• Wednesday 29th of July 2026

‘कोरोना सङ्क्रमितलाई विभेद नगरौँ ’


  • गोकर्णेश्वर अनलाइन

कोरोना सङ्क्रमणले यहाँ एकखालको विभेद निम्त्याएको छ ।कोरोना भाइरस सङ्क्रमण पुष्टि भएपछि बिरामीले सामाजिक विभेदको शिकार बन्नुपरेको घटना बाहिरिन थालेका छन् । स्वास्थ्य सतर्कता र भौतिक दूरी कायम गर्ने नाउँमा सङ्क्रमितलाई एक्लोपन महसुस गराउने तथा सामाजिकरूप मै बहिस्कृत गर्ने खालका व्यवहारसमेत भोग्नुपरेको कोरोना जितेकाको दुखेसो छ ।

महेन्द्रनगरस्थित पाण्डेय किराना पसलका सञ्चालक हरिप्रसाद पाण्डेय करिब डेढ महिनाअघि कोरोना सङ्क्रमित हुनुभयो । व्यापारमा खटिरहने उहाँलाई लक्षणबिनाको कोरोना पुष्टि भएको थियो । उहाँ रोग निको भएको डेढ महिना बितिसक्दा पनि व्यापार पुरानो अवस्था फर्किन नसकेको अनुभव सुनाउनुहुन्छ ।

“चार दिन अस्पताल बसाइपछि १४ दिन होमआइशोलेसन बसेर कोरोना जितियो”, उहाँले भन्नुभयो, “निको भएर आउँदा मानिस बोल्नै डराउने, समाजमा के–के न बिगारेको जस्तो व्यवहार पाएँ ।” दाजुभाइ नै किराना व्यापारमा लागेका उनीहरुले सङ्क्रमण देखिएको दुई दिन पसल नै बन्द गर्नुपरेको बताउँछन् ।

“ दाइलाई कोरोना नेगेटिभ देखिएपछि मात्रै ग्राहकहरु आउन थाले”, पाण्डेयले भन्नुभयो, “त्यो बेला झण्डै ९५ प्रतिशत ग्राहक पसलमा आउनै छाडेका थिए ।” उहाँले आफूलाई सङ्क्रमण हुँदा व्यापारमा समेत नोक्सानी व्यहोर्नुपरेको बताउनुभयो । “कोरोना उच्च मनोबलले जितिन्छ त भनेँ तर यहाँ ढाडसभन्दा तिस्कृतजस्तो अनुभव भयो”, उहाँले भन्नुभयो, “अहिले भने विभेद मत्थर हुँदै गएको छ ।”

सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयका कोभिड–१९ सम्र्पक व्यक्ति हेमराज जोशीले सङ्क्रमितलाई विभेद र दुव्यर्वहार समाजमा भइरहेको गुनासो आउने गरेको बताउनुभयो । “सङ्क्रमित हुँदा तिनका परिवारले नियमितरूपमा खरिद गर्ने गरेको दूधसमेत नपाएका घटना पनि सुनिए ।” जोशीले भन्नुभयो, “कोभिडको शुरुआतदेखि नै विभेद शुरु भएको थियो ।”

उहाँले निर्देशनालयका लिखित उजुरी नआएपछि गुनासाहरु आउने गरेको बताउनुभयो । “सङ्क्रमण पुष्टि भएपछि स्वयं स्वास्थ्यकर्मीले पनि विभेद सामना गर्नुपरेका धेरै घटना छन्”, उहाँले भन्नुभयो, “सामाजिक दूरी कायम गर्ने कुरो छुट्टै हो, तर विभेद गर्नु राम्रो होइन ।”

सुदूरपश्चिममा १० हजारभन्दा बढी सङ्क्रमित रहे पनि आठ हजार निको भएर घर फर्किसकेको निर्देशनालयले जनाएको छ । त्यसैगरी महेन्द्रनगरका पत्रकार सुरेश धामी कोरोना सङ्क्रमणबारे समाजमा अझै सचेतनाका कार्यक्रम लागू पर्नुपर्ने बताउनुहुन्छ ।

कोरोना सङ्क्रमण पुष्टि भएपछि १८ दिन धनगढीस्थित कोरोना अस्पताल बसेर निको भएर फर्किएका उहाँले सङ्क्रमण निको भइसकेपछि पनि एकखालको त्रास रहेको जानकारी दिनुभयो । “सङ्क्रमण निको भइसकेको व्यक्तिसित दूरी कायम गर्ने कुराबारे पनि स्पष्ट जानकारी भएन”, उहाँले भन्नुभयो, “कोरोनाका बारेमा गलत अपवाह फैलाउनु ठिक होइन ।”

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology