• Thursday 30th of July 2026

जुकाको चुसाइ उपचार प्रभावकारी बन्दै


  • गोकर्णेश्वर अनलाइन

जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र तनहुँमा जुकाको चुसाइ (लिच थेरापी) माध्यमबाट समेत बिरामीको उपचार गर्न थालिएको छ ।

केन्द्रका प्रमुख डा रामप्रबोध मण्डल सरुवा भएर आएको केही समयपश्चात् उक्त पद्धतिबाट बिरामीको उपचार गर्न थालिएको हो । छाला, युरिक एसिड, टाउकाको रौँ झरेका, अनुहारमा डण्डीफोर आएका, पुराना दाद, पायल्सलगायत केही जटिल रोगका बिरामीको उपचार निको भइसकेको कार्यालयका वरिष्ठ कविराज निरीक्षक एवं सूचना अधिकारी बलभद्र वाग्लेले बताउनुभयो ।

आयुर्वेदमा ‘जलौकावचारण कर्म’ भनिने यो प्रक्रियाबाट तनहुँमा हालसम्म पाँचजनाको सफल उपचार भइसकेको उहाँले जानकारी दिनुभयो । जुकाले चुस्ने क्रममा निस्किने स्रावमा हिरुडिन नामक इन्जाइम छाड्छ र शरीरभित्रको दूषित रगत चुस्छ । छाला सम्बन्ध समस्या भएर औषधि सेवन गर्दा हैरान भएका नेपाल पत्रकार महासङ्घ तनहुँ शाखाका अध्यक्ष ओमकार आचार्यसमेत यस माध्यमबाट उपचार गर्न थाल्नुभएको छ ।

दिनमा एकपटक तीन दिन जुकालाई चुसाउँदा छालाको समस्यामा न्यूनीकरण हुँदै गएकाले निको हुनेमा आफूलाई विश्वास लागेको उहाँले बताउनुभयो । जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रका प्रमुख डा राम प्रबोध मण्डल गत वर्ष तनहुँमा सरुवा भएर आएको केही समयपछि भारतको मद्रासबाट पाँचवटा जुका रु तीन हजारका दरले किनेर ल्याउनुभएको हो ।

लिचीथेरापी विधि नेपालमाभन्दा पनि विदेशी मुलुकमा अझ बढी मात्रामा प्रयोग गर्ने गरेको उहाँले बताउनुभयो । उक्त पद्धतिबाट निको भएका रोग पुनः बल्झिने सम्भावना कम हुने हुँदा प्रभावकारी देखिएको छ । उपचार विधि प्रभावकारी बन्दै गएपनि यहाँको पानीमा बढी मात्रामा चुन मिसिएको पाइएकाले जुका मर्ने गरेकाले उपचारमा समस्या भएको उहाँले बताउनुभयो । “एउटा जुकाले बिरामीको समस्या भएको ठाउँबाट पाँचदेखि दश मिलिलिटर अशुद्ध रगत सेवन गराइन्छ”, उहाँले भन्नुभयो, “एकजना बिरामीलाई बढीमा सातपटकसम्म रगत चुस्न लगाइन्छ ।”

लिचथेरापीका माध्यमबाट एक्जिमा, सोराइसिस, एलोपेसिया (तालु खुइलिनु), हरपिज जोस्टर, भेरिकोज भेन्स, डाइबिटिज बन्ड (मधुमेहका घाउ), हाइपरटेन्सन थ्रम्बोसिस (ब्लड क्लाउट), सेल्युलाइटिस, सियाटिका, इम्फलामेट्रिक रियाक्सन, ब्लड प्युरिफिकेशनलगायत रोगको उपचार गर्न सकिन्छ ।

जुकाको ¥यालमा एक सयभन्दा बढी यस्ता तत्व हुन्छन् जसले रगतलाई शुद्ध र पातलो बनाउने काम गर्छ । जुकाले जमेको रगत निकालेर सामान्य रक्तसञ्चार हुनसमेत सहयोग पु¥याउँछ । उहाँले भन्नुभयो, “तन्तु र मासु कुहिन दिँदैन, जुकाले तन्तु प्रवद्र्धनका लागि थप सहयोग गर्छ ।”

गण्डकी प्रदेशस्तरीय एक कार्यक्रममा जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रमा लिचीथेरापी माध्यमबाट उपचार शुरु गरेकोबारे जानकारी गराउँदा आफूलाई सम्मान गरिएकाले थप हौसला मिलेको डा मण्डलले बताउनुभयो । उहाँका अनुसार जुकाले पहिलो टोकाइमा मात्र अशुद्ध रगत चुस्छ र शुद्ध रगतलाई छाड्छ । जुकाले रगत चुस्न थाल्दा बिरामीलाई केही अनौठो महसुस भए पनि दुख्न भने दुख्दैन । जुकाले अशुद्ध रगत चुस्दासम्म खासै अनुभव नभए पनि शुद्ध रगत चुस्न थालेपछि भने हल्का चिलाएको अनुभव हुन्छ, त्यसपछि जुकालाई हटाइन्छ ।

एक व्यक्तिमा प्रयोग गरिएको जुका अन्य व्यक्तिमा प्रयोग गर्न मिल्दैन । उहाँले भन्नुभयो, “नियमितरुपमा थेरापी गराउनुपर्ने व्यक्तिमा प्रयोग गरिएको जुकालाई पुनः उसकै लागि प्रयोग गर्ने गरी संरक्षित गरेर राख्नुपर्छ ।” एउटा जुकालाई बढीमा आधा घण्टासम्म चुस्न लगाइनेछ । बिरामीको अवस्था हेरी दुईदेखि माथि जुकाको प्रयोग गर्न सकिने डा मण्डलले बताउनुभयो ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology