• Monday 27th of July 2026

डोटीमा पिसिआर प्रयोगशाला सञ्चालन


  • गोकर्णेश्वर अनलाइन

डोटी जिल्ला अस्पतालमा कोभिड–१९ परीक्षण गर्न पिसिआर प्रयोगशाला सञ्चालनमा ल्याइएको छ । यसले अछाम, बाजुरा तथा डोटीका नागरिकको स्वाब परीक्षणमा सहज बनाएको छ । सुदूरपश्चिम प्रदेश सामाजिक विकास मन्त्रालयको सहयोगमा कूल रु एक करोड ५० लाखको लागतमा प्रयोगशाला सञ्चालनमा ल्याइएकोे सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशक डा गुणराज अवस्थीले जानकारी दिनुभयो । प्रयोगशालाले एक पटकमा कम्तीमा ३०० को स्वाब परीक्षण गर्ने लक्ष्यअनुसार काम भइरहेको बायोमेडिकल इञ्जिनीयर जय साउँदले बताउनुभयो । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले आज यहाँ प्रयोगशालाको शुभारम्भ गर्दै कोभिड–१९ को रोकथाम तथा नियन्त्रण गर्न प्रदेश सरकारले अग्रगामी भूमिका निर्वाह गरेको बताउनुभयो ।

उहाँले भन्नुभयो, “कोरोना नियन्त्रण तथा रोकथाममा अन्य प्रदेशभन्दा सुदूरपश्चिम प्रदेश सबैभन्दा अगाडि छ, सरकारको उल्लेख्य भूमिकाले समुदायमा कोरोना फैलिन दिएका छैनौँ ।” मुख्यमन्त्री भट्टले सुदूरपश्चिमका नागरिकको स्वास्थ्य क्षेत्रमा सहज पहुँच बनाउनका लागि प्रदेश सरकारले विभिन्न नीति तथा कार्यक्रम कार्यान्वयन गरिराखेको जानकारी दिनुभयो । उहाँका अनुसार प्रदेश सरकारले यहाँका नौवटै जिल्लामा हरेका जिल्ला अस्पतालमा दुई÷दुई वटा भेन्टिलेटर निकट भविष्यमै निर्माण गर्ने योजनाअनुसार काम अगाडि बढेको छ ।

उहाँले भन्नुभयो, “गम्भीर प्रकृतिबाहेक अन्य रोगका बिरामीलाई प्रदेश बाहिर उपचारका लागि धाउनुपर्ने अवस्थाको अन्त्य हुन्छ, प्रदेशमै स्वास्थ्य उपचार गर्ने व्यवस्था मिलाउँदै छौँ ।” सुदूरपश्चिममा कोरोना सङ्क्रमितको सङ्ख्या बढ्नुमा सङ्घीय सरकार दोषी रहेको मुख्यमन्त्री भट्टले आरोप लगाउनुभयो । “प्रदेश सरकारले भनेको कुरो सङ्घीय सरकारले नमान्दा सुदूरपश्चिममा कोरोना सङ्क्रमितको सङ्ख्या बढेको हो”, उहाँले भन्नुभयो, “सुदूरपश्चिममा कोरोना सङ्क्रमित थपिनुमा सङ्घीय सरकार दोषी छ ।”

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology