• Saturday 25th of July 2026

प्रदेश राजधानीको प्रस्ताव पास गराउन नेकपा संसदीय दलको निर्देशन


  • गोकर्णेश्वर अनलाइन

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रदेश नं ५ को संसदीय दलले सरकारले ल्याएको राजधानी र नामाकरणसम्बन्धी प्रस्ताव पास गराउन प्रदेशसभाका सदस्यलाई निर्देशन दिएको छ ।आज बसेको बैठकमा मुख्यमन्त्री शङ्कर पोखरेलले पार्टीको प्रदेश इन्चार्जको हैसियतले प्रदेशसभाका सदस्यलाई सरकारले ल्याएको प्रस्ताव पास गराउनका लागि लाग्न निर्देशन दिनुभएको नेकपाका मुख्य सचेतक भूमिश्वर ढकालले जानकारी दिनुभयो ।बैठकले दाङ देउखुरीलाई प्रशासनिक राजधानी बनाउने र लुम्बिनी क्षेत्रलाई आर्थिक र पर्यटकीय राजधानी बनाउने गरी प्रदेश सरकारले कार्यक्रम ल्याउने निर्णय पनि गरेको छ ।

यही असोज १६ गते शुक्रबार प्रदेश सरकारका तर्फबाट स्थायी राजधानी दाङको देउखुरी उपत्यका र नाम लुम्बिनी राख्ने गरी प्रदेशसभामा प्रस्ताव पेश भएको थियो । संसदीय दलको बैठक सकिएपछि अबको केहीबेरमा प्रदेशसभा बैठक शुरु हुनेछ ।यसैगरी प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसको नेकपासँग भएको छलफलमा सहमति नजुटेपछि प्रमुख प्रतिपक्षी दल काँग्रेसले संसद् बैठक अवरुद्ध गर्ने भएको छ । आज संसद् भवन परिसरमै बसेको काँग्रेस दलको बैठकले आजको प्रदेशसभा बैठक अवरुद्ध गर्ने निर्णय गरेको काँग्रेस सचेतक निर्मला क्षेत्रीले जानकारी दिनुभयो । बैठक शुरु हुनासाथ रोष्टम घेराउ गर्ने र दलका नेताले बोलेपछि बैठक स्थगित गर्न दबाब दिने सचेतक क्षेत्रीले बताउनुभयो ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology