• Monday 27th of July 2026

कुटपिट गरी युवकको हत्या, तीन पक्राउ


  • गोकर्णेश्वर अनलाइन

कैलालीको जानकी गाउँपालिका ५–मा कुटपिट गरी युवकको हत्या भएको छ । बिहीबार राति युवाहरुको आक्रमणमा परी लम्कीचुहा नगरपालिका–३ का २२ वर्षीय भरत तिमल्सिनाको हत्या भएको प्रहरीले जनाएको छ ।

इलाका प्रहरी कार्यालय टीकापुरका प्रमुख, प्रहरी नायब उपरीक्षक मधुसुदन न्यौपानेले राति साढे १० बजेको समयमा जानकी–५ मा युवा समूहको आक्रमणमा परी गम्भीर घाइते भएका तिमल्सिनालाई उपचारका लागि नेपालगञ्ज लगिएकोमा अस्पताल पुर्याउने बित्तिकै चिकित्सकले मृत घोषणा गरेका बताउनुभयो ।

तिमल्सिनाको हत्या गरेको आरोपमा तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरी नायब उपरीक्षक न्यौपानेले अनुसन्धानका लागि स्थानीय मानबहादुर चैधरी, केशव टमटा र समर चौधरीलाई पक्राउ गरिएको जानकारी दिनुभयो । घटना भएको ठाउँ जानकी गाउँपालिका र लम्कीचुहा नगरपालिकाको सीमानामा पर्दछ ।

प्रहरीले भेट्टायो लाख रुपैयाँको झोला

इलाका प्रहरी कार्यालय टीकापुरका प्रहरीले भेटाएको करिब रु एक लाख नगद, मोबाइल र गहना सम्बन्धित व्यक्तिलाई बुझाइएको छ । बिहीबार दिउँसो साढे ४ बजेको समयमा टीकापुर–लम्की सडकखण्डमा ड्युटीमा खटिएका प्रहरी हवल्दार नरबहादुर ठगुन्नाले सडक किनारमा रातो ढाकाको लेडिज ब्याग फेला पार्नुभएको हो ।

फेला परेको झोलाभित्र रु ९९ हजार ६४० नगद, मोबाइल, एक जोर पाउजु र एटीएम कार्ड रहेको थियो । झोला टीकापुर नगरपालिका–१ ब्लक नं १९ का मञ्जु कुँवरको रहेको र उहाँलाई बोलाई जिम्मा लगाएको इलाका प्रहरी कार्यालय टीकापुरका प्रहरी निरीक्षक अरुण बमले जानकारी दिनुभयो ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology