• Monday 27th of July 2026

नेपाल राजनीतिक हिसाबले द्वन्द्वमुक्त भएको छ : परराष्ट्रमन्त्री ज्ञवाली


  • गोकर्णेश्वर अनलाइन

परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले नेपाल राजनीतिक हिसाबले द्वन्द्वमुक्त भएको बताउनुभएको छ ।

प्रतिनिधिसभाको आजको बैठकमा दलीयरुपमा भाग लिँदै मन्त्री ज्ञवालीले तराईमा चलेको पृथकतावादी र हिंसात्मक गतिविधि चलाउने समूह शान्तिपूर्ण राजनीतिको मूलधारमा आएसँगै नेपाल द्वन्द्वमुक्त भएको बताउनुभयो । “यो महत्वपूर्ण उपलब्धि हो”, उहाँले भन्नुभयो । संसद्को प्रारम्भमै पेश हुनुपर्ने अध्यादेशका विषयमा सबै राजनीतिक दलबीच एकै मत र समान धारणा हुनुपर्ने उल्लेख गर्दै मन्त्री ज्ञवालीले निश्चित व्यक्ति प्रधानमन्त्री हुन पाए अग्रगमन नभए प्रतिगमन भन्ने बुझाइ अन्त्य हुनुपर्ने धारणा राख्नुभयो ।

प्रतिनिधिसभा पुनःस्थापनापछि नयाँ ढङ्गले जान खोजे पनि अहिलेको वातावरणले अझै राम्रो सङ्केत नगरेको मन्त्री ज्ञवालीको भनाइ थियो । सर्वोच्च अदालतको फैसलापछि यही संसद्बाट नै राजनीतिक स्थायित्व खोज्ने बाध्यात्मक स्थिति आएको भन्दै उहाँले सरकारले अदालतलाई कुनै आक्षेप नलगाएको बताउनुभयो । उहाँले विसं २०७२ मा संविधान जारी गरेर महत्वपूर्ण उपलब्धि हासिल गरेको भन्दै अहिले संविधान सबैको सर्वस्वीकार्य दस्तावेज बनेको उल्लेख गर्नुभयो ।

मन्त्री ज्ञवालीले सरकारले तीन वर्षमा महत्वपूर्ण काम गरेको स्पष्ट पार्दै नेपालको निधारमा लागेको अल्पविकसितको टीका निकट भविष्यमै हट्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले मेलम्ची खानेपानी योजना, सुनकोशी डाइभर्सन, नागढुङ्गा सुरुङमार्गलगायत महत्वपूर्ण काम गरेको स्पष्ट पार्नुभयो । “मेलम्चीको पानी सुन्दरीजलमा पुगेको छ, अर्को हप्ता काठमाडौँवासीको धारामा पानी झर्छ”, उहाँले भन्नुभयो, “पाँच जिल्लाको विकास गर्ने सुनकोशी डाइभर्सनको शिलान्यास गरेका छौँ, घण्टौँ जाममा परेर बिरामीले एम्बुलेन्सभित्रै ज्यान गुमाउने अवस्थाको अन्त्य गर्न नागढुङ्गा सुरुङमार्गको काम तीव्र गतिमा भइरहेको छ ।” सगरमाथाको उचाइ नेपाल आफैं ले मापन गरेको उहाँले उल्लेख गर्नुभयो ।

मन्त्री ज्ञवालीले जनतालाई स्वास्थ्य सेवा सर्वसुलभ ढङ्गले उपलब्ध गराउने उद्देश्यका साथ सरकारले देशभर ३९६ अस्पतालको शिलान्यास गरेको उल्लेख गर्दै तामाकोशीको विद्युत् चाँडै बाल्न पाउने बताउनुभयो । देशले नयाँ उपलब्धि हासिल गरेर अघि बढेको उहाँले स्पष्ट पार्नुभयो । सरकारले कोभिड–१९ नियन्त्रण र रोकथाममा महत्वपूर्ण उपलब्धि हासिल गरेको भन्दै मन्त्री ज्ञवालीले कोरोनाबाट निको हुनेको सङ्ख्या ९८ प्रतिशत रहेको बताउनुभयो ।

विश्वका ६० मुलुकले शुरुआतमै आफ्ना नागरिकलाई कोरोनाविरुद्धको खोप उपलब्ध गराएको प्रसङ्ग उल्लेख गर्दै उहाँले नेपालले पनि प्रारम्भमै नागरिकलाई खोप उपलब्ध गराएको बताउनुभयो । “हामीले १७ लाख व्यक्तिलाई कोरोनाविरुद्धको खोप दिइसकेका छौँ”, उहाँले भन्नुभयो । कोरोनाविरुद्धको खोप उपलब्ध गराएकामा मन्त्री ज्ञवालीले भारत, चीन र संयुक्त राष्ट्रसङ्घप्रति आभार प्रकट गर्नुभयो ।

मन्त्री ज्ञवालीले नेपालले बाह्य मुलुकसितको सम्बन्धमा उल्लेख्य उपलब्धि हासिल गरेको बताउनुभयो । नेपालले कालापानी, लिपुलेक र लिम्पियाधुराको मुद्दा प्रखररुपमा उठाएको उल्लेख गर्नुभयो । सो अवसरमा मन्त्री ज्ञवालीले राष्ट्रपति विद्यादेवी भण्डारीको आशन्न बङ्गलादेशको मैत्रीपूर्ण औपचारिक भ्रमणबारे सदनलाई जानकारी गराउनुभएको थियो । राष्ट्रपति भण्डारीले यही चैत ९ देखि १० गतेसम्म गर्ने बङ्गलादेशको भ्रमणबाट दुई देशको सम्बन्ध थप सुमधुर हुने उहाँले स्पष्ट पार्नुभयो ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology