• Tuesday 28th of July 2026

झापामा सशुल्क कोरोना परीक्षण गराउने बढ्दै


  • गोकर्णेश्वर अनलाइन

कोभिड–१९ को सङ्क्रमणको जोखिम बढेसँगै जिल्लामा सशुल्क कोरोना परीक्षण गराउने बढेका छन् । मेची प्रादेशिक अस्पतालले सञ्चालन गरेका दुई वटा पीसीआर प्रयोगशालामा सशुल्क कोरोना परीक्षण गराउने बढेका हुन् । अस्पतालमै रहेको पीसीआर प्रयोगशालाले एक महिना अघिदेखि नै सशुल्क परीक्षण गराउँदै आएको थियो भने कनकाईको प्रयोगशालाले गत कात्तिक ७ गतेदेखि सशुल्क परीक्षण शुरु गरेको हो ।

दुवै प्रयोगशालामा गरी हालसम्ममा एक हजार ४२५ बढीले सशुल्क सेवा लिएका छन् । अस्पतालमै रहेको प्रयोगशालामा एक हजार बढी र कनकाई पीसीआर प्रयोगशालामा ४२५ बढीले सेवा लिइसकेका छन् । “गरीब, असहाय, आइसोलेनमा रहेका, स्वास्थ्यकर्मी, प्रहरीलगायत फ्रन्ट लाइनमा काम गर्नेहरुको सरकारले निःशुल्क परीक्षण गरिरहेको छ”, मेची प्रादेशिक अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. पिताम्बर ठाकुरले भन्नुभयो, “निजी कामका लागि काठमाडौंलगायत अन्य ठाउँमा जाने, छिमेकीलाई कोरोना भएको कारण शंका लागेर आउनेले सशुल्क परीक्षण गर्नुहुन्छु ।”

उहाँले मेचीमा दैनिक ३० देखि ४० जनाले सशुल्क सेवा लिँदै आएको बताउनुभयो । पछिल्लो समय अस्पतालमा रहेको प्रयोगशालामा भन्दा बढी कनकाई पीसीआर प्रयोगशालामा सशुल्क सेवा लिने बढी आउन थालेका छन् । कनकाई पीआर प्रयोगशालाका स्वास्थ्यकर्मी इन्द्रहरि भट्टराईका अनुसार दैनिक ५० देखि ६० जनाले सशुल्क सेवा लिइरहेका छन् । “रिर्पोट चाँडो चाहिएका र सिकिस्त विरामी आउँछन्”, उहाँले भन्नुभयो, “निःशुल्क गर्दा रिर्पोट ढिलो हुन्छ सशुल्क गर्दा चाडै आउँछ । त्यही भएर सशुल्क गर्नेको संख्या बढ्न थालेको छ ।” स्वाब परीक्षण गरेको १२ घण्टा भित्रमा सशुल्क गराउनेको रिर्पोट दिइने गरेको उहाँले बताउनुभयो ।

उहाँले किट, केमिकल र रिएजेन्टको समस्या हुँदा निःशुल्क परीक्षण गराउनेको रिर्पोट ढिलो हुने गरेको बताउनुभयो । कनकाई कोभिड नियन्त्रण एवम् व्यवस्थापन समितिका सदस्य सचिव लक्ष्मी अधिकारीले विर्तामोड, शिवसतासी, अर्जुनधारा नगरपालिका र झापा गाउँपालिकाबाट यस प्रयोगशालामा परीक्षण गर्ने बढी आउने गरेको बताउनुभयो । उहाँका अनुसार कनकाई पीसीआर प्रयोगशालामा सशुल्क सेवा लिनबाट हालसम्ममा रु आठ लाख ५० हजार सङ्कलन भइसकेको छ । सो रकमबाट नै आवश्यक किट, केमिकललगायत सामाग्री खरिद गर्ने गरिएको उहाँले जानकारी दिनुभयो ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology