• Thursday 30th of July 2026

कर्णाली खोप अभियानः सबै जिल्लामा शुरु


  • गोकर्णेश्वर अनलाइन

कर्णाली प्रदेशमा कोभिड–१९ विरुद्धको खोप अभियान उत्साहका साथ शुरु भएको छ । कर्णालीका हुम्ला र डोल्पाबाहेक सबै जिल्लामा निर्धारित समयमै निःशुल्क खोप अभियान शुरु गरिएको प्रदेश स्वास्थ्य सेवा निर्देशनालयले जनाएको छ ।

हिमाली जिल्ला हुम्ला र डोल्पामा हवाईमार्गबाट भ्याक्सिन ढुवानी गरिएको थियो । स्वास्थ्य सेवा निर्देशनालयका सूचना अधिकारी नोदनारायण चौधरीले ती जिल्लामा पनि आजैदेखि खोप अभियान थालिने बताउनुभयो । प्रदेशका बाँकी जिल्लामा स्थलमार्गबाट भ्याक्सिन ढुवानी गरिएको थियो ।

भारत सरकारले अनुदानमा उपलब्ध गराएको ‘कोभिसिल्ड’ नाम दिइएको यो खोप स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कर्णालीका लागि ११ हजार ७८० जनालाई पुग्ने पठाएको थियो । निर्देशनालयका निर्देशक डा रवीन खड्काले कर्णालीका १२ वटा अस्पताललाई केन्द्र बनाएर खोप लगाउन थालिएको बताउनुभयो । उहाँका अनुसार आठ वटा जिल्ला अस्पतालका साथै वीरेन्द्रनगरस्थित प्रदेश अस्पताल, मेहेलकुना अस्पताल सुर्खेत, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला, चौरजहारी सामुदायिक अस्पताल पश्चिम रुकुमलाई केन्द्र बनाएर कोरोनाविरुद्धको खोप लगाउन थालिएको छ ।

प्रदेश अस्पताल खोप केन्द्रमा आज सबैभन्दा पहिले स्वास्थ्य निर्देशक खड्का, प्रदेश अस्पताल सुर्खेतका निर्देशक डा डम्बर खड्का, कोरोना फोकल पर्सन डा नवराज केसीसहितका चिकित्सक तथा स्वास्थ्यकर्मीले खोप लगाउनु भएको थियो । सरकारले पहिलो चरणमा कोभिड–१९ विरुद्ध अग्रपङ्क्तिमा खटिने चिकित्सक तथा स्वास्थ्यकर्मी, एम्बुलेन्स चालक, सरसफाइकर्मी, सङ्क्रमितको शव व्यवस्थापनमा खटिने सुरक्षाकर्मी र महिला स्वास्थ्य स्वयंसेविकालाई खोप लगाउने व्यवस्था मिलाएको हो । कर्णालीका लागि करीब २४ हजार खोप आइपुगेको छ । पहिलो मात्रा लगाएको चार हप्तापछि अर्थात २८ दिनपछि दोस्रो मात्रा लगाउनुपर्नेछ ।

यसैबीच खोप अभियान शुभारम्भ कार्यक्रमलाई सम्बोधन गर्दै प्रदेश सरकारका आन्तरिक मामिला तथा कानूनमन्त्री नरेश भण्डारीले आम सर्वसाधारण खोपदेखि डराइरहेका बेला चिकित्सक तथा स्वास्थ्यकर्मीले उच्च मनोबलका साथ खोप लगाउनु सकारात्मक सन्देश प्रवाह हुने बताउनुभयो । उहाँले खोप अभियानमा पूर्ण सहयोग रहने बताउँदै प्रदेश सरकारले हरेक नागरिकलाई निःशुल्क खोपको व्यवस्था गर्न सङ्घीय सरकारसँग सहकार्य गर्ने प्रतिबद्धता जनाउनुभयो । खोप अभियान शुभारम्भ कार्यक्रममा प्रदेश सरकारका प्रमुख सचिव चन्द्रमान श्रेष्ठ, सामाजिक विकास मन्त्रालयका सचिव लोकनाथ पौड्याललगायतको उपस्थिति थियो ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology