• Monday 27th of July 2026

नेपालमा अधिकांश सङ्क्रमितमा कोभिड–१९ को लक्षण छैन


  • गोकर्णेश्वर अनलाइन

कोरोना भाइरस सङ्क्रमण भएका अधिकांश सङ्क्रमितलाई भाइरसको लक्षण नदेखिएको पाइएको छ । सङ्क्रमितलाई रुखाघोकी, ज्वरो, श्वास फेर्न गाह्रो, स्वाद थाहा नपाउने, थकाइ लाग्नेजस्ता लक्षण देखिनुपर्नेमा त्यसो पाइएको पाइएको र्छैन । इमिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका निर्देशक डा वासुदेव पाण्डेले यहाँ देखिएका ९५ प्रतिशत सङ्क्रमितमा कोभिड–१९ को लक्षण नदेखिएको बताउनुभयो । संसारमा भने ८० प्रतिशत सङ्क्रमितमा पनि लक्षण देखिएको छैन । उहाँले कोभिड–१९ परीक्षणका क्रममा ती बिरामीमा सङ्क्रमण देखिए पनि सङ्क्रमतिको अवस्था भने सामान्य मानिस सरहको छ । लक्षण नदेखिनुमा परीक्षण ढिलो, नेपालमा प्रवेश गरेको भाइरस कडा खालको नहुने र नेपालीमा प्रतिरोधात्मक क्षमता बढीजस्ता कारणले लक्षण नदेखिएर सङ्क्रमण हुनसक्ने बताउनुभयो । “कोरोना भाइरस मानिसमा १४ दिनसम्म देखापर्ने गर्दछ, तर हामीले परीक्षण १४ दिनपछि पनि गरेका छौँ”, उहाँले भन्नुभयो, “भाइरस मानिसमा सरेको १४ दिनपछि परीक्षण गराउँदा लक्षण नदेखिन सक्छ ।”

सङ्क्रमितमध्ये पाँच प्रतिशत बिरामी भने सङ्क्रमणको लक्षणसहित मुटुरोग, उच्चरक्तचाप, दमलगायतका बिरामी छन् । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका निर्देशक डा सागरराज भण्डारीले पनि शुरु–शुरुमा बाहिरबाट आउने बिरामीमा भाइरसको लक्षण भए पनि पछिल्लोपटक आउने बिरामीमा नभएको बताउनुभयो । उहाँले कतिपय बिरामीलाई उच्च ज्वरो, स्वास फेर्न गाह्रो, थकाइ लाग्नेजस्ता लक्षण भने देखिएको बताउनुभयो । “शुरु–शुरु बाहिर मुलुकबाट लक्षण लिएर आएका सङ्क्रमितमा लक्षण देखिएको थियो”, अस्पतालका निर्देशक डा राजभण्डारीले भन्नुभयो, “तर पछि भारतबाट आएका सङ्क्रमितमा भने त्यस्तो लक्षण देखिएको छैन ।” उहाँले लक्षण नदेखिएपछि दीर्घरोगी सङ्क्रमितलाई बढी पावरको औषधि प्रयोग गर्नुपरेको बताउनुभयो । सङ्क्रमण भएका व्यक्तिमा १४ दिनपछि पिसीआर परीक्षण गर्दा भाइरस निकै कम सक्रिय रहेको हुन्छ । त्यतिबेला परीक्षण गराएका व्यक्तिमा सङ्क्रमण देखिन पनि सक्छ, नदेखिन सक्छ ।

भाइरस पाँचदेखि १० दिनमा एकदमै सक्रिय हुनाले त्यतिबेला पिसीआर परीक्षण गराउनुपर्ने हुन्छ । इपिडीमियोलोजी महाशाखाका निर्देशक डा पाण्डेले बाहिरबाट आएकालाई राम्रो क्यारेन्टिनमा राख्न, सके डेङ्गु मलेरियाजस्ता रोगबाट बचाउन सकिने बताउनुभयो । उहाँले अहिले स्थानीय तहले बनाएका क्यारेन्टिनमा त्यति राम्रो व्यवस्थापन नभएकाले डेङ्गु, मलेरियाजस्ता रोग फैलने डर रहेको बताउनुभयो । नेपालमा अहिलेसम्म दुई हजार छ सय ३४ जनामा सङ्क्रमण देखिएको छ । तीमध्ये दश जनाको मृत्यु भएको छ भने २७८ उपचारपछि घर फर्किसक्नुभएको छ । यस्तै अन्यको देशका विभिन्न अस्पतालमा उपचार भइरहेको छ । अहिलेसम्म ६४ जिल्लामा सङ्क्रमण देखिएको छ । सङ्क्रमण युवा अवस्थाका व्यक्तिमा सबभन्दा बढी देखिएको छ ।

१५ वर्षदेखि २४ वर्ष उमेरका ७१३, २५ वर्षदेखि ३४ वर्ष उमेर समूहका ५६२, ३४ वर्षदेखि ४५ वर्ष उमेर समूहका ३४४, ४६ वर्षदेखि ५४ वर्ष उमेर समूहका १२६ जनामा रहेका छन् । वृद्धा र केटाकेटीमा कम छ । अहिलेसम्म पिसीआर ८० हजार २६७ र आरडिटी एक लाख २० हजार २७९ जनामा परीक्षण गरिएको छ । यस्तै एक लाख ५५ हजार ८६८ क्वारेन्टिनमा र दुई हजार १३ जना आइसोलेसनमा रहेका छन् ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology