• Monday 27th of July 2026

नेपाल कोरिया अस्पतालमा क्यान्सर र गङ्गालालका बिरामीको पिसिआर परीक्षण


  • गोकर्णेश्वर अनलाइन

मध्यपुरथिमि नगरपालिकाद्वारा सञ्चालित नेपाल कोरिया मैत्री नगरपालिका अस्पतालले भक्तपुर क्यान्सर अस्पताल र शहीद गङ्गालाल हृदय रोग केन्द्रका बिरामीको निःशुल्क पिसिआर परीक्षण शुरु गरेको छ । नेपाल कोरिया अस्पतालसँग क्यान्सर अस्पताल र केन्द्रले सम्झौता गरी कोरोना भाइरस जाँचका लागि निःशुल्क पिसिआर परीक्षण शुरु गरिएको हो । नगरप्रमुख एवं अस्पताल व्यवस्थापन समितिका अध्यक्ष मदनसुन्दर श्रेष्ठले क्यान्सर अस्पतालमा आएका बिरामीमध्ये शल्यक्रिया गर्नुपर्ने दैनिक सात जनासम्म बिरामी र केन्द्रमा शल्यक्रिया गर्नुपर्ने दैनिक १० जनासम्म बिरामीको निःशुल्क पिसिआर परीक्षण गर्न शुरु गरिएको बताउनुभयो ।

नगरप्रमुख श्रेष्ठले भन्नुभयो, “नेपाल कोरिया मैत्री नगरपालिका अस्पतालले भक्तपुर क्यान्सर र गङ्गालाल अस्पतालमा आएका बिरामीमध्ये तत्काल शल्यक्रिया गर्नुपर्ने बिरामीको निःशुल्क पिसिआर परीक्षण गरी २४ घण्टाभित्र रिपोर्ट दिने गरी सहमति गरेका छौँ ।” क्यान्सर र गङ्गालाल अस्पताललाई यसले सहयोग पुग्नाका साथै शल्यक्रिया गर्नुपर्ने बिरामीले समेत छिटो उपचार पाउने उहाँको विश्वास छ । क्यान्सर अस्पतालका प्रशासकीय प्रमुख राजाराम तजलेले राष्ट्रिय प्रयोगशालामा पिसिआर परीक्षण गर्न पठाउँदा रिपोर्ट आउन पाँचदेखि सात दिनसम्म लाग्ने गरेकामा अब नेपाल कोरिया अस्पतालले दैनिक सात जनासम्मको निःशुल्क पिसिआर परीक्षण गरी २४ घण्टामै रिपोर्ट दिँदा अस्पताल र बिरामीलाई ठूलो सहयोग हुने बताउनुभयो ।

गङ्गालाल अस्पतालले मध्यपुरथिमि नगरपालिकाको यो सहयोग उदाहरणीय भएको र यसबाट बिरामीले छिटो उपचार पाउन सजिलो हुने जनाएको छ । यसअघि पनि नगरपालिकाका जनप्रतिनिधि, सोही अस्पतालका बिरामी, कर्मचारी, पत्रकार, वाग्मती प्रदेशसभा सदस्य, अन्य नगरपालिकाका जनप्रतिनिधि, विभिन्न अस्पतालका आपत्कालीन अवस्थाका बिरामी गरी करीब एक हजार जनाको निःशुल्क पिसिआर परीक्षण गरिसकिएको छ । यसैबीच लायन्स क्लबले सो अस्पताललाई ४०० थान पिसिआर किट प्रदान गरेको छ । अस्पतालमा लायन्स क्लबको समूहले नगरप्रमुख श्रेष्ठलाई स्वाब सङ्कलन गर्ने किट हस्तान्तरण गरेको हो ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology