• Saturday 25th of July 2026

भारतसँगको संवादको स्थिति ट्रयाकमा फर्केको छ– डा भट्टराई


  • गोकर्णेश्वर अनलाइन

प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार डा राजन भट्टराईले नेपाल र भारतबीचको संवाद पूूर्वस्थितिमै फर्केको बताउनुुभएको छ । रिपोटर्स क्लब नेपालद्वारा आज यहाँ आयोजित साक्षात्कारमा उहाँले भन्नुुभयो, “भारतसँगको सम्बन्ध र संवादको स्थिति ट्रयाकमा फर्केको छ ।” दुवै देशबीच माथिल्लो तहमा एकीकृतरुपमा छलफल गर्न परराष्ट्र मन्त्रीस्तरको संयुक्त समितिको आगामी डिसेम्बरमा हुने बैठकपछि एउटा ‘कोर्स’ लिने डा सल्लाहकारको भनाइ थियो ।

कालापानीको विषयपछि नेपाल–भारतबीचको सम्बन्धमा चिसोपना आएको हो कि भन्ने आशङ्कालाई दुवै देशका प्रधानमन्त्रीबीच अगस्त १५ मा भएको टेलिफोन संवाद र पछिल्ला तीन तहका भ्रमणले सम्बन्ध सुधारमा महत्वपूर्ण योगदान गरेको उहाँले उल्लेख गर्नुभयो । लिम्पियाधुरा, लिपुलेक र कालापानी ऐतिहासिक तथ्य र प्रमाणका आधारमा भारतको हो भन्ने पुष्टि गर्दैन भन्दै डा भट्टराईले भन्नुभयो, “विदेश सचिवको भ्रमणले त्योभन्दा माथिल्लो तहको छलफल र भ्रमणका लागि बाटो खुुलेको छ ।”

चीनसँग पनि केही समय पहिले ऐतिहासिक र दुरगामी महत्वका यातायात र पारवहन सन्धि भएको उल्लेख गर्दै उहाँले सीमानाका र बाटालाई व्यवस्थित गर्दै सम्बन्ध विस्तार गरी अघि बढाउनपर्ने आवश्यकता औँल्याउनुभयो । छिमेकीले गरिरहेको आर्थिक समृद्धि र विकासबाट फाइदा लिँदै विकास र संरचनामा सहभागी भएर कतै पनि नढल्किएर हाम्रो विकासलाई अघि बढ्नुपर्छ भन्ने वर्तमान सरकारको नीति रहेको सल्लाहकार भट्टराईले स्पष्ट पार्नुभयो ।

उहाँले भन्नुभयो, “विशेषगरी सैन्य र राजनीतिक किसिमको संलग्नता कुनै पनि मुलुकसँग कतै पनि हुुन सक्दैन, हामी तटस्त र असंलग्न हौँ । भूराजनीतिक स्थिति नै त्यस्तो छ, हामी यता र उता ढल्कने अवस्था छैन । छिमेकीसँग राम्रो र विश्वासको सम्बन्ध बनाएर जनता र राष्ट्रको हितमा सहकार्य र संवाद गर्न चाहन्छौँ ।”

एक प्रश्नको जवाफमा डा भट्टराईले पार्टीभित्र देखिएको विवाद सचिवालय, स्थायी समिति, केन्द्रीय कमिटी हँुदै महाधिवेशनबाट छिनोफानो हुने बताउनुभयो । उहाँले भन्नुभयो, “कमिटीगत हिसाबबाट अहिलेको निकास खोज्नुपर्छ, दायाँबायाँ लाग्ने भनेको विग्रहको बाटो हो, विग्रहको बाटोमा जाने छुट पार्टीका कुनै नेता र कार्यकर्तालाई छैन । पार्टी अध्यक्ष प्रचण्डले प्रस्ताव फिर्ता लिनुपर्छ । त्यो नै समस्या समाधानको उपाय हो ।”

नेपाली काँग्रेसका नेता एवं पूर्व रक्षामन्त्री भीमसेनदास प्रधानले कालापानीका विषयमा प्रधानमन्त्रीले संसद्मा दिएको अभिव्यक्तिले नेपालीको गौरव बढाए तापनि कुटनीतिमा कमजोरी भएकाले नेपाल–भारत सम्बन्धमा चिसोपन आएको आरोप लगाउनुभयो । उहाँले भन्नुभयो, “चीन र भारतबीच नेपाल ‘नेचुरल बोडर’का रुपमा रहेको छ, दुवै देशलाई विश्वासमा लिएर अघि बढ्ने नीतिले मात्र हाम्रो हित गर्छ ।” इतिहासको एउटा पात्रका रुपमा मात्र रहेको राजसंस्था पुनःस्थापना हुने कुनै सम्भावना नरहेको बताउँदै नेता प्रधानले भन्नुभयो, “धमिलो पानीमा माछा मार्न खोज्नुको साटो कसैलाई इच्छा लाग्छ भने पार्टी खोलेर सडकमा आए हुन्छ ।”

नागरिक समाजका डा सुन्दरमणि दीक्षितले छिमेकी दुवै मुलुकलाई नजिक र टाढाको दृष्टिले नहेरी समान व्यवहार गर्नु नै नेपालको हितमा हुने धारणा राख्नुभयो । उहाँले भन्नुभयो, “नेकपाभित्र देखिएको झगडाले नेपाली जनताको मन कुँडिएको छ, दुवै अध्यक्षको प्रतिवेदनमा एक अर्काप्रति आरोपप्रत्यारोप गर्नुबाहेक जनता र राष्ट्रको हितमा कुनै ठोस कुरा बोलिएको देखिन्न यो हाम्रो दुर्भाग्य हो ।”

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology