• Monday 27th of July 2026

धुलिखेल अस्पतालका चिकित्सक र स्वास्थ्यकर्मी एकान्तबासमा


  • गोकर्णेश्वर अनलाइन

धुलिखेल अस्पतालमा सोमबारदेखि बिहीबारसम्ममा उपचारार्थ चार जना बिरामी र एक जना उपचारमा संलग्न स्वास्थ्यकर्मीमा समेत कोरोना सङ्क्रमण देखिएपछि उपचारमा संलग्न चिकित्सक र स्वास्थ्यकर्मी गरी १२० जना एकान्तबास बस्नुपरेको अस्पतालले जनाएको छ । अस्पतालका प्रशासकीय निर्देशक डा रमेश माकजुले बिहीबार विज्ञप्ति जारी गर्दै देशभित्र केही दिनयता कोभिड–१९ को पोजेटिभ सङ्ख्यामा वृद्धि भएसँगै अस्पतालमा उपचाररत बिरामीमध्ये एक जना अस्पतालकै स्वास्थ्यकर्मीसहित सोमबारदेखि बिहीबारसम्ममा पाँच जनामा पोजेटिभ देखिएपछि अस्पतालको ओपिडी, आकस्मिक कक्ष र वार्डमा सहित सङ्क्रमण फैलिएको आशङ्का भएकाले केही समय अस्पतालको सेवा बन्द गरी कीटाणुरहित गर्न आवश्यक देखिएकाले सङ्क्रमणमुक्त नभइञ्जेलसम्म अस्पतालको आकास्मिक सेवा मात्र सञ्चालन गरिने जनाएको हो ।

हाल एकान्तबासमा रहेका व्यक्तिको स्वाबको नमूना सङ्कलन गरी परीक्षण भइरहेकाले सोको जानकारीसहित अस्पताल सेवा सञ्चालनसम्बन्धी जानकारी आगामी आइतबार दिइने अस्पतालले जनाएको छ । अहिले अस्पतालभित्र कोभिड–१९ लेभल ३ प्रि कोभिड वार्डमा छ जना र कोभिड पोजेटिभ वार्डमा २१ जना गरी २७ जना उपचाररत छन् । यसैबीच मण्डनदेउपुर नगरपालिकामा पनि कोरोना सङ्क्रमण देखिएकाले बिहीबारबाट अर्को सूचना नभएसम्मका लागि जिरोकिलो–सिपाघाटलगायत अन्य स्थानबाट नगरपालिका क्षेत्र प्रवेश गर्ने सम्पूर्ण नाका बन्द गरिएको नगरपालिकाले जनाएको छ ।

बिहीबार नगरपालिकाका अधिकृत मनोज अधिकारीले सूचना जारी गरी नगरपालिका क्षेत्रभित्र अत्यावश्यकबाहेकका सम्पूर्ण किसिमका सार्वजनिक तथा निजी सवारीसाधन सञ्चालन र व्यक्तिको आवतजावतमा समेत रोक लगाइएको बताउनुभएको छ । त्यस्तै अत्यावश्यक सामग्रीबाहेकका अन्य सम्पूर्ण किसिमका होटल, पसललगायतका व्यवसाय बन्द गर्न र अनावश्यक मानिसको भिडभाड नगर्न नगराउनसमेत नगरपालिकाले आग्रह गरेको छ ।

धुलिखेलबाट अत्यावश्यक सेवाबाहेक अन्य बन्द

धुलिखेल नगरपालिकाले आजदेखि लागू हुने गरी आगामी भदौ ५ गतेसम्मका लागि नगरपालिकाबाट प्रवाह हुने सेवामा अत्यावश्यकबाहेका अन्य सेवा बन्द गरेको जनाएको छ । नगरपालिकाभित्र कोरोना सङ्क्रमितको सङ्ख्या वृद्धि भई त्यसबाट हुनसक्ने सम्भावित जोखिमलाई मध्यनजर गर्दै अत्यावश्यक सेवाबाहेकका अन्य सेवा बन्द गरिएको नगरप्रमुख अशोक ब्याञ्जुले बताउनुभयो । नगरपालिकाले बिहीबार नै सूचना जारी गरी धुलिखेल नगरपालिका–६ स्थित धुलिखेल अस्पतालको एक स्वास्थ्यकर्मी र अस्पताल नजिककैको होटल व्यवसायीलाई समेत कोभिड पोजेटिभ देखिएकाले अस्पतालको २०० मिटर वरिपरिको क्षेत्रलाई कन्ट्याक्ट ट्रेसिङको अवधिभर सिल गरिएको जनाएको छ ।

कोभिड–१९ कै प्रभावका कारण धुलिखेल नगरपालिकाको न्यायिक समितिको काम कार्वाहीसमेत बिहीबारबाट अर्को निर्णय नभएसम्मका लागि स्थगित गरिएको जनाइएको छ । सो अवधिमा नगरपालिका क्षेत्रभित्र कुनै पनि बैठक, गोष्ठी भेला, धार्मिकस्थलमा दैनिक नित्य पूजाबाहेकका अन्य गतिविधिका कार्यमा समेत रोक लगाइएको नगरपालिकाले जनाएको छ ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology