• Monday 27th of July 2026

देशभर २४६ मा र उपत्यकामा ३१ जनामा कोरोना पुष्टि


  • गोकर्णेश्वर अनलाइन

देशभरमा आज थप २४६ जनामा कोभिड–१९ सङ्क्रमण पुष्टि भएको छ । योसँगै सक्रिय सङ्क्रमितको सङ्ख्या पाँच हजार ६७२ पुगेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयद्वारा आज आयोजित नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा आठ हजार ८६१ जनाको पिसीआर नमूना परीक्षण गर्दा उक्त सङ्ख्यामा कोरोना सङ्क्रमण पुष्टि भएको जानकारी दिनुभयो । प्रवक्ता डा गौतमका अनुसार कोभिड–१९ बाट सङ्क्रमण मुक्त भई गत २४ घण्टामा डिस्चार्ज हुनेको सङ्ख्या १११ रहेको छ । योसँगै १४ हजार ६०३ सङ्क्रमित कोरोनामुक्त भएर घर फर्किएका छन् ।

हाल क्वारेन्टिनमा १० हजार ९३४ जना रहेका छन् । सङ्क्रमितमध्ये ७२ प्रतिशत निको भएको र मृत्यु हुनेमा ०.२८ प्रतिशत रहेको छ । काठमाडौँ उपत्यकामा आज थप ३१ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । मन्त्रालयका अनुसार काठमाडौँमा २२, ललितपुरमा आठ र भक्तपुरमा एक जनामा कोरोना सङ्क्रमण भएको पुष्टि भएको हो । पर्सामा शनिबार साँझ ६८ वर्षकी एक महिलाको निधन भएको छ । मधुमेहको बिरामी उक्त महिलामा यही साउन १६ गते कोरोना पुष्टि भएको हो । नेपालमा कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या ५७ जना पुगेको छ । मन्त्रालयका अनुसार रौटहट र कैलाली जिल्लामा पाँच हजारभन्दा बढी व्यक्तिमा कोरोना सङ्क्रमण देखिएको छ भने भोजपुर, सङ्खवासभा, रसुवा, मनाङ र मुस्ताङ गरी पाँच वटा जिल्ला कोरोना सङ्क्रमण शून्य रहेको छ ।

प्रवक्ता डा गौतमले ६० वर्षमाथिका र १२ वर्षमुनिका बालबालिकालाई घरबाट ननिस्कन आग्रह गर्नुभएको छ । उहाँले सरकारले यही साउन १४ गते कोभिड–१९ का विषयमा गरेको निर्णयअनुसार आरडिटी परीक्षण नगर्ने निर्णय भएको हँुदा केन्द्र तथा प्रदेश सरकार सबैले उक्त निर्णयको पालना गर्न आग्रह गर्नुभयो । मन्त्रालयका अनुसार उपत्यका छिर्ने नाकाहरु नागढुङगा, फर्पिङ र साँगाबाट यही साउन १० गतेदेखि १३ गतेसम्म सङ्कलन भएको १० हजार ८२७ नमूना परीक्षण भइरहेको छ । मास्क, सेनिटाइजर प्रयोग गरी सुरक्षित रहन प्रवक्ता डा गौतमको आग्रह छ ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology