• Sunday 26th of July 2026

आफ्नो छोराको शव अर्कैले दाहसंस्कार गरेपछि…


  • गोकर्णेश्वर अनलाइन

जिल्लाको ढोरपाटन नगरपालिका–९ मा यही भदौ १७ गते आएको बाढीले ठूलोमात्रामा जनधनको क्षति पुर्याएको छ । रातको समयमा बाढी आउँदा सुतेका स्थानीयवासीसँगै ढोरपाटनका आधा दर्जन गाउँ बगरमा परिणत भए । बाढीमा हालसम्म १७ जनाको मृत्यु भइसकेको छ भने अझै २१ बेपत्ता छन् । हालसम्म फेला परेका शवमध्ये १५ जनाको मात्र सनाखत भइसकेको छ । बाढी प्रभावित क्षेत्रमा १८ गते बिहानैदेखि खोज तथा उद्धारको काम हालसम्म भइरहेको छ तर बाढीको वितण्डा यतिसम्म देखियो कि मृतावस्थामा भेटिएका शव क्षतविक्षत अवस्थामा भेटिए । फलस्वरुप परिवारले आफ्नै गुमाएका सन्तानको शवसमेत जलाउन पाएनन् । अर्कैले जलाइदिए ।

जीवनभर आफ्नो सन्तानको माया नहुने बाबुआमा सायदै होलान् । आफूलाई बुढेसकालमा हेरविचार गरुन् भन्ने सोच्छन् र त्यो जिम्मेवारी पनि हुन्छ तर विधिको विडम्बना आफ्ना नौजवान छोरासहित परिवारका चार सदस्यसम्म बाढीको विपत्मा सदाका लागि गुमाएका छन् । यो त दुःखान्त पीडाको खबर थियो नै । यसमा अझ पीडा त बाढीमा बेपत्ता भएर ज्यान गुमाएका आफ्नो दिवङ्गत छोराको शव अर्कैले जलाउँदा भएको छ । यो थाहा पाएपछि परिवारलाई कति पीडा भएको होला ? बेपत्ता भएको आफ्नो छोरालाई अर्कैले जलाउँदा बाबुआमाको मन कति दुखेको होला ? हामी त केवल अनुमान मात्रै गर्न सक्छौँ । ढोरपाटनको बाढीमा बेपत्ता भएका आफ्नो २२ वर्षीय छोरा नारायण विकको शव घट्टबोटका बेपत्ता ३१ वर्षीय प्रेम पुनको शव भन्दै प्रहरीले आफन्तको जिम्मा लगायो ।

आफन्तले पनि नारायणको शव प्रेमको ठानेर १९ गते फेला परेर सोही दिन बुर्तिवाङघाटमा जलाइयो । प्रेमका आफन्तले अर्कैको शव जलाएर आएको भोलिपल्ट बिहान पुनः उनको सग्लो शव फेला पारेपछि २० गते फेरि पुनको शव बुर्तिवाङघाटमै जलाइयो तर नारायणका परिवारले आफ्नो छोराको शव भेटिँदासमेत दाहसंस्कार गर्न पाएनन् । भदौ १९ गते जलाइसकेको शव आफ्नो छोरा भएको २० गते प्रेमकोे परिवारले दोस्रो दाहसंस्कार गरेपछि मात्रै आफूले थाहा पाएको नारायणका बुवा तुलबहादुर विकले बताउनुभयो ।

“प्रहरीले मलाई थाहै नदिई मेरो छोराको शव अर्कैको भनेर बुझाइसकेर दाहसंस्कार भइसकेको रहेछ”, तुलबहादुरले भन्नुभयो, “मेरो छोरालाई प्रेम पुनको शव भनेर जलाएको भोलिपल्ट उनको शव फेला पारेको रहेछ, मैले २० गते मात्रै १९ गते प्रेम पुन भनेर जलाएको शव मेरो छोरा नारायणको भएको पत्ता लगाएँ, असाध्यै दुःख लाग्यो ।” आफ्नो छोरा नारयण र प्रेमको शरीर र उमेर मिल्दोजुल्दो भएका कारण प्रहरीले झुक्किएर प्रेमको आफन्तलाई जिम्मा लगाएको उहाँको भनाइ छ । भदौ १९ गते फेला परेको शव एकपटक हेर्न पाएको भए चिन्ने अवस्था रहे पनि आफूलाई खबर नै नगरेको उहाँले बताउनुभयो । “कसैले दुईपटकसम्म दाहसंस्कार गर्न पर्यो, आफ्नो छोरालाई अर्कैले जलाएछन्, मैले दाहसंस्कारै गर्न पाइनँ ।”

नारायणलाई १९ गते नै जलाएको २० गते थाहा पाएपछि कपाल मुण्डन गरेको उहाँको भनाइ छ । तुलबहादुरका छोरा नारायणसहित बुहारी, नातिनी र छोरीलाई समेत बाढीले बगाएर बेपत्ता बनाएको छ । तीन जनाको अवस्था अझै अज्ञात रहँदा भेटिएको शवसमेत देख्न नपाई जलाइएकामा उहाँको दुखेसो छ । इलाका प्रहरी कार्यालय बुर्तिवाङका प्रहरी इन्चार्ज प्रकाशसिंह भण्डारीका अनुसार फेला परेको शव क्षतविक्षत भएकाले पहिचनामा समस्या भएको बताउनुभयो ।

“१९ गते फेला परेको शव ३१ वर्षीय प्रेम पुनको भएको पुनका आफन्तले भनेपछि हामीले दाहसंस्कार गर्नका लागि बुझायौँ”, भण्डारीले भन्नुभयो, “त्यसको भोलिपल्ट प्रेम पुनको सग्लो शव फेला परेपछि बल्ल सनाखतमा समस्या भएको थाहा पाइयो ।” प्रहरीका अनुसार सोमबार मात्रै नारयणका बुबा तुलबहादुरले ल्याएको तस्वीरका आधारमा १९ गते प्रेम पुन भनेर जलाइएको शव नारायणको भएको सनाखत गरिएको छ । फेला पर्ने अधिकांश शवको ढुङ्गाले थिचेको जस्तो हातखुट्टा चुँडिएका र अनुहार नचिनिने भएका कारण समस्या भएको प्रहरीको भनाइ छ ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology