• Monday 27th of July 2026

कालोपत्रे हुँदै गाउँपालिकाको केन्द्र जोड्ने सडक


  • गोकर्णेश्वर अनलाइन

मध्यपहाडी पुष्पलाल लोकमार्गबाट काठेखोला गाउँपालिकाको केन्द्र जोड्ने सडक कालोपत्र गर्न थालिएको छ । मध्यपहाडी पुष्पलाल लोकमार्गको बागलुङ खण्डअन्तर्गत अक्षेतेबाट गाउँपालिकाको प्रशासनिक केन्द्र जोड्ने सडक कालेपत्र गर्न शुरु गरिएको हो । मध्यपहाडी पुष्पलाल लोकमार्गसमेत कालोपत्र गर्ने तयारीमा छ । लोकमार्गको अक्षेते खण्डबाट बिहुँ–सुल्डाँडा–लेखानी जोड्ने मूल सडकको ९०० मिटर सडक कालोपत्र गर्न थालिएको काठेखोला गाउँपालिकाले जनाएको छ ।

गण्डकी प्रदेश सरकार पूर्वाधार कार्यालय बागलुङले नयाँ युग कन्स्ट्रक्सनलाई गत वर्ष फागुन ११ गते निर्माणको जिम्मेवारी दिएको थियो । एक वर्षमा सडकमा पूर्वाधार निर्माण भइरहेको कम्पनीका आधिकारिक प्रतिनिधि कुमार कार्कीले जानकारी दिनुभयो ।

उक्त सडकमा ग्याविन भर्ने, सडक चौडा गर्ने, ग्राभेल तथा सवबेसको काम सकिएको र एक हप्ताभित्र कालोपत्रको काम थाल्ने उहाँको भनाइ छ । “मौसम अझै चिसो छ, चैत महिनामा कालोपत्र थालिनेछ”, कार्कीले भन्नुभयो, “अन्य पूर्वाधार निर्माण सम्पन्न भइसकेकाले कालोपत्र छोटो समयमै सम्पन्न गर्नेछौँ ।”

सडक कालोपत्र गर्न गण्डकी प्रदेश सरकारले रु दुई करोड ३७ लाख ६९ हजारमा ठेक्का सम्झौता गरेको पूर्वाधार कार्यालय बागलुङका इञ्जिनीयर श्यामप्रसाद भण्डारीले जानकारी दिनुभयो । उक्त सडक साढे पाँच मिटर चौडा बनेको छ । मध्यपहाडी लोकमार्गको अक्षेते खण्डलाई जिरो किलोमिटर मानेर सुल्डाँडासम्मको करिब ९८२ मिटर सडक पहिलो चरणमा कालोपत्र हुनेछ । यो सडक कालोपत्र भएसँगै काठेखोला गाउँपालिकाको प्रमुख प्रशासनिक केन्द्र सुल्डाँडा कालोपत्र सडकले जोडिनेछ ।

ठेकेदार प्रतिनिधि कार्कीका अनुसार उक्त सडकमा १२० मिटर ढलान र बाँकी खण्डमा कालोपत्र गरिनेछ । ढलानको काम सकिएको हुँदा कालोपत्रको काम तुरुन्त शुरु गर्ने उहाँले बताउनुभयो । कालोपत्र गर्ने सडकमा सधैँ चिसो हुने भएकाले चैत नलागी कालोपत्र नगर्न प्राविधिकले दिएको सुझावका आधारमा काम केही ढिला भएको हो । यस सडक काठेखोला गाउँपालिकाको वडा नं ७ रेश, वडा नं ८ लेखानी तथा वडा नं ५ र ६ को पश्चिम भेगको प्रवेशद्वार हो । निकै भिरालो र जीर्ण सडकमा पटक–पटक दुर्घटनासमेत हुँदै आएको थियो ।

पुरानो सडक स्तरोन्नति नभएकाले काठेखोला गाउँपालिका र वडा कार्यालयको समन्वयमा बजेट विनियोजन गर्न पहल भएको थियो । हरेक वडा कार्यालयदेखि गाउँपालिका केन्द्र जोड्ने सडक कालोपत्र गर्ने गाउँपालिकाको योजनाको उक्त सडक सहयोगी बन्नेछ । अहिले गाउँपालिकाको केन्द्रबाट रेश वडा कार्यालय पुग्ने सडकको केही भाग कालोपत्र भइसकेको छ भने चार किलोमिटर सडकमा धमाधम पूर्वाधार निर्माण भइरहेको काठेखोला गाउँपालिकाका अध्यक्ष अमरबहादुर थापाले जानकारी दिनुभयो ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology