• Tuesday 28th of July 2026

विश्व मुटु दिवस मुटुरोगीलाई कोरोना सङ्क्रमणबाट बच्न विज्ञको सुझाव


  • गोकर्णेश्वर अनलाइन

कोरोना सङ्क्रमणको आक्रमण दीर्घरोगीलाई बढी हुने गरेको छ । यसमध्येको मुटुरोगको समस्या भएकामा रोगको सङ्क्रमण हुने गरेको विज्ञहरुले जनाएका छन् । कोरोना सङ्क्रमणबाट मृत्यु हुनेमा बढी सङ्ख्यामा रोगप्रतिरोधी क्षमता कम भएका र दीर्घरोगी रहेका छन् । उच्च रक्तचाप, मधुमेह, मोटोपनजस्ता समस्या भएकामा मुटुरोगको उच्च जोखिम हुने गर्दछ । चितवन मेडिकल कलेजका मुटुरोग विशेषज्ञ डा सुधीर रेग्मीले मुटु रोगका समस्या भएकाहरु कोरोना सङ्क्रमणको जोखिममा रहेको बताउनुभयो । उहाँका अनुसार कोरोनाले मुटुको मासु, रगतको नलि र मुटुलाई ढाक्ने झिल्लिमा आक्रमण गर्दछ । जसबाट हृदयघातसमेत हुने गरेको उहाँको भनाइ छ । रगतको नलिमा रगत जमेर हुने पल्मोनरी इम्बोलिजम पनि हुने गरेको रेग्मीले बताउनुभयो ।

जसले गर्दा श्वाँश्वाँ हुने, बेहोस् हुने, श्वास फेर्न गाह्रो हुने गर्दछ । कोरोनाकै कारण मुटुमा अनेक समस्या देखिने गरेको उहाँले जानकारी दिनुभयो । दीर्घरोगीहरु सङ्क्रमण हुनबाट अधिकतम बच्नुपर्ने रेग्मीको सुझाव छ । भरतपुर अस्पतालका प्रमुख मेडिकल सुपरिटेण्डेण्ट डा राजन पाण्डेले पहिले पहिले दीर्घरोगीहरु र पाको उमेर भएकालाई मुटुको समस्या हुने गरेको भए पनि आजभोलि कम उमेरकालाई पनि यो समस्या देखिने गरेको बताउनुभयो । वरिष्ठ फिजिसियनसमेत रहनुभएका पाण्डेले भन्नुभयो, “दीर्घरोगीलाई मुटुको समस्या बढी हुने गरेकोमा पछिल्लो समय युवा पुस्तामा पनि यो समस्या देखिएको छ ।” खानपान, जीवनशैलीमा परिवर्तन आएसँगै मानिसमा सानो उमेरमै मुटुको रोग देखिन थालेको पाण्डेको भनाइ छ ।

जुनसुकै उमेर समूहको भए पनि मुटुरोगीहरु कोरोनाको सङ्क्रमणबाट बच्नुपर्ने उहाँको सुझाव छ । सञ्चालनको तयारीमा रहेको चितवन मुटु अस्पतालका मुटुरोग विशेषज्ञ डा शङ्कर लौडारीले कोरोना सङ्क्रमितमध्ये १० देखि १२ प्रतिशत मुटुरोगी भएको बताउनुभयो । सङ्क्रमितमध्ये सबैभन्दा धेरै फोक्सोका रोगी हुने गरेको बताउँदै उहाँले दोस्रोमा मुटुरोगी रहेको जानकारी दिनुभयो । कोरोना सङ्क्रमणले उमेर बढी भएका वृद्धवृद्धा, उच्च रक्तचाप भएका, मधुमेहका समस्या भएका, मिर्गाैलाका समस्या देखिएका, क्यान्सर रोगका र मोटोपना ज्यादा भएकामा समस्या हुनेहरुको उहाँको बुझाइ छ । यस्ता रोगीमा अन्यको तुलनामा ५ देखि १० गुणा बढी कोरोना सङ्क्रमणको जोखिम हुने गरेको लौडारीको भनाइ छ ।

विलासी जीवन, धूमपान, सूर्ती सेवन, उच्चरक्तचाप, मधुमेह, खानामा बोसोमाको मात्रा अत्यधिक प्रयोगले मुटुरोग निम्त्याउने गर्दछ । उहाँका अनुसार विश्वमा दुई तिहाई मुटुरोगका रोगी यिनै कारणबाट हुने गर्दछ । जीवनशैलीमा परिवर्तन गर्न सक्ने हो भने दुई तिहाई मुटुरोगबाट बच्न सकिने उहाँको तर्क छ । मुटुरोगले कुनै पनि उमेर समूहलाई असर पार्न सक्ने भन्दै उहाँले भन्नुभयो, “जन्मेको नवजात शिशुदेखि लिएर बुढापाकासम्मलाई मुटुरोगले प्रभावित पार्ने गर्दछ ।” मुटुरोगका पनि विभिन्न प्रकृति भएको बताउँदै डा लौडारीले जन्मजात मुटुमा हुने स–साना प्वाल, मुटुमा रगत बग्ने भाग साघुरो हुने रोग, मुटुमा पानी जम्ने, हृदयघाटजस्ता समस्या हुने जानकारी दिनुभयो ।

भरतपुर अस्पतालका सिनियर कन्सल्ट्यान्ट फिजिसियन डा मणि गौतमले यन्त्रिक कामले मानिसको शारीरिक क्रियाकलाप घटदा मुटुरोग बढेको बताउनुभयो । अहिले मृत्युको प्रमुख कारण मुटुसम्बन्धी रोग भएको बताउँदै उहाँले भन्नुभयो, “मधुमेह, उच्चरक्तचाप, मोटोपनाको अन्तिम विन्दु भनेको मुटुमा गएर असर गर्ने हो ।” मिर्गाैला रोगी पनि अन्तिममा गएर मुटुरोग हुने बताउँदै उहाँले भन्नुभयो, “शारीरिक क्रियालकप बढाउने, मोटोपन घटाउने, उच्च रक्तचापलाई नियन्त्रणमा राख्ने र मधुमेहलाई उपचार गर्ने र कोल्डस्टोरलाई नियन्त्रणमा राख्नु प¥यो र मुटुरोगबाट बच्न सकिन्छ ।” खासगरी मुटुरोगीले फलफूल, मौसमी हरियो तरकारी, रेसादार खानेकुरा खानुपर्ने उहाँको सुझाव छ । खानेकुरा एकै पटक टन्न हुने गरी नखाई थोरै गर्दै समय समयमा खानुपर्ने उहाँको भनाइ छ ।

विश्व स्वास्थ्य सङ्गठनले सन् २०३० सम्ममा विश्वभर मुटु रोगबाट ज्यान गुमाउनेको सङ्ख्या वर्सेनि दुई करोड ५० लाख पुग्ने अनुमान गरेको छ । विश्व मुटु महासङ्घका अनुसार मुटुको रोगबाट विश्वभर वर्सेनि एक करोड ७५ लाख जनाको ज्यान जाने गरेको छ । यस्तै, नेपाललगायत विकासोन्मुख देशमा हृदयघात भएर मर्नेको सङ्ख्या ३५ प्रतिशतभन्दा बढी पुग्ने अनुमान गरिएको छ । नेपालमा ७५ लाख मुटुरोगी रहेको अनुमान छ । यो कूल जनसङ्ख्याको २५ प्रतिशत हुन आउँछ । आज विश्व मुटु दिवस । ‘मन लगाउ, मुटु बचाउ’ भन्ने नाराका साथ मनाइँदै छ । विश्व हृदय महासङ्घ र विश्व स्वास्थ्य सङ्गठनले सन् १९९९ देखि सेप्टेम्बर २९ तारिखमा यो दिवस मनाउने घोषणा गरेपछि मनाउन थालिएको हो ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology