• Monday 27th of July 2026

बाहुनीडाँडाका स्थानीयवासी आफैँले निकाले गाउँमा दूधकोशीको पानी


  • गोकर्णेश्वर अनलाइन

हलेसी तुवाचुङ नगरपालिका–१ बाहुनीडाँडास्थित कदुवाका स्थानीय बासिन्दाले दूधकोशीको पानी लिफ्टिङ प्रविधि अपनाएर गाउँमा निकालेका छन् । सुक्खाग्रस्त क्षेत्रमा पर्ने बाहुनीडाँडाका स्थानीय बासिन्दाले घरायसी प्रयोजन तथा कागती खेती, बाख्रा तथा कुखुरापालन गर्न करिब एक हजार ७९० मिटरमाथि रहेको थामडाँडामा दूधकोशीको पानी निकालेका हुन् ।

दूधकोशीको सान्ने दोभानबाट २० किलोवाट क्षमताको सोलार प्यानल जडान गरेर गाउँमा नदीको पानी निकालिएको उपभोक्ता समितिका कोषाध्यक्ष चन्द्रबहादुर कार्कीले बताउनुभयो । “दूधकोशी नदीको पानी ७२५ मिटरमाथि निर्माण गरिएको पहिलो पोखरीमा जम्मा गरेर पुनः त्यहाँबाट तानेर थामडाँडाको दोस्रो पोखरीमा जम्मा गरिएको छ”, उहाँले भन्नुभयो, “दूधकोशी नदीको पानी गाउँमा निकाल्न सर्वोच्च अदालतमा कार्यरत वकिल जगतबहादुर कार्कीको प्रमुख भूमिका रहेको छ ।”

विशेषगरी प्रल्हाद कार्की र तिलक कार्कीको कुखुरा फार्म, कमल कार्कीको बाख्रा फार्म र चन्द्र कार्कीको कागती खेतीका लागि दूधकोशीको पानी तान्ने विकल्प अघि सारिएको थियो । खानेपानी अभावमा काकाकुल अवस्थामा जीवन निर्वाह गरिरहेका बाहुनीडाँडामा नदीको पानी निकालिएपछि केही राहत मिलेको छ ।

कदुवामा पानी ल्याउने कुनै स्रोतको विकल्प नभएकाले नदीको पानी लिफ्ट गरेर गाउँमा निकालिएको स्थानीय बासिन्दा एवं व्यवसायी फौदसिं कार्कीले बताउनुभयो । “बिहान साढे ९ बजेदेखि दिउँसो ३ बजेसम्म प्रतिघण्टा चार हजार लिटरका दरले पानी गाउँमा निकाल्ने गरिएको छ”, उहाँले भन्नुभयो, “गाउँमा निकालिएको पानी कदुवाका स्थानीय बासिन्दाले पिउनका लागि समेत उपयोग गरिरहेका छन् ।”

उपभोक्ता समितिका अध्यक्ष नीरकुमार कार्की, उपाध्यक्ष कमलबहादुर कार्की, सचिव तिलक कार्की, कोषाध्यक्ष चन्द्रबहादुर कार्की, सदस्य प्रल्हाद कार्की, विदुर कार्की, सन्तोष प्रधानलगायतका व्यक्तिको करिब रु ४५ लाख लागतमा पानी निकालिएको जनाइएको छ । लिफ्टिङ खानेपानी योजनाको ट्याङ्की निर्माणलगायत कतिपय काम अझै बाँकी नै रहेको उपभोक्ता समितिले जनाएको छ ।

नेपाल ऊर्जा विकासले लिफ्टिङ योजनाको सोलार तथा पम्प जडानलगायतका कामको जिम्मा लिएको थियो । करिब रु २५–३० लाखमा लिफ्टिङको काम पूरा गर्ने योजना बनाइए पनि अनुमान गरिएभन्दा बढी खर्च भएको जनाइएको छ ।

लिफ्टिङ योजना सफल बनाउन कदुवाका ८० घर स्थानीयवासीले श्रमदानसमेत गरेका छन् । श्रमदान गरेवापत उनीहरुले हाल लिफ्टिङ गरेर निकालिएको दूधकोशी नदीको पानी उपयोग गर्ने अवसर पाएका छन् । दूधकोशीबाट लिफ्टिङ गरिएको पानी बाहुनीडाँडास्थित मालिकादेवी माविलाई पनि उपलब्ध गराइएको छ । उपभोक्ता समितिले नदीबाट निकालिएको पानी विद्यालयलाई निःशुल्क उपलब्ध गराएपछि यसअघि दिउँसोका लागि उपभोग गर्न घरैबाट पानी बोकेर विद्यालय जाने विद्यार्थीलाई समेत सहज भएको छ ।

हलेसी तुवाचुङ नगरपालिकामा दूधकोशीको पानी निकाल्न हलेसी क्षेत्र खोटाङ (बृहत् पम्पिङ) खानेपानी आयोजनाको काम भइरहेको छ । राष्ट्रिय गौरवको आयोजनाअन्तर्गत पर्ने उक्त बृहत् पम्पिङ खानेपानी आयोजनाको काम भइरहेको अवस्थामा कदुवाका स्थानीय बासिन्दाले आफ्नै पहलमा नदीको पानी निकालेका हुन् ।

जिल्लाको पश्चिमी क्षेत्रमा पर्ने हलेसी तुवाचुङ नगरपालिकाको महादेवस्थान, दुर्छिम, मङ्गलटार, बडहरे, च्यास्मिटार, डिकुवा र बाहुनीडाँडाका उपभोक्तालाई लक्षित गरेर दूधकोशीको पानीलाई लिफ्ट गरेर गाउँमा निकाल्ने काम तीव्रगतिमा अगाडि बढाइएको छ । त्रिधार्मिकस्थल हलेसीसमेत रहेको क्षेत्रका करिब २० हजार उपभोक्तालाई वितरण गर्ने गरी नदीको पानी तान्न सडक निर्माण, विद्युत् विस्तार र वितरण केन्द्रको ट्याङ्की निर्माणको काम अन्तिम चरणमा पुगेको जनाइएको छ ।

मुख्य वितरण केन्द्र रहने हलेसीको काभ्रे र अर्को मुख्य वितरण केन्द्र रहने डिकुवाको भुम्जुडाँडामा ट्याङ्की निर्माणको काम सम्पन्न भइसकेको निर्माण उपभोक्ता समितिका अध्यक्ष इवन राईले जानकारी दिनुभयो । विद्युत्मार्फत सल्लेको महादेवबेँसीबाट तानिने पानीलाई एक हजार ७५८ मिटरको उचाइमा पर्ने हलेसीको काभ्रेमा जम्मा गरेर गाउँमा वितरण गर्ने योजना बनाइएको छ ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology