• Monday 27th of July 2026

पोखरामा खोप अभियान शुरु गरिँदै


  • गोकर्णेश्वर अनलाइन

पोखरा महानगरपालिकाभित्र यही जेठ २५ देखि ३१ गतेसम्म दादुरा–रुबेला रोगविरुद्धको खोप अभियान सञ्चालन गरिने भएको छ । यसअघि गत चैत १० देखि २२ गतेसम्म राष्ट्रिय कार्यक्रमअन्तर्गत सो अभियानको तयारी गरिए पनि कोभिड–१९ सङ्क्रमण रोक्न जारी बन्दाबन्दीले खोप स्थगन भएको थियो । तर जिल्लाका अन्य गाउँपालिकामा कार्यक्रम तोकिएको मितिमै सम्पन्न भएका थिए । खोप अभियानअन्तर्गत महानगरभित्रका ३३ वटै वडाका नौ महिनादेखि पाँच वर्ष उमेरमुनिका ४० हजार ७७९ बालबालिकालाई दादुरा–रुबेला रोगविरुद्ध खोप दिइने महानगर स्वास्थ्य महाशाखाले जनाएको छ । महानगरले मातृ शिशु मितेरी अस्पताल, शिशुवा अस्पताल, सम्पूर्ण प्राथमिक स्वास्थ्य केन्द्र तथा स्वास्थ्यचौकी शहरी स्वास्थ्य केन्द्रमा तोकिएको मितिमा खोप कार्यक्रम सञ्चालनका लागि निर्देशन गरिसकेको महानगर स्वास्थ्य महाशाखाका प्रमुख एवं वरिष्ठ स्वास्थ्य शिक्षा प्रशासक हेमन्त शर्मा पौडेलले जानकारी दिनुभयो ।

उहाँका अनुसार महानगरको वडा नं १८ देखि ३३ तथा वडा नं १६, काँहु र आर्वाविजयमा जेठ २५ देखि २८ गते र वडा नं १ देखि ५ सम्म २९ गते खोप अभियान सञ्चालन हुनेछ । त्यसैगरी वडा नं ६ देखि १० सम्म जेठ ३० गते र वडा नं ११ देखि १५ र वडा १७ मा ३१ गते सम्बन्धित वडाको स्वास्थ्य संस्था तथा खोप केन्द्रमा खोप लगाइने छ । खोप अभियानलाई कार्यक्रमलाई प्रभावकारी बनाउन तथा खोपपछि बालबालिकामा देखिन सक्ने सम्भावित समस्यालाई समाधान गर्नका लागि बालरोग विशेषज्ञ एवं चिकित्सक टोलीसँग परामर्शको व्यवस्था गरिएकाले खोपपछि आउनसक्ने समस्या प्रभावकारी ढङ्गले समाधान गरिने महाशाखाका सिअहेव हरिलाल आचार्यले जानकारी दिनुभयो । कोभिड–१९ को सम्भावित सङ्क्रमणबाट जोखिन खोप लगाउँदा ‘महामारीको समयमा खोप नियमित खोप सेवा सञ्चालन मार्गदर्शन’को पालनाका लागि स्वास्थ्यकर्मीमा आग्रह गरिएको छ ।

खोप दिँदा भौतिक दूरी कायम गर्ने, बच्चालाई खोप दिन नहुने अवस्थाको पहिचान गर्ने, खोप दिने स्वास्थ्यकर्मीले व्यक्तिगत सुरक्षा सामग्री अवलम्बन गर्ने तथा लक्षित सबै बालबालिकालाई खोप लगाउने व्यवस्था गर्न आग्रह गरिएको बताइन्छ । सरकारले बाल मृत्युको कारणमध्ये दादुरासमेत एक भएकाले बालबालिकालाई बचाउन अभियानका रूपमा देशभर खोप कार्यक्रम सञ्चालन गरिरहेको छ । अभियानमा दादुरा–रुबेला खोपको कभरेज देशभरमा ९५ प्रतिशतभन्दा माथि भएको सुनिश्चित हुनुपर्ने साथै अभियानको अवसरमा नियमित खोपको समेत सुदृढीकरण गर्ने लक्ष्य सरकारको छ । सन् २०२३ भित्रमा नेपालबाट दादुरा–रुबेला निवारणको राष्ट्रिय प्रतिबद्धता छ । सो प्रतिबद्धता पूरा गर्न सरकारले अभियानका रूपमा खोप कार्यक्रम सञ्चालन गरेको हो । देशका केही प्रदेशमा भने यसअघि नै अभियान सम्पन्न भइसकेको छ । नेपाल जनसाङ्ख्यिक स्वास्थ्य सर्वेक्षण २०१६ मा देशका २१ प्रतिशत बालबालिका अझै पनि पूर्ण खोपबाट बञ्चित रहेको र एक प्रतिशत बालबालिकामा खोप पुग्न नसकेको (शून्य डोज) औँल्याइएको छ । नेपालमा विसं २०३४ मा विफर उन्मूलनपछि खोप थपिँदै जाने क्रममा हाल ११ वटा खोप सञ्चालनमा रहेको छ ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology