• Monday 27th of July 2026

बलात्कार र ठगीका अभियुक्तलाई १० वर्ष कैद


  • गोकर्णेश्वर अनलाइन

तीस वर्षीया महिलालाई ठगी र बलात्कार गरेको आरोपमा सप्तरीका एक जनालाई आज १० वर्ष कैद सजाय भएको छ । जिल्ला न्यायाधीश रीताकुमारी बख्रेलको इजलाशले छिन्नमस्ता गाउँपालिका–६ लोखरमका ४० वर्षीय मनोजकुमार मेहतालाई १० वर्ष कैद सजायको फैसला भएकोे सप्तरी जिल्ला अदालतले जनाएको छ ।

अभियुक्तलाई जबर्जस्ती करणीमा सात वर्ष कैद र रु ३० हजार क्षतिपूर्ति भराउने फैसला भएको अदालतका सूचना अधिकारी हेमबहादुर बुढाथोकीले बताउनुभयो । यसैगरी ठगीमा तीन वर्ष कैद र रु ३० हजार जरिवाना तिराउने फैसला भएको छ । पीडितले दाबी गरेकोमध्ये ठहर भएको रु एक लाख ९५ हजार बिगो भराई पाउनेसमेत फैसला भएको बुढाथोकीले जानकारी दिनुभयो ।

अभियुक्तले विसं २०७५ असोज १९ गते बलात्कार गरेको भन्दै पीडितले २०७५ मङ्सिर १४ गते जिल्ला प्रहरी कार्यालय सप्तरीमा उजुरी दिनुभएको थियो । ठगी तथा बलात्कारको आरोपमा आरोपितलाई पक्राउ गरी ठगी तथा बलात्कारको छुट्टाछुट्टै उजुरीमा कारवाही अगाडि बढाइएको प्रहरीले जनाएको छ । उतिबेला अभियुक्त राजपा नेपाल सप्तरीका कोषाध्यक्ष थिए ।

अपहरण तथा शरीर बन्धक मुद्दामा पुर्पक्षका लागि राजविराज कारागारमा थुनामा रहेका पीडितका श्रीमान्लाई छुटाइ दिने प्रलोभन देखाई आरोपितले पटक–पटक ठगी गर्नुका साथै राजविराज नगरपालिका–४ स्थित अशोक लजमा लगेर बलात्कार गरेको पीडितको आरोप छ । पीडितका अनुसार थुनामा रहेका श्रीमान्लाई छुटाइदिने भन्दै अभियुक्तले २०७५ वैशाख ७ गते रु साढे एक लाख, असार २९ गते रु चार लाख, साउन १४ गते रु तीन लाख, भदौ २२ गते रु २० हजार र भदौ २९ गते रु एक लाख ७५ हजार गरी रु १० लाख ४५ हजार ठगी गरेका छन् । जिल्ला अदालतको आदेशमा २०७५ पुस १२ गतेदेखि आरोपित पुर्पक्षका लागि राजविराज कारागारमा थुनामा छन् ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology