• Monday 27th of July 2026

प्रतिरोधात्मक क्षमता बढाउन होमियोप्याथी ‘आर्सेनिकम अल्बम ३० सी’ औषधि वितरण


  • गोकर्णेश्वर अनलाइन

भक्तपुर होमियोप्याथिक मेडिकल कलेज एवं क्लिनिकले कोरोना भाइरस विरुद्ध प्रतिरोधात्मक क्षमता बढाउने ‘आर्सेनिकम अल्बम ३० सी’ नामक होमियोप्याथी औषधि निःशुल्क वितरण शुरु गरेको छ । सो मेडिकल कलेज एवं क्लिनिकका अध्यक्ष रवीन्द्र पुरीले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयसँग अनुमति लिएर देशव्यापीरूपमा सो औषधि वितरण शुरु गरेको जानकारी दिनुभयो । “मैले १३ वर्षको उमेरदेखि भक्तपुरबाट र लामो समय जर्मनमा अध्ययनका क्रममा होमियोप्याथी औषधिको अन्वेषण गर्ने अवसर पाएपछि यहाँ क्लिनिक सञ्चालन गरेँ”,उहाँ भन्नुभयो । उहाँले सो औषधिले कुनै साइडइफेक्ट वा नकारात्मक असर नगर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “ विभिन्न सञ्चारमाध्यम, स्वास्थ्य मन्त्रालय, महानगर तथा नगरपालिकाका कर्मचारी, जोखिम क्षेत्रमा रहेका स्थानीयवासी, नेपाल पत्रकार महासङ्घ, अस्पतालका स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र सर्वसाधारणलाई यो औषधि निःशुल्क वितरण गरिरहेका छौँ ।”

सो मेडिकल कलेज, पशुपति होमियोप्याथिक अस्पताल पाटन, अखिल नेपाल होमियोप्याथिक एशोसिएसन काठमाडौँ, होमियोप्याथी फाउण्डेशन नेपाल भक्तपुर, नेपाल होमियोप्याथिक चिकित्सक सङ्घ विराटनगर, एशियन होमियोप्याथिक मेडिकल लिग काठमाडौँ, नेपाल राष्ट्रिय मारवाडी परिषद् काठमाडौँ, मारवाडी सेवा समिति नेपाल काठमाडौँ र नेपाल होमियोप्याथिक हेल्थ अर्गनाइजेशन भक्तपुरले संयुक्तरूपमा औषधि वितरण गरेका हुन् । मन्त्रालयले गत वैशाख १७ गते कोभिड–१९ को रोकथामका लागि आयुर्वेदिक तथा वैकल्पिक चिकित्सा पद्धतिसम्बन्धी मापदण्ड ल्याएपछि एक महिनामा १२ गोली खानुपर्ने सो औषधि वितरण शुरु भएको हो । चिकित्सिक डा अम्बिकाप्रसाद ज्ञवाली १७९६ मा जर्मनका डा साउमा हाइमनले पूर्वीय दर्शनमा आधारित प्राकृतिक औषधिको रुपमा यसको विकास गरेको बताउँदै होमियोप्याथीले रोगको किटाणु लाग्नै नदिने र लागेकालाई पनि रोग प्रतिरोधात्मक क्षमता वृद्धि गरी निको पार्ने दाबी गर्नुभयो ।

विश्वमा २२५ वर्षदेखि र नेपालमा विसं २००७ मा शुरु भएको यो उपचार अहिले १८० देशमा सञ्चालन भइरहेको उहाँले बताउनुभयो । होमियोप्याथी औषधि स्पेनिस फ्लूमा ९८, लण्डनमा टाइफस फिबरमा ९२ प्रतिशत सफल भएको र अहिले कोरोनामा पनि प्रभावकारी भएको चिकित्सक डा प्रकाश कुइकेल बताउनुभयो । उहाँले विश्वस्वास्थ्य सङ्गठनको मापदण्डमा रहेर सबैको पहुँचमा औषधि पु-याउन सरकारले सहज व्यवस्था गर्नुपर्छ भन्नुभयो ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology