• Wednesday 29th of July 2026

सबै वडामा आधारभूत स्वास्थ्य सेवा केन्द्र


  • गोकर्णेश्वर अनलाइन

नवलपरासी (बर्दघाट सुस्तापूर्व ) नवलपुरको कावासोती नगरपालिकाभित्रका सबै वडामा आधारभूत स्वास्थ्य सेवा केन्द्र स्थापना गरिएको छ ।

नगरपालिकाभित्रका सबै जनतामा आधारभूत स्वास्थ्य सेवाको पहुँच होस् भनेर १७ वटा वडामा सेवा केन्द्र स्थापना गरिएको नगरपालिका प्रमुख चन्द्रकुमारी पुनले बताउनुभयो । नगरपालिकाका सात वडामा मङ्गलबार सेवा केन्द्र उद्घाटन गरेसँगै सबै वडामा स्वास्थ्य केन्द्र स्थापना भएको नगरप्रमुख पुनले बताउनुभयो ।

गत वर्ष चार वडामा आधारभूत स्वास्थ्य केन्द्र स्थापना गरिएको थियो । केही वडामा पहिलेकै स्वास्थ्य चौकी थिए । लगातार दुई वर्षसम्म वडाहरुमा आधारभूत स्वास्थ्य केन्द्र स्थापनालाई प्राथमिकतामा राखेर आफूहरुले काम गरेकाले अहिले सबै वडामा स्वास्थ्य केन्द्र स्थापना गर्न सफल भएको नगरप्रमुख पुनले बताउनुभयो । सरकारको नीतिसमेत सबै नागरिकलाई सहजरुपमा स्वास्थ्य सेवा प्रदान गर्ने रहेकाले सरकारसँगको साझेदारीमा काम गरिएको उहाँले बताउनुभयो ।
सबै केन्द्रमा जनशक्तिसमेत व्यवस्थापन गरी सकिएको कावासोती नगरपालिकाप्रमुख प्रशासकीय अधिकृत यज्ञ पुरीले बताउनुभयो । केन्द्रमा एकएक स्टाफ नर्स, अहेब र कार्यालय सहयोगीको व्यवस्थापन गरिएको छ । अहिले धेरै जसो भाडाको घरमा सञ्चालन र केही सामाजिक संस्थाका भवनमा सञ्चालन गरिएका छन् । केन्द्रलाई थप व्यवस्थित बनाउन एकै पटक ११ वटा भवन निर्माण गर्न लागिएको समेत प्रमुख प्रशासकीय अधिकृत पुरीले बताउनुभयो । भवन निर्माणको ठेक्का सम्झौताको चरणमा छ । यसै आर्थिक वर्षमा नेपाल सरकारको मापदण्डअनुसारको ‘र्टाप २’ भवन निर्माण हुनेछन् ।

केन्द्र स्थापना भएसँगै यहाँबाट सरकारले उपलब्ध गराउने ३५ प्रकारका निःशुल्क औषधिसहित खोप सेवा, परिवार नियोजन, उत्तर प्रसूति सेवा, पोषणसहित सामान्य बहिरङ्ग सेवा प्रदान हुने कावासोती नगरपालिका स्वास्थ्य शाखाप्रमुख कृष्ण नागिलाले बताउनुभयो ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology