• Monday 27th of July 2026

कर उठाउने नगरले उठाउँदैन फोहर


  • गोकर्णेश्वर अनलाइन

ताप्लेजुङको फुङ्लिङ नगरपालिका–४ तोक्मेडाँडा हटियामा नगरपालिकाले फोहर उठाउन छाडेपछि दिनदिनै बजार दुर्गन्धित बन्दै गएको छ ।

ताप्लेजुङको सदरमुकाम फुङलिङबजारको तोक्मेडाँडामा विगतदेखि नै मङ्गलबार र शनिबार गरी हप्ताको दुई दिन हटिया बजार लाग्दै आएको छ ।

स्थानीय कृषकले उत्पादन गरेको सागसब्जी, भटमासबाट तयार पारिएको किनिमा, स्थानीय दिदीबहिनीले बनाएको जाँडरक्सीका लागि मर्चा साथै स्थानीय उद्यमीहरुको आफ्नो उत्पादन बिक्री गर्ने केन्द्र विन्दु हो, हटिया बजार । यहाँ जिल्लाका साना तथा घरेलु उद्योगदेखि गाउँघरका उत्पादन, वनजङ्गलमा पाइने निगुरो, याङबेङ जस्ता अग्र्यानिक वस्तु खरिद बिक्री हुने गर्दछ । गाउँगाउँ उत्पादन गरेको सागसब्जी बिक्री गर्ने प्रमुख थलो हो, हटिया बजार । तर त्यहाँ फोहोर मैला थुपारिएको दृश्य जो कोहीले सजिलै हेर्न सकिन्छ । फोहरमा बसेर व्यापार व्यवसाय गर्ने नियती बन्दै गएको स्थानीयवासी सुकमाया राईले बताउनुभयो ।

नगरपालिकाले सुनदेखि नुनसम्मको कर उठाउने गरेको भए पनि त्यहाँको फोहोर उठाउने गरेको छैन । कर तिरेपछि फोहर मैलामा बसेर आफ्नो उत्पादन गरेको सागसब्जी बिक्री गर्नुपर्दा आफँैले नमज्जा लागेको अर्का किसान निर्मला राईको भनाइ छ । क्रेता तथा बिक्रेता भेट हुने प्रमुख केन्द्र हटिया भएकाले यहाँको फोहोर उठाउन सरोकारवालाले ध्यान दिनुपर्ने हटियामा किनमेल गर्नआएका तेज भट्टराई बताउनुभयो ।

बजारबाट निस्किएको फोहर मैलालाई कुहिने र नकुहिने गरी वर्गीकरण गरेर ठाउँ—ठाउँमा डस्टबिन राख्नुपर्ने माग स्थानीवासीको छ । बजारमा फोहर मैला त हुने नै भो तर नगरले प्रत्येक बिक्रेताबाट रु १० देखि एक सयसम्म बहाल विटौडी कर उठाउँदै आएकाले यहाँको फोहर मैला व्यवस्थापनमा पनि ध्यान दिनुपर्ने ज्ञानेद्र पौडेलको भनाइ छ ।

फुङलिङ नगरपालिकाले आर्थिक वर्ष २०७६÷७७ मा रु पाँच लाख ५१ हजार तथा चालु आर्थिक वर्षमा रु दुई लाख ५१ हजारमा राजकुमार तामाङलाई हटियाको ठेक्का दिएको छ । हटिया बजारमा मात्र होइन फुङलिङ बजारमै पनि फोहर मैला व्यवस्थापन हुन सकेको छैन । तोक्मेडाँडा बसपार्कदेखि लिएर विभिन्न चोकमा साथै ढलहरुमा फोहर मैला भरिएको छ । फुङलिङ नगरपालिकाभित्र डस्टबिन राखेको छैन । फुङलिङ नगरपालिकामा फोहर मैला व्यस्थापन गर्नका लागि आव २०७६÷७७ मा कुमार लिम्बूले रु १७ लाखमा ठेक्का लिएको थियो । कोरोनाका महामारीका कारणले गर्दा फोहर मैला व्यवस्थापनमा समस्या आएपछि चार महिनाको रु पाँच लाख ६६ हजार ३३४ छुट नगरपालिकाले दिएको थियो ।

रु पाँच लाख ६६ हजार ८३३ यस अगाडि नै नगरपालिकामा ठेकेदर लिम्बूले भुक्तानी गरिसकेको छ, भने रु पाँच लाख ६६ हजार ८३३ नगरपालिकामा भुक्तानी गर्न बाँकी रहेको फुङलिङ गरपालिकाका सूचना अधिकारी भुपाल सेन्दाङले जानकारी दिनुभयो । यस आर्थिक वर्षको फोहर मैला व्यवस्थापनका लागि चार पटक ठेक्का आह्वान गर्दा पनि कुनै ठेक्का नपरेको सूचना अधिकारी सेन्दाङले बताउनुभयो । यस आवमा ठेक्का नलागेपछि नगरपालिकाले अहिलेसम्म व्यवस्थापन गर्दै आएको र नगरवासीसँग कुनै शुल्क पनि अहिलेसम्म नलिएको सूचना अधिकारी सेन्दाङले बताउनुभयो ।

हटिया बजारमा भएको सार्वजनिक शौचालयदेखि त्यहाँको सरसफाइ गर्न एकजना कर्मचारी नै राखेर फोहरमैला व्यवस्थापन भइरहेको फुङलिङ नगरपालिकाका प्रमुख छत्रपति प्यकुरेलले बताउनुभयो ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology