• Saturday 25th of July 2026

आणविक अस्त्रको खर्च शान्ति र मानवताको हितका खातिर उपयोग गरौँ : नेपाल


  • गोकर्णेश्वर अनलाइन

नेपालले पारमाणविक हातहतियारका निम्ति विनियोजित स्रोतलाई समग्र शान्ति र मानवताको बृहत्तर हितका खातिर अघि सारिएका दिगो विकास योजना कार्यान्वयन गर्नुपर्नेमा जोड दिएको छ । संयुक्त राष्ट्र सङ्घको ७५औँ महासभाका सिलसिलामा आणविक शस्त्रास्त्रको पूर्ण उन्मूलनसम्बन्धी अन्तरराष्ट्रिय दिवसका अवसरमा आज न्यूयोर्कमा भएको उच्चस्तरीय बैठकमा नेपालले आणविक हातहतियारको कालो छाया रहेसम्म विश्व सुरक्षित स्थान बन्न नसक्ने यथार्थ प्रस्तुत गरेको हो । पूर्वअभिलखित ‘भिडियो’ सम्बोधनमा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले अहिलेको महामारीले निम्त्याएको विनाश र आणविक दुर्घटनाजस्तै भए पनि पारमाणविक दुर्घटनाले एक झपटमै हजारौँ जीवन ध्वस्त पार्ने सन्दर्भ सुनाउँदै कोभिड–१९ विरुद्धको औषधिले मानव जीवन जोगाए पनि आणविक अस्त्रले अमूल्य जीवन बचाउन नसक्ने तर्क गर्नुभयो ।

अणविक हातहतियारको पूर्ण उन्मूलन तथा आमविनाशकारी सबै हतियारको पूर्ण निःशस्त्रीकरणका पक्षमा नेपाल रहेको दोहो-याउँदै मन्त्री ज्ञवालीले ऊर्जा उत्पादन, स्वास्थ्य सेवा प्रवद्र्धन, कृषि उत्पादकत्व वृद्धि र मानव जीवनरक्षालगायत शान्तिपूर्ण प्रयोजनका निम्ति आणविक प्रविधिको उपयोग गर्नुपर्नेमा जोड दिनुभयो । बैठकलाई १५ देशका राष्ट्राध्यक्ष÷सरकार प्रमुख, ६४ मन्त्रीसहित ११० वक्ताले सम्बोधन गर्नुभएको न्यूयोर्कस्थित राष्ट्र सङ्घका लागि नेपाली स्थायी नियोगले जनाएको छ ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology