• Monday 27th of July 2026

सबै वडामा आधारभूत स्वास्थ्य सेवा विस्तार


  • गोकर्णेश्वर अनलाइन

जिल्लाको बागलुङ नगरपालिकाको सबै वडामा आधारभूत स्वास्थ्य सेवाको पहुँच विस्तार गरिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको आधारभूत स्वास्थ्य सेवाको नीतिअनुसार नगरका १४ वडामा स्वास्थ्य सेवाको पहुँच विस्तार गरिएको हो । सामान्य औषधि उपचार र परामर्शका लागि अस्पताल नै धाउनुपर्ने बाध्यतालाई अन्त्य गर्ने प्रयासस्वरुप स्वास्थ्य सेवा वडाबाटै प्रदान गर्न थालिएको नगरपालिकाका स्वास्थ्य शाखाप्रमुख रामप्रसाद खनालले जानकारी दिनुभयो । हालसम्म १४ मध्ये चार वडामा स्वास्थ्य चौकी थिएन । बागलुङ बजारभित्र पर्ने १, २, ३ र ४ नं वडामा स्वास्थ्य सेवाको पहुँच नहुँदा धौलागिरि अस्पताल आउनुपर्ने बाध्यता थियो ।

सामान्य प्रेसर नाप्न र सिटामोल खानकै लागि चार वडाका नागरिकलाई अस्पताल पुग्नुपर्ने समस्यालाई दृष्टिगत गरी सम्बन्धित वडामै ४१ प्रकारका औषधिसहित आधारभूत स्वास्थ्य सेवा शुरुआत गरिएको नगरप्रमुख प्रमुख जनकराज पौडेलले जानकारी दिनुभयो । गर्भवती परीक्षण, खोप तथा परामर्श प्रदान गर्न थालेपछि वडावासीलाई थप सहज भएको छ । “गत आर्थिक वर्षको कार्यक्रम भएकाले दरबन्दीअनुसार स्वास्थ्यकर्मी गत चैतमै भर्ना गरिएको थियो”, उहाँले भन्नुभयो, “चैतबाटै कोरोना भाइरस सङ्क्रमण फैलिएपछि नगरका क्वारेन्टिन र आइसोलेसनमा स्वाथ्यकर्मी खटाउँदा स्वास्थ्य केन्द्र सञ्चालनमा आउन सकेको थिएन, अहिले बिस्तारै सेवा दिन थालिसकेका छौँ ।” जटिल प्रकारको समस्या आउँदा अस्पताल जाने कुरा भए पनि सामान्य सिटामोल खान र प्रेसर नाप्नका लागि आधारभूत स्वास्थ्य केन्द्र स्थापना भएपछि सहज भएको बागलुङ–१ रामरेखाका दुर्गा आचार्यले बताउनुभयो ।

“सामान्य चोटपटक लागे या हात खुट्टा भाँचिएमा अस्पताल लैजाँदै आएका थियौँ”, उहाँले भन्नुभयो, “प्रेसर जाँच, खोपका लागि अस्पताल धाउने, लामो लाइन बस्नुपर्ने समस्या नै थियो, अब दैलोमै आधारभूत सेवा पाउँदा निकै सहज भएको महसुस गरेका छौँ ।” स्वास्थ्य केन्द्रमा आधारभूत स्वास्थ्य सेवाका साथै स्वास्थ्य परामर्श र सरसफाइका विषयमा समेत सचेतना फैलाउने नगर स्वास्थ्य शाखाप्रमुख रामप्रसाद खनाल बताउनुहुन्छ । नगरपालिकाको बजार क्षेत्रका जनता धौलागिरि अस्पताल बागलुङबाट सेवा लिँदै आएका थिए । उहाँका अनुसार नगरको २ नं वडामा अस्पताल भएका कारण सेवा केन्द्र नभए पनि नगरका अन्य वडामा सेवा केन्द्र स्थापना गरिएको छ ।

बानपा–३ र ४ मा साबिक शहरी स्वास्थ्य केन्द्रको पूर्वाधारबाट सेवा प्रदान गरिएको छ भने १ नं वडाको रामरेखा वडा कार्यालय भवनबाट सेवा थालिएको हो । हाल भवन अभावका कारण नगरपालिका–१ को कार्यालयबाटै सेवा प्रदान गर्ने गरी स्वास्थ्य केन्द्र स्थापना भएको छ । जग्गा व्यवस्थापन भएमा स्वास्थ्य केन्द्रका लागि बजेट आए पनि कार्यान्वयन हुन सकेको छैन । जग्गा भएमा रामरेखामा भवन निर्माण थालिनेछ । केन्द्रबाट खोप सेवा, गर्भवती जाँच, सामान्य औषधि सेवालगायत आधारभूत सेवा प्रदान गरिनेछ ।

यो पनि हेर्नुहोस: 

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology