• Monday 27th of July 2026

अख्तियारले रोक्का राखेको जग्गा फुकुवा गराउँदै बिकास समिति


  • गोकर्णेश्वर अनलाइन

कैलालीको टीकापुर नगर बिकास समितिले अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रोक्का गरेको जग्गा फुकुवाका लागि प्रक्रिया अगाडि बढाएको छ । आयोगले रोक्का राखेको १६२ कित्ता जग्गा फुकुवाका लागि अध्यन तथा छानबिन उपसमिति गठन गरेर फुकुवाको प्रक्रिया अगाडि बढाइएको हो । टीकापुर नगरपालिकाका प्रमुख तथा टीकापुर नगर बिकास समिति अध्यक्ष तपेन्द्रबहादुर रावलको अध्यक्षतामा गत असार १ गते बसेको बोर्ड बैठकले रोक्का जग्गा फुकुवाको प्रक्रिया अगाडि बढाउन बोर्ड सदस्य मोहनसिंह बिकको संयोजकत्वमामा चार सदस्यीय उपसमिति गठन गरेको थियो । उपसमितिले रोक्का भएको ती जग्गाको अध्यन तथा छानबिन गरेर प्रतिबेदन बोर्ड समितिलाई उपलब्ध गराउन एक महिनाको समय पाएकामा कोरोनाका कारण भएको बन्दाबन्दीले छानबिनको काम पूरा हुन नसक्दा साउन ११ गते बसेको बोर्ड बैठकले पुनः एक महिना समय थप गर्दै भाद्र मसान्तसम्म प्रतिबेदन बुझाउन भनेको थियो ।
संयोजक बिकले उपसमितिले प्रतिबेदन तयार पारिसकेको तर बोर्ड बैठक बस्न नसकेकोले प्रतिबेदन हस्तान्तरण गर्न नसकेको बताउनुभयो । उहाँका अनुसार सो प्रतिबेदनलाई बोर्ड बैठकले अध्यन गरेर संघीय मन्त्रालयमार्फत रोक्का जग्गा फुकुवाको लागि आयोग समक्ष आग्रह गरिने छ । “रोक्का भएको जग्गाको सम्बन्धित जग्गा धनीसँग हामीले निवेदन मागेका थियौ तर सबै जग्गाको निवेदन भने आएको छैन ।” संयोजक बिकले भन्नुभयो ।
उपसमिति सदस्य एवं बिकास समितिका प्राबिधिक नेत्र रावलले भन्नुभयो, “सबै जग्गाको निवेदन आएको भए छानबिन गर्न सजिलो हुने थियो । निवेदन पनि निकै कम आयो ।” मालपोत कार्यालयका प्रमुख एबं उपसमिति सदस्य दलबहादुर चन्दले रोक्का भएको जग्गा फुकुवाका लागि आफूहरुले केही गर्न नसक्ने भएकाले कानूनसम्मत रहेर सल्लाह दिने काम भने गरिएको बताउनुभयो ।
वि.सं २०६६ देखि २०६८ सालसम्म टीकापुर बिकास समितिको अध्यक्ष रहनुभएका नेत्रप्रसाद जैसीको नेतृत्वमा बिक्री भएका १६२ कित्ता जग्गा बिक्री गर्दा अनियमितता भएको भन्दै आयोगले सबै कित्ता रोक्का गराएको थियो । जग्गा खरिद गरेका जग्गाधनीले अख्तियारमा परेको उजुरीका आधारमा जग्गा रोक्का हुदा कारोबार गर्न समस्या भएको बताएका छन् ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology