• Tuesday 28th of July 2026

९२ सुत्केरीले लिए एम्बुलेन्स सेवा


  • गोकर्णेश्वर अनलाइन

कैलालीको टीकापुर नगरपालिकाले सञ्चालन गरेको ‘होम टु हस्पिटल’ कार्यक्रमबाट ९२ सुत्केरीले सेवा लिएका छन् । होम टु हस्पिटल अर्थात् घरदेखि अस्पतालसम्म कार्यक्रमबाट निःशुल्क एम्बुलेन्स सेवा पाएपछि सुत्केरलाई सहज भएको छ ।

विसं २०७५ माघ १७ गतेदेखि शुरु भएको होम टु हस्पिटल कार्यक्रमबाट अहिलेसम्म ९२ महिलाले सेवा लिएको नगरपालिकासँग तथ्याङ्क छ । नगरपालिकामा गर्भवतीलाई सुत्केरी हुन अस्पताल आउन सजिलो होस् भन्नका लागि नगरपालिकाले होम टु हस्पिटल कार्यक्रम सञ्चालन गरेको हो । यस कार्यक्रमअन्र्तगत व्यथा लागेका गर्भवतीलाई घरदेखि अस्पतालसम्म निःशुल्करुपमा पु-याउने गरिन्छ । यसले गर्भवतीलाई सजिलो भएको वडा नं २ विकासपुरकी चन्द्रा बुढाले बताउनुभयो ।

“मलाई सुत्केरी व्यथाले च्याप्यो, नगरपालिकाले किनिदिएको एम्बुलेन्सले निःशुल्क बोक्छ भन्ने सुनेकी थिएँ”, चन्द्राले भन्नुभयो, “फोन गरेपछि एम्बुलेन्सले निःशुल्क अस्पतालसम्म पुगाइदियो, सजिलो भयो, रकम पनि खर्च भएन ।” एम्बुलेन्स सेवा लिन पाएकामा स्थानीयवासी सरु कडायत पनि खुशी हुनुहुन्छ । कडायतले पनि स्वयंसेविकाले दिएको एम्बुलेन्समा फोन गर्नुभयो, फोन गर्नेबित्तिकै एम्बुलेन्सले अस्पताल पु-यायो ।

“यस्तो महामारीमा अन्य सवारी चढेर अस्पताल जान पनि जोखिम थियो, एम्बुलेन्स चढेर छिट्टै अस्पताल पुगियो”, कडायतले भन्नुभयो, “सुत्केरीपछि आवश्यक रगत पनि निःशुल्क पाइने रहेछ, यसअघि एक पिन्ट रगतको नेपाल रेडक्रस सोसाइटीले रु ८०० शुल्क लिने गरेको थियो ।”

होम टु हस्पिटल अर्थात् घरदेखि अस्पताल कार्यक्रम शुरु भएका कारण टीकापुरमा कुनै पनि सुत्केरीले ज्यान गुमाउन नपरेको नगरपालिकाले जनाएको छ । नगरपालिका स्वास्थ्य शाखा संयोजक वलबहादुर रावलले बाल तथा मातृ मृत्युदर शुन्यमा ल्याउने उद्देश्यले नगरपालिकाले यो कार्यक्रम सञ्चालन गरेको बताउनुभयो । “निःशुल्क एम्बुलेन्ससँगै निःशुल्क रक्तदान, स्त्रीरोग विशेषज्ञ सेवा, बालरोग विशेषज्ञको सेवासमेत दिन थालिएको छ”, रावलले भन्नुभयो, “यी सबै कार्यक्रम आमा र बच्चाको स्वास्थ्यसँग जोडिएका छन् ।”

नौ वडा रहेको सो नगरपालिकामा ९८ हजार ६५१ जनसङ्ख्या छ । एउटा एम्बुलेन्समार्फत सबै वडाका गर्भवतीलाई सेवा दिइएको छ । नेपाल रेडक्रस सोसाइटी टीकापुर शाखाका लागि नगरपालिकाले एम्बुलेन्स खरिद गरेपछि रेडक्रसले ‘घरदेखि अस्पताल’ कार्यक्रमको व्यवस्थापनमा सघाइरहेको नेपाल रेडक्रस सोसाइटी टीकापुर शाखाका सभापति जगदिश्वर पण्डितले बताउनुभयो ।

“गर्भवती महिला लक्षित यो कार्यक्रमको सिको अन्य पालिकाले पनि गर्न थालेका छन्”, सभापति पण्डितले भन्नुभयो, “नगरपालिकाका विभिन्न ठाउँबाट गर्भवतीलाई टीकापुर अस्पतालमा ल्याएबापत एम्बुलेन्सलाई नगरपालिकाले आठ लिटर इन्धन दिने गरेको छ, एम्बुलेन्स मर्मत, व्यवस्थापन तथा चालकको पारिश्रमिकको व्यवस्था रेडक्रसले गर्दै आएको छ ।”

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology