सडक निर्माण कम्पनी र सामुदायिक वनका पदाधिकारी बीचको मिलेमतोमा सालको रुख फडानी गरिएको पाइएको छ । जिल्लाको भित्री मधेश क्षेत्र आलितालमा निर्माणाधीन डोला चक्रपथ क्षेत्रमा ती जातका रुख फडानी भएको हो । आलिताल गाउँपालिका–८ अन्तर्गत गोदाम बजारदेखि डोला गाउँ जोड्ने सडक निर्माण क्रममा सामुदायिक वनक्षेत्रमा रहेका रुख काटिएका हुन् । । आलितालको समपुरक कोष अन्तर्गत सकड निर्माण सुरु गरिएको हो । सडकमा रहेका रुख वन कार्यालयको अनुमति विना कटानी गरी गोलिया बनाइ लुकाइ राखेको अवस्थामा फेला पारेका छन् । सडक निर्माण गरिँदा रुख कटानको अनुमति नै नहुँदा सालका रुख कटान गरिएको वन डिभिजन कार्यालय डडेल्धुराका निमित्त प्रमुख डबलबहादुर बोहराले बताउनुभयो ।
एक सय १० गोलिया थानको करिव ७०० क्यूफिट काठ वरामद गरिएको छ । बाँकी काठको खोजी भइरहेको उहाँले जानकारी दिनुभयो । केही रुख ढलेको अवस्थामा पाइएका छन् । सडक निर्माणका क्रममा सो वन क्षेत्रमा करिव दुई हजार क्युफिट भन्दा बढी काठ काटिएको हुन सक्ने आशंका गरिएको छ । काठका गोलिया सम्याउदै गरिरहेको अवस्था मै रजनी सामुदायिक वनका अध्यक्ष गोपालसिंह धामी र स्थानीय श्याम दासलाई कार्यालयको टोलीले पक्राउ गरेको छ । उनीहरुलाई हिरासतमा लिइ अनुसन्धान भइरहेको कार्यालयले जनाएको छ । काठ काटिएको सामुदायिक वनबाट काठ निकासी भए नभएको बारेमा अहिले नै भन्न नसकिने उहाँको भनाइ छ ।
काठ कटानीका बारेमा छानविन गर्न अनुसन्धान अधिकृत तोकि सकिएको छ । अबको केही दिनमा सत्यतथ्य पत्ता लाग्ने समेत बताइएको छ । सडक निर्माणका क्रममा व्यापक वन फडानी हुँदासम्म सम्बन्धित साुमदायिक वनले समेत नरोकेको पाइएको छ । यसले सामुदायिक वन र सव डिभिजन वन कार्यालयको पनि मिलेमतो हुन सक्ने आशंका गरिएको छ । सडक निर्माणका क्रममा गत अषाढ महिना पहिले नै रुख काटिएको स्रोतले जनाएको छ ।
