• Monday 27th of July 2026

पार्टी मोडालिटीबारे छलफल गर्दैछौँ : अध्यक्ष दाहाल


  • गोकर्णेश्वर अनलाइन

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीलाई कुन मोडालिटीमा लैजाने भन्ने विषयमा केन्द्रीय कमिटीमा छलफल भइरहेको बताउनुभएको छ । पूर्वप्रधानमन्त्री दाहालले आज नेपाल राष्ट्रिय उद्योग व्यापार सङ्गठनको दुईदिने राष्ट्रिय भेला तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै पार्टीलाई परिमार्जन गरी नयाँ संरचनामा लैजान छलफल थालेको बताउनुभएको हो ।

“पार्टीलाई कुन संरचनामा कसरी लैजाने, पूर्वसंरचना जस्ताको त्यस्तै जीवित राख्ने कि परिमार्जन र सुदृढ गरेर लैजाने या अर्को कुनै नयाँ मोडालिटीको खोजी गर्ने बारेमा केन्द्रीय कमिटीमा छफलमै छौँ”, अध्यक्ष दाहालले भन्नुभयो । उहाँले माओवादी केन्द्र कम्युनिष्ट एकता प्रक्रियामा सङ्ख्यात्मकरुपमा जुन संरचनामा गएको थियो सोही यथावत राख्ने वा थप एकतामा जाने भन्ने विषयमा पनि छलफल भइरहेको बताउनुभयो ।

अध्यक्ष दाहालले एक भएका दुई कम्युनिष्ट पार्टीलाई यथावत बनाउने अदालतको निर्णय असहमत भए पनि स्वीकार्दै विभिन्न जनवर्गीय सङ्गठनमा छलफल गर्दै सबैलाई समेट्ने संचना बनाउने विषयमा पार्टी निकट व्यापारिक सङ्गठनसँग सुझाव माग गर्नुभयो । उहाँले भन्नुभयो, “पार्टीको मोडालिटीबारे तपाईहरुको पनि रचनात्मक सुझाव दिनुहोस्, राष्ट्रिय पूँजी र अर्थतन्त्रका विरुद्ध लाग्नेको लागि सङ्घर्षमा अहिले पनि लागिरहेका छौँ, सङ्गठित र संस्थागतरुपमा हामीलाई तपाईहरुको साथ चाहिन्छ, राष्ट्रिय पूँजी निर्माण गर्दै रोजगारी सिर्जना गर्न सङ्गठनले मुख्य भूमिका खेल्नुपर्छ ।”

कार्यक्रममा पार्टी स्थायी कमिटी सदस्य जनार्दन शर्माले माओवादी केन्द्रलाई पुनर्गठित गरिरहेको बताउँदै वर्तमान चुनौतीलाई सामना गर्ने सामथ्र्य जुटाइरहेको उल्लेख गर्नुभयो । “एकाधिकार पूँजीवादले जनताको समस्या समाधान गर्दैन, विभेद र अभावमा बाँच्नुपर्ने बाध्यतालाई प्रगतिशील पूँजीवादले मात्रै समाजवादतर्फ लैजान्छ”, उहाँले भन्नुभयो । बलियो ग्रामीण अर्थतन्त्रले विना राष्ट्रिय पूँजी निर्माण नहुने उहाँको तर्क थियो । सङ्गठनका अध्यक्ष श्याम पाठकले २०६४ मा स्थापित सङ्गठन ६५ जिल्लामा विस्तार भइसकेकाले प्रदेश र स्थानीयस्तरमा विस्तारको योजनामा रहेको जानकारी दिनुभयो ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology