• Monday 27th of July 2026

रोग प्रतिरोधात्मक क्षमता बढ्ने खालका आयुर्वेदिक औषधि वितरण शुरु


  • गोकर्णेश्वर अनलाइन

प्रदेश आयुर्वेद औषधालयले कोरोना भाइरस सङ्क्रमणको रोकथाम, उपचार तथा नियन्त्रणलाई सहयोग पु¥याउने उद्देश्यले आयुर्वेदिक औषधि वितरण शुरु गरेको छ । पश्चिम सुर्खेतको चौकुने गाउँपालिका र पञ्चपुरी नगरपालिकामा पुगेर औषधालयले क्वारेन्टिन र आइसोलेसनमा रहेका नागरिकलाई रोग प्रतिरोधात्मक क्षमता बढ्ने खालका विभिन्न औषधि वितरण गरेको हो । औषधालयले हालसम्म क्वारेन्टिन र आइसोलेसनमा रहेका ५०० जनालाई स्थानीय जनप्रतिनिधिमार्फत ती औषधि प्रदान गरेको छ । रोग प्रतिरोधात्मक क्षमता बढाउने औषधिका साथै तनाव व्यवस्थापनलाई समेत जोड दिएको छ । औषधालय व्यवस्थापन समितिका अध्यक्ष विनोद ढकालले आयुर्वेद चिकित्सामार्फत रोग प्रतिरोधात्मक क्षमता बढाउन स्थानीयस्तरमा चिकित्सक एवं स्वास्थ्यकर्मीलाई परिचालन गरिएको बताउनुभयो ।

“आयुर्वेदिक औषधिको सेवनले रोग प्रतिरोधात्मक क्षमता बढाउनुका साथै तनाव व्यवस्थापनका लागि समेत उपयोगी मानिन्छ”, उहाँले भन्नुभयो, “आवश्यकता आधारमा मनोचिकित्सक र योग प्रशिक्षक पनि परिचालन गर्ने तयारीमा छौँ ।” अन्य स्थानीय तहमा पनि पुगेर औषधि वितरणका साथै तनाव व्यवस्थापनका क्रियाकलाप सञ्चालन गर्ने अध्यक्ष ढकालको भनाइ छ । औषधालयका प्रमुख डा शङ्करप्रसाद रिजालले कोरोना भाइरस सङ्क्रमण पुष्टि भई लक्षण नदेखिएका वा सामान्य लक्षण देखिएकालाई मनोसामाजिक परामर्शका साथै रोग प्रतिरोधात्मक क्षमता बढाउने आहार–विहार (योग, ध्यान, नृत्य, हाँस्य विधि) तथा स्थानीयस्तरमा उपलब्ध जुडीबुटीबाट निर्मित औषधिको सेवनमा प्रोत्साहित गरेको बताउनुभयो ।

औषधालयले रोग प्रतिरोधात्मक क्षमता बढाउनका लागि आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभाग काठमाडौँबाट तयार पारिएको प्रोटोकलअनुसार औषधि प्रयोगमा ल्याएको हो । गुर्जो, अमला, अश्वगन्धा चूर्ण, महासुदर्शन चूर्णलगायतका औषधिले रोग प्रतिरोधात्मक क्षमता बढाउने भएकाले यी औषधि प्रयोग गर्न प्रोत्साहन गरिएको डा रिजालले बताउनुभयो । स्थानीय तहका जनप्रतिनिधिले आइसोलेसन र क्वारेन्टिनमा बसेका नागरिकलाई औषधालयले निःशुल्क रोग प्रतिरोधात्मक औषधि तथा तनाव व्यवस्थापनसम्बन्धी विधिको जानकारी गराएर महामारी रोकथाममा प्रसंशनीय कार्य गरेको बताएका छन् ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology