• Monday 27th of July 2026

अपाङ्गता परिचयपत्र वितरण


  • गोकर्णेश्वर अनलाइन

हुम्लाको दक्षिण क्षेत्रमा रहेको अदानचुली गाउँपालिकाका फरक क्षमता तथा अपाङ्गता परिचयपत्र वितरण गर्न थालिएको छ । स्थानीय सरकार सञ्चालन भएको तीन वर्ष पूरा भए पनि अपाङ्गता परिचयपत्र वितरण समितिले पूर्णता नपाउनुका साथै विशेषज्ञा चिकित्सकको अभावमा परिचयपत्र वितरण कार्य रोकिएको थियो । यसअघि तत्कालीन गाविसले निर्धारण गरेको आधारमा गाउँपालिकाले भत्ता वितरण गर्दै आए पनि अब चिकित्सकले जाँच गरेको आधारमा वर्ग छुटाएर वितरण गरीने भएको छ ।

कोभिड–१९ विरुद्ध खोप सञ्चालनमा खोप लगाउन जिल्ला अस्पतालबाट तल्लो क्षेत्रमा रहेका तीन गाउँपालिकामा पुगेका चिकित्सक नवीन रोकायाको नेतृत्वको टोलीसँग गाउँपालिकाले समन्वय गरी गाउँपालिकाभरिका अपाङ्गता भएका व्यक्तिको जाँच गरी परिचयपत्र दिन थालिएको हो ।

श्रीनगर स्वास्थयचौकीमा वडा १ देखि ६ सम्मका नागरिकको परीक्षण गरेर गाउँपालिकाले क, ख, ग र घ वर्गको परिचयपत्र दिन थालेको अदानचुली गाउँपालिकाका निमित्त अध्यक्ष दत्त विष्टले जानकारी दिनुभयो । अपाङ्गता परिचयपत्र वितरणको लागि स्वास्थ्य परीक्षणका आधारमा ७६ जनालाई अपाङ्गता परिचयपत्र पाउने भएको गाउँपालिका निमित्त अध्यक्ष विष्टले जानकारी बताउनुभयो ।

डा. रोकायाको नेतृत्वमा अदानचुली पुगेको टोलीले बुधबार र बिहीबार श्रीनगर स्वास्थ्यचौकीमा २०० भन्दा धेरैको चेकजाँच गरेको भए पनि परिचयपत्र पाउने ७६ जना रहेको जिल्ला अस्पताल हुम्लाका सूचना अधिकारी भक्ति फडेराले जानकारी दिनुभयो । सूचना अधिकारी फडेराले भन्नुभयो, “दुई दिन परीक्षण गरिएकामध्ये वडा १ देखि ६ सम्मका छ जना क वर्गमा, १८ जना ख वर्गमा, १६ जना ग बर्गमा र ३६ जना घ वर्गको परिचयपत्र पाउने छन् ।”

परीक्षण गरिएकामध्ये २४ ले नेपाल सरकारले दिने अपाङ्गताको भत्ता पाउने परिचयपत्र पाउने भएका छन् भने बाँकी ५२ जले भत्ता नपाउने ग र घ वर्गको परिचयपत्र मात्र पाउँने भएका छन् । लौठी स्वास्थ्यचौकी बारीगाउँमा स्वास्थ्य परीक्षण भइरहेको छ । चिकीत्सकले जाँच गरेपश्चात् अपाङ्गता परिचयपत्र वितरण गर्ने आधार तय भएको गाउँपालिकाका कार्यवाहक अध्यक्ष विष्टले बताउनुभयो ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology