• Thursday 30th of July 2026

कोरोनाबाट विदेशमा थप तीन नेपालीको निधन


  • गोकर्णेश्वर अनलाइन

कोभिड–१९ को सङ्क्रमणबाट विदेशमा थप तीन नेपालीको निधन भएको छ । गैरआवासीय नेपाली सङ्घका अनुसार यो साता बेलायतमा दुई र अल्जेरियामा एकको सङ्क्रमणका कारण निधन भएको हो । योसहित २१ देशमा कोरोना सङ्क्रमणका कारण निधन हुने नेपालीको सङ्ख्या ३३३ जना पुगेको छ ।

गैरआवासीय नेपाली सङ्घअन्तर्गतको स्वास्थ्य समितिका संयोजक सञ्जीव सापकोटाका अनुसार शनिबार साँझसम्म विभिन्न ५० देशमा रहेका ५८ हजार ८३२ नेपालीमा कोरोना सङ्क्रमण देखिएको छ । तीमध्ये ५६ हजार २४७ जना कोरोनामुक्त भएका छन् । यो कूल सङ्क्रमितको ९४ प्रतिशत हो ।

गैरआवासीय नेपाली सङ्घको स्वास्थ्य समितिका अनुसार यो साता बेलायत, मलेसिया, साउदी अरब, पोर्चुगल र नाइजेरियामा रहेका थप नेपालीमा कोरोना सङ्क्रमण देखिएको छ ।

यस्तै कोरोना भाइरसका कारण नेपालमा दुई हजार ३५ जनाको निधन भएको छ । नेपालमा कोरोना भाइरसबाट सङ्क्रमण हुनेको सङ्ख्या दुई लाख ७१ हजार ८०६ जना छन् भने दुई लाख ६६ हजार ८१२ अर्थात् ९८ दशमलव पाँच प्रतिशत कोरोनाबाट मुक्त भएको कोभिड–१९ उच्चस्तरीय समिति, गैरआवासीय नेपाली सङ्घका प्रेस संयोजक चिरन शर्माले जनाउनुभयो ।

खोप कसले लगाउने–नलगाउने

अठार वर्ष माथिका सबैले कोरोनाविरुद्धको खोप लगाउन सकिन्छ । मुटु रोग, मधुमेह र अन्य दीर्घरोगका बिरामीले पनि जीवनरक्षाका लागि कोभिड–१९ विरुद्धको खोप लगाउन सकिन्छ । खोपको पहिलो मात्राले असर र एलर्जी भयो भने पनि अर्को मात्रा लगाउनु हुँदैन । ज्वरो आएका बेला, रक्तस्रावसम्बन्धी समस्या भएका व्यक्ति, रगत पातलो बनाउने औषधि सेवन गर्ने व्यक्ति, गर्भवती, सुत्केरी, स्तनपान गराइरहेकी महिला, गम्भीर कोरोना सङ्क्रमित, सिकिस्त बिरामीलगायतले पनि यो खोप नलगाउन उत्पादक कम्पनीले सुझाएका छन् । अठार वर्षभन्दा कम उमेरकालाई पनि खोप लगाउन सिफारिस गरिँदैन ।

खोप लगाएको तीनदेखि छ हप्तामा मात्रै अर्को मात्रा लिनुपर्छ । दोस्रो मात्रा लगाएको चार हप्तापछि शरीरमा एन्टिबडी बन्न थाल्छ । त्योभन्दा पहिले जनस्वास्थ्यका मापदण्ड अपनाउनु पर्दछ । अन्यथा आफू र अरूलाई सुरक्षित राख्न थप चुनौती देखिन पनि सक्छ । दोस्रो मात्राको खोप सोही कम्पनीको लगाउनुपर्छ । जुन पहिलो मात्रामा लगाइएको छ ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology