• Monday 27th of July 2026

सुदूरपश्चिममा निको भए चार हजार कोरोना सङ्क्रमित


  • गोकर्णेश्वर अनलाइन

–विमलबहादुर विष्ट सुदूरपश्चिम प्रदेशमा कोरोना भाइरस (कोभिड–१९) का चार हजारभन्दा बढी सङ्क्रमित निको भएका छन् । प्रदेशका नौ वटै जिल्लामा कोरोना भाइरसका चार हजार ४०० सङ्क्रमित निको भइसकेका छन् । अहिलेसम्म यो प्रदेशमा पाँच हजार ४०६ सङक्रमित रहेको र तीमध्ये ९ जनाको मृत्यु भएको सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालय दिपायल राजपुरले जनाएको छ । प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार अहिलेसम्म सबैभन्दा बढी कैलालीका एक हजार ३०१ जना सङ्क्रमित उपचारपछि निको भएर घर फिर्किएका छन् । त्यस्तै अछामका ७१३, कञ्चनपुरका ५८१, बाजुराका ४४२, बैतडीका ३२२, डडेल्धुराका २९९, बझाङका ११०, दार्चुलाका ४१ तथा डोटीका ५७६ सङ्क्रमित उपचारपछि निको भएर घर फर्किएको स्वास्थ्य निर्देशनालयले जनाएको छ । सुदूरपश्चिममा हाल सक्रिय सङ्क्रमितको सङ्ख्या ९२९ रहेका छन् ।

सङ्क्रमण पुष्टि भएका र लक्षण देखिएका ६३ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको स्वास्थ्य निर्देशक गणराज अवस्थीले बताउनुभयो । उहाँका अनुसार हाल कञ्चनपुरको महाकाली अस्पतालमा २३, कैलालीको सेती प्रादेशिक अस्पतालमा १४, टीकापुर अस्पतालमा ११, जिल्ला अस्पताल अछाममा १०, जिल्ला अस्पताल डोटी र डडेल्धुरा उपक्षेत्रीय अस्पतालमा दुई÷दुई र मालाखेती अस्पतालमा एक जना सङ्क्रमितको उपचार भइरहेको छ । अन्य सङ्क्रमित भने स्थानीय तहको आइसोलेसन र घरमै रहेको बताइएको छ । पछिल्लो समय भारतबाट नेपाली आउने क्रम रोकिएको छ । यहाँका विभिन्न जिल्लाका स्थानीय तहमा प्रयाप्त मात्रामा आइसोलेसन वेड नभएका कारण कोरोना सङ्क्रमितलाई निकै समस्या भइरहेको बताइएको छ ।

कोरोना भाइरस नेपाल: थप ४५१ जनामा ...

कोरोना सङ्क्रमित तथा उनीहरुका परिवारलाई गाउँमा हेर्ने दृष्टिकोण नै फरक वा सकारात्मक नहुने भएका कारण पनि अहिले उनीहरु झनै समस्या परेको शिखर नगरपालिका–१ कपल्लेकीका खडकबहादुर बोगटीले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “कोरोना सङ्क्रमितलाई गाउँमा हेर्ने दृष्टिकोण नै फरक छ, उनीहरुलाई घिर्ना वा तिरस्कार होइन, माया, सद्भाव र हौसला दिन जरुरी छ ।” सुदूरपश्चिममा पहिलो पटक गत चैत १४ गते धनगढी उपमहानगरपालिका–५ का ३४ वर्षीय एक युवकमा कोरोना सङ्क्रमण पुष्टि भएको थियो । रोजगारीको सिलसिलामा दुवईबाट आएका ती युवक सेती प्रादेशिक अस्पतालमा ३० दिनको उपचारपछि निको भएर घर फर्किएका थिए । सुदूरपश्चिम प्रदेशका नौ जिल्लामा कोरोना सङ्क्रमितको सङ्ख्या पाँच हजार नाघेको छ ।

पछिल्लो समय भारतबाट रोजगारी गरी फर्किएका नागरिकसँगै उनीहरुका परिवारमा पनि कोरोना सङ्क्रमण देखिन थालेको स्वास्थ्यकर्मीहरु बताउँछन् । सङ्क्रमित भन्दापनि उपचारपछि निको हुने दर बढ्दै गएकाले यसबाट त्रसित वा अत्तिइ हाल्नुपर्ने अवस्था नरहेको जिल्ला स्वास्थ्य कार्यालय डोटीका प्रमुख रमेश मलासीले बताउनुभयो । उहाँले भन्नुभयो, “सङक्रमित हुने र निको हँने दर करिब करिब बराबर छ, कोरोना लागि हाले पनि अत्तिइ हाल्नु पर्ने अवस्था छैन तर सावधानी र सचेतना भन्ने अपनाउनु पर्छ ।” सुदूरपश्चिममा स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, कर्मचारीलगायतमा पनि कोरोना सङ्क्रमण देखिएको छ । कोरोनो नियन्त्रणका लागि प्रदेश सरकारसहित यहाँका सबै स्थानीय तहले सावधानी अपनाएका कारण सोचेजस्तो समुदायमा फैलिन नपाएको प्रदेश स्वास्थ्य निर्देशनालय दिपायल राजपुरको दाबी छ ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology