• Thursday 30th of July 2026

भरतपुर अस्पतालमा विशिष्टीकृत बहिरङ्ग सेवा


  • गोकर्णेश्वर अनलाइन

राजधानीबाहिरका १९ जिल्लाका बिरामीको उपचार गर्ने थलो भरतपुर अस्पतालमा विशिष्टीकृत बहिरङ्ग सेवा सञ्चालन गरिने भएको छ । महत्वपूर्ण विभागमा रोगका सम्बन्धित विशेषज्ञबाट उपचार गर्ने गरी सेवा सञ्चालन गर्न लागिएको हो । अस्पतालमा डक्टर इन मेडिसिन (डिएम), सम्बन्धित विषयमा फेलोसिप, एमसिएचजस्ता विशिष्टीकृत अध्ययन र तालीम गरेका चिकित्सक भएर पनि सबै खालका बिरामी हेर्दै आएका छन् । अस्पतालले त्यस्ता बिरामीलाई सम्बन्धित चिकित्सकबाट उपचार गर्ने व्यवस्था मिलाउन लागेको हो । हाल सञ्चालनमा रहेका विभागभित्र पनि विशिष्टीकृत विभागहरु हुनेछन् ।

अस्पताल विकास समितिका अध्यक्ष डा भोजराज अधिकारीले भन्नुभयो, “अब भरतपुर अस्पतालमा मुटु, मिर्गाैलाजस्ता अङ्गहरुको उपचारसँग सम्बन्धित अध्ययन तथा तालीम लिएका विशेषज्ञ चिकित्सकले विशिष्टीकृत सेवा दिँदैछौँ ।” हाल अस्पतालमा त्यस्ता अध्ययन गरेका विशेषज्ञले सबै खालका बिरामी हेर्दै आएका छन् । जसका कारण अस्पतालमा आएर पनि सम्बन्धित विशेषज्ञ फेला नपारेपछि विशिष्टीकृत सेवाका लागि बिरामी निजी मेडिकल कलेजमा जाने गरेका छन् ।

भरतपुर अस्पतालमा डिएम, एमसिएच, फेलोसिपजस्ता विशिष्टीकृत अध्ययन र तालीम लिएका चिकित्सक भएर पनि सम्बन्धित विभागको अभावमा समग्र बिरामीलाई हेरिरहेको अवस्था छ । अधिकारीले आउँदो दुई महिनाभित्रमा विशिष्टीकृत सेवा दिनका लागि गुणस्तर सुधार उपसमिति गठन गरी काम अघि बढाएको बताउनुभयो । सरकारी अस्पतलामा काठमााडौँको वीर अस्पतालपछि विशिष्टीकृत बहिरङ्ग सेवा दिने भरतपुर अस्पताल पहिलो हुने उहाँले जानकारी दिनुभयो ।

अस्पताल विकास समितिका सदस्य केशव देवकोटाको संयोजकत्वमा पाँच सदस्यीय समिति गठन गरिएको छ । सो समितिले विशिष्टीकृत सेवाका अतिरिक्त अस्पतालको शुल्क परिमार्जनका लागि विकास समितिमा प्रतिवेदन पेश गर्नेछ । अधिकारीले भन्नुभयो, “लामो समयदेखि अस्पतालको सेवा शुल्क एकै भएकाले कतिपयमा बढाउनुपर्ने र कतिपयमा घटाउनुपर्ने देखिन्छ ।” समितिको प्रतिवेदनका आधारमा शुल्क समायोजन गरिने उहाँको भनाइ छ ।

अस्पतलाको कतिपय शुल्क निजीसरह छ भने कतिपय साह्रै न्यून छ । समितिका संयोजक देवकोटाले अस्पतलामा भइरहेको सेवाको गुणस्तर सुधारका लागि विस्तृत अध्ययन गरेर दुई हप्ताभित्र प्रतिवेदन पेश गर्ने बताउनुभयो । उहाँले विशिष्टीकृत बहिरङ्ग सेवा, शुल्क समायोजनसँगै अस्पतालको सेवाको गुणस्तर विकासका लागि महत्वपूर्ण हुने गरी प्रतिवेदन तयार गरिने जानकारी दिनुभयो । अस्पतालको सूक्ष्म अध्ययन गरेर गुणात्मक सुधारमा जोड दिन लागिएको छ । अस्पतालमा आएका बिरामीलाई पालो कुर्न, औषधि किन्दा सहजता दिलाउन, स्वास्थ्य बीमा सहज बनाउन समितिले काम गर्ने देवकोटाको भनाइ छ ।

अस्पतालका सूचना अधिकारी लीलाधर पौडेलका अनुसार यहाँबाट एक वर्षमा तीन लाखभन्दा बढी बिरामीले सेवा लिने गरेका छन् । जसमध्ये १५ हजारभन्दा बढी प्रसूतिका हुने गर्दछन् । ४० हजारभन्दा बढीले आकस्मिक सेवा लिने गरेको उहाँको भनाइ छ । राजधानीबाहिर पित्तथैलीको नलीभित्रको पत्थरीलाई मुखबाट पाइप हालेर निकाल्ने पद्धति इआरसिटी यहाँ मात्र हुने पौडेलले जानकारी दिनुभयो । भरतपुर अस्पताल प्रसूति र हाडजोर्नी नेपालमा नै उत्कृष्टमध्येको मानिन्छ । पौडेलले विशिष्टीकृत बहिरङ्ग सेवा शुरु भएसँगै धेरै बिरामी लाभान्वित हुने बताउनुभयो । अस्पतालमा हाल १३ वटा विभाग छन् ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology