्डे केरा उत्पादक सहकारी संस्थाका अध्यक्ष ध्रुव ढुंगानाले बिक्रीका लागि केरा तयारी भए पनि बेच्न नसकीएको बताउनुभयो । उहाँले भन्नुभयो, “बजारमा केरा लैजान मजदुर पाइँदैन, आफ्नो साधनमा लैजान पनि पाइँदैन, कसरी बिक्री गर्ने ?” सो सहकारीले २० विगाहा क्षेत्रफलमा लगाएको केरा अब बारीमा नै कुहिने अवस्थामा पुगेको उहाँको भनाइ छ ।

उहाँले भन्नुभयो, “उपभोक्ता माझ लैजाने वातावरण भए लगानी डुब्ने थिएन ।” पूर्वी चितवनका केरा उत्पादक कृषक यज्ञ सुवेदीले केरा बेच्न सबै तयार हुँदा पनि बिक्री नहुँदा लाखौं नोक्सान हुने बताउनुभयो । ढुवानी सहज नहुँदा र बाहिर निस्कन नपाउँदा बगैंचामा रहेका केरा कुन अवस्थामा छन् भन्नेसमेत थाहा नभएको उहाँको भनाइ छ । संघका पूर्वअध्यक्ष रहनुभएका सुबेदीले भन्नुभयो, “अहिले पनि भारतबाट केरा भित्रिएको छ तर नेपाली केराले बजार पाउन सकेको छैन ।” उहाँले मात्र जिल्लामा ७० बिघामा केराखेती गर्दै आउनुभएको छ । अवस्था असहज भएकाले बैंकबाट ल्याएको ऋणको ब्याजको विषयमा सरकारले ध्यान दिनुपर्ने केरा उत्पादक कृषकले माग गरेका छन् । प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईले केरा, फलफूल, तरकारीका साना गाडीलाई बारीबाट बजारसम्म लैजान दिने व्यवस्था मिलाएको जानकारी दिनुभयो ।

भीड नगरी आफ्नो सामग्री बजार लैजान दिने व्यवस्था सिर्जना गरिएको उहाँले दावी गर्नुभयो । केरा उत्पादन सङ्घको तथ्याङ्कअनुसार जिल्लामा तीन हजार बिघामा केरा खेती हुँदै आएको छ । संघमा मात्रै ७०० कृषक आबद्ध छन् । यहाँबाट गतवर्ष मात्रै रु ५० करोड बराबरको केरा निकासी भएको संघले जानकारी दिएको छ । दुई वर्ष अघि हावाहुरी र असिनाले यहाँ लगाईएको केरा नष्ट गरेको थियो । त्यसको ऋण कृषकले तिर्न नपाउँदै थप नोक्सानी बेहोर्नुपरेको हो । यहाँको केराको मुख्य बजार राजधानी काठमाडौँसहित देशका प्रमुख सहरहरु हुन् ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology