• Sunday 26th of July 2026

स्थानीय बासिन्दाले गरे उद्यान निर्माण


  • गोकर्णेश्वर अनलाइन

धुलिखेल नगरपालिका–४ बखुडोलका स्थानीय बासिन्दाको सक्रियतामा आकर्षक उद्यान (पार्क) निर्माण गरिएको छ । सो ठाउँका खाइबा लामा, सत्यमान लामा र सलामसिं लामाको नेतृत्वमा त्यहाँका स्थानीय बासिन्दाले फोहर फाल्ने गरेको ठाउँलाई सरसफाइ गरी आकर्षक उद्यान बनाएपछि नगरपालिकाले समेत सहयोग गरेको छ । काठमाडौँ विश्वविद्यालय जाने सडकको छेउमा रहेको खाली सार्वजनिक जग्गामा सबैले फोहर फालेर दुर्गन्ध फैलाउने गरेपछि बन्दाबन्दीका कारण घरभित्र थुनेर बसिरहेको बेलाको सदुपयोग गरेर सरसफाइ गरी उद्यान निर्माण गरिएको पार्क निर्माण उपभोक्ता समितिका अध्यक्ष सत्यमान लामाले बताउनुभयो ।

आफूहरुले उद्यान निर्माणको काम गर्न लागेपछि नगरपालिकाबाट समेत अनुगमन गरी टोलवासीले गरेको काममा सहयोग पाउँदा झन् उत्साह थपेको र त्यसैलाई निरन्तरता दिने क्रममा अहिले सो क्षेत्रकै आकर्षक उद्यान बनेको उहाँको भनाइ छ । उद्यान निर्माण हुँदै गएपछि टोलीवासीको नमूना कामलाई देखेर नगरपालिकाबाट रु पाँच लाख र डिभिजन वन कार्यालय का्रेपलाञ्चोकबाट रु पाँच लाख गरी रु १० लाख सहयोग प्राप्त गरेको तथा बाँकी सहयोगीदाताको सहयोग र टोलवासीको सहयोगमा करिब रु ३० लाखमा सो उद्यान निर्माण गरिएको निर्माण उपभोक्ता समितिका अध्यक्ष लामाले बताउनुभयो ।

उद्यानमा बुद्ध, कृष्णको मूर्ति स्थापना गर्नुका साथै बालबालिकालाई खेल्न पिङ, बस्ने सिट, झरना बनाएर राखेपछि झन् आकर्षक बनेको छ । त्यसरी निर्माण गरेको उद्यानमा परेवाको आकृतिको मूर्ति निर्माण गरिएको छ । नेवारी भाषामा बखुको अर्थ परेवा भएकाले धुलिखेल, धनेश्वर र चण्डेश्वरी मन्दिरबाट आएर परेवा चर्ने ठाउँ भएका कारण सोको पहिचानसमेत झल्कने गरी उद्यानमा ठूलो परेवाको आकृतिसमेत निर्माण गरेर राखिएको छ । त्यसरी निर्माण गरेको उद्यानलाई टोलवासीले ‘बखुडोल बुद्धपार्क’ नामाकरण गरिएको छ ।

उद्यान निर्माणसँगै आसपासका बासिन्दादेखि टाढा–टाढाबाट समेत उद्यानमा घुम्न आउने भएकाले त्यसबाट संरचनामा पुग्नसक्ने क्षतिलाई मध्यनजर गरी निर्माण उपभोक्ता समितिले दीर्घकालीनरूपमा सहयोग पु¥याउने गरी मर्मत संरक्षण कोषसमेत गठन गरेको समितिका अध्यक्ष लामाले बताउनुभयो । अब उद्यानमा केही झण्डा राख्नुपर्ने र रङरोगनको काम बाँकी रहेका कारण त्यसलाई छिट्टै सम्पन्न गर्ने काममा लागिरहेको समितिले जनाएको छ । करिब चार महिनामा निर्माण गरेको उद्यान अहिले धुलिखेललगायत आसपासका बासिन्दाको घुम्न जाने र आनन्द लिने थलो बनेको छ ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology