• Monday 27th of July 2026

प्रधानमन्त्रीलाई काम गर्न नदिइएपछि संसद् विघटन हुन्छ : प्रम ओली


  • गोकर्णेश्वर अनलाइन

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओलीले मुलुक ताजा जनादेशका लागि निर्वाचनमा होमिएको बताउनुभएको छ । नेकपा वाग्मती प्रदेश कमिटीले आज यहाँ आयोजना गरेको आमसभालाई सम्बोधन गर्दै उहाँले निर्वाचनले नै सबै विषयको फैसला गर्ने बताउनुभयो ।
उहाँले भन्नुभयो, “जनतालाई अहिले अस्थिरता होइन चुनाव चाहिएको छ । त्यसैले देश चुनावतर्फ गयो, गयो । अब चुनावले फैसला गर्छ कसको सरकार बन्नुपर्छ भनेर । ”
उहाँले संसदीय प्रणालीमा प्रधानमन्त्रीले काम.गर्न नपाएमा प्रतिनिधिसभा विघटन गर्न अधिकार हुने बताउनुभयो । “बेलायतमा लिखित संविधान छैन । प्रधानमन्त्रीले संसद् विघटन गर्ने कुरा लेखेको छैन तर अस्ति भर्खर संसद् विघटन गरेर चुनाव गराउनुभयो”, उहाँले भन्नुभयो, “यसरी प्रधानमन्त्रीलाई काम गर्न नदिइएपछि संसद् विघटन हुन्छ ।”
उहाँले सरकारलाई आफ्नै पार्टीका नेताबाट काम गर्न नदिइएकाले आफूले प्रतिनिधिसभा विघटन गरेर ताजा जनादेशमा जानु परेको स्पष्ट पार्नुभयो । “उहाँहरुले सरकार चलाउन दिनुभएन, लोकतन्त्र र संसद्लाई ठीक ढङ्गले चल्न दिनुभएन, संसद्लाई केही काम गर्न नदिने गरी पङ्गु बनाउन थाल्नुभयो”, प्रधानमन्त्रीले भन्नुभयो, “फेरि पहिलेको जस्तो किनबेचको राजनीति, पहिले जस्तो समीकरणको राजनीति, बहुमतको सरकार ढालेर जोडजामको राजनीति उहाँहरुले खोज्नुभयो । त्यसकारण मैले काम गर्न अवस्था नभएपछि नेपाली जनताका बीचमा ताजा जनादेशमा जानुपरेको हो ।” देशलाई समृद्ध र भ्रष्टाचारमुक्त बनाउन आफूले लिएको अभियान असफल पार्न विभिन्न षड्यन्त्र गरिएको बताउँदै उहाँले अरुबाट मिचिएको मुलुकको भूमि समेटी नक्शा छापेर संविधान संशोधन भएपछि आफूलाई सरकारबाट हटाउन खोजिएको आरोप लगाउनुभयो ।

अदालत र निर्वाचन आयोग स्वतन्त्र भएकाले तिनले विवेकसम्मत निर्णय गर्ने विश्वास व्यक्त गर्दै उहाँले ती निकायलाई नधम्काउन आग्रह गर्नुभयो । “निर्वाचन गर्दा देश सङ्कटमा पर्छ ? जनताले सरकार छान्दा, जनताले आफँै फैसला गर्दा, त्यो फैसलाअनुसार अगाडि बढ्दा देश संकटमा पर्छ ?”, उहाँले प्रश्न गर्दै भन्नुभयो, “केही मान्छेहरूले कुनामा बसी षड्यन्त्र गरेर अरुका लागि काम गर्दा देश सङ्कटमा पर्ने हो ।”
‘लोकतन्त्र कसैले खोस्न सक्दैन’
उहाँले अब नेपाली जनताको चेतनाको स्तर बढेकाले कसैले पनि लोकतन्त्र खोस्न नसक्ने बताउनुभयो । “कसैले कुनै हिसाबले लोकतन्त्रलाई केही गर्न सक्दैन । लोकतन्त्रको भविष्य सुदृढ र उज्ज्वल छ किनकि नेपाली जनता सचेत छन्”, उहाँले भन्नुभयो, “यहाँ कसैले पनि लोकतन्त्रलाई केही गर्छु भनेर नचिताए हुन्छ । लोकतन्त्रतर्फ कर्के आँखा नलगाए हुन्छ । प्रतिगमन नसोचे हुन्छ । यो देश अब अघि बढ्यो, बढ्यो ।” नेपाललाई समाजवादोन्मुख तथा सामाजिक न्यायसहितको समृद्धिको देश बनाउन कसैले रोक्न नसक्ने बताउँदै उहाँले निराश नभएर एकताबद्ध भई देश विकासमा लाग्यौँ भने कसैले पनि आफूहरुलाई रोक्न नसक्ने दृढता व्यक्त गर्नुभयो ।
अहिलेको सरकारले जनताका लागि जसरी काम गरेको छ, त्यसरी इतिहासमा कुनै सरकारले काम गरेको छैन भन्दै उहाँले कोभिड– १९ को कारणले पछाडि परेको पर्यटन र उद्योग क्षेत्र अब चाँडै उठ्ने बताउनुभयो । कोभिड १९ को रोकथाम र नियन्त्रणमा सरकारले प्रभावकारी काम गरेको बताउँदै प्रधानमन्त्रीले अहिले ८५ ठाउँबाट पिसिआर परीक्षण र यही माघ १४ गतेदेखि खोप दिन थालिएको जानकारी दिनुभयो ।

पार्टीभित्रकै कारणले आयोग बनेन
निर्वाचित सरकार भए पनि तीन वर्षसम्म पार्टीभित्रकै किचलोको कारणले संवैधानिक आयोगहरु पूर्ण नभएको उहाँले स्पष्ट गर्नुभयो । “तीन वर्षसम्म आयोग बनेन, दुई चार जना पार्टीबाट बाहिरिएपछि आयोग बन्यो । निर्वाचन भएको तीन वर्षपछि बल्ल आयोग बन्यो,” उहाँले भन्नुभयो, “ती मान्छे छउञ्जेल आयोग गठन गर्न सकेनौँ । तिनलाई आयोग बनेको कत्रो पिर, बनेको भोलिपल्ट नेपाल बन्द । ”

विद्युत्मा आत्मनिर्भर
उहाँले मुलुक छिट्टै विद्युत्का क्षेत्रमा आत्मनिर्भर हुने बताउनुभयो । “फेरि लोडसेडिङ आउँछ कि भन्ने भ्रम फैलाउने काम भएको छ, जनता ढुक्क हुनुहोस्, हामी विद्युत्मा आत्मनिर्भर मात्र होइन, बिक्री गर्ने ठाउँमा पुग्दैछाँै”, उहाँले भन्नुभयो, “ विभिन्न आयोजनाहरुको निर्माण सम्पन्न हुने चरणमा रहेको र विद्युत् ट्रान्समिसनका लागि निर्माणको काम भइरहेको छ ।”

पेट्रोलियम खानी उत्खनन गरिने
उहाँले दैलेखबाट पेट्रोल र डिजेल, नवलपरासीको धौबारीबाट फलाम र स्टिल निकाल्न खानी सर्वेक्षणका लागि अध्ययन भइरहेको जानकारी दिनुभयो ।
तनहुँको मियमडाँडा र पर्वतको खानीबाट निस्कने फलामको उपयोग गर्न फलाम र स्टिल उद्योग खोल्ने तयारीसमेत गरिएको जानकारी उहाँले दिनुभयो । उहाँले रासायनिक मल आफ्नै देशमा उत्पादन गरेर कृषिको उत्पादकत्व बढाइने पनि बताउनुभयो ।
नारायणहिटी दरबार अगाडि भएको आमसभामा उपप्रधानमन्त्री ईश्वर पोखरेल, गृहमन्त्री रामबहादुर थापा र पार्टी स्थायी कमिटी सदस्य सत्यनारायण मण्डलले समेत बोल्नुभएको थियो । पार्टीका अनुसार आगामी फागुन १ गते बुटवल र फागुन ८ गते विराटनगरमा पनि बृहत् आमसभा गरिने छ ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology