• Monday 27th of July 2026

रोकिएकै हो काभ्रेमा मिर्गाैला तस्करी ?


  • गोकर्णेश्वर अनलाइन

‘बैंक अफ किड्नी’का रूपमा अन्तर्राष्ट्रियस्तरमा बदनाम कमाएको काभ्रेपलाञ्चोकमा करिब तीन वर्षदेखि मिर्गाैला तस्करीको घटना बाहिर आएको छैन । कोरोना सन्त्रासका बीच तस्करी नभएको विश्वास गरिए पनि त्यसअघि करिब एक वर्ष १० महिनाको अवधिमा समेत मिर्गाैला तस्करीका घटना बाहिर आएनन् । के अब काभ्रेपलाञ्चोकमा मिर्गाैला तस्करी रोकिएकै हो ?

विसं २०७५ जेठ १० गते काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–२ टुकुचानालास्थित गिरीगाउँका २९ वर्षीय कुमार गिरीलाई तस्करले झुक्याएर उनको एउटा मिर्गाैला भक्तपुर नपा–१ सल्लाघारीका ५१ वर्षीय थर्कबहादुर बस्नेतलाई मानव अङ्ग प्रत्यारोपण केन्द्र भक्तपुरमा प्रत्यारोपण गराए । त्यसपछि जिल्लामा मिर्गाैला तस्करहरु फेरि पनि सल्बलाएको आशङ्का गरियो । त्यसअघि विसं २०७१ फागुनमा नमोबुद्ध नपा–२ की दुई सन्तानकी एक ३५ वर्षीया गृहिणीले श्रीमान् विदेश जाँदाको ऋण तिर्न नसकेर तस्करमार्फत रु तीन लाखमा एउटा मिर्गाैला बेचेको घटना बाहिरिएको थियो ।

घटनाक्रमका तथ्याङ्कले करिब दुई वर्ष १० महिनासम्मको अवधिमा मिर्गाैला तस्करीको घटना घटेको पाइएन । घटना बाहिर नआएको पनि हुनसक्ने काभ्रेपलाञ्चोकमा मानव अङ्ग बेचबिखनविरुद्ध चेतनामूलक कार्यक्रम सञ्चालन गर्दै आएको जनअधिकार संरक्षण मञ्च (पिपीआर)ले जनायो । “तस्करीका घटना बाहिर नआएको पनि हुनसक्छ, कोरोना सन्त्रासबीच मिर्गाैला दिने र प्रत्यारोपणकर्ताको स्वास्थ्य संवेदनशीलताले नभएको पनि हुनसक्छ”, पिपीआरका निर्देशक शतिस शर्माले भन्नुभयो । उहाँका अनुसार सरोकारवाला निकायले यसबीचमा पनि मानव अङ्ग बेचविखनप्रति विशेष ध्यान दिनु जरुरी छ ।

घटना विवरणअनुसार काभे्रपलाञ्चोकको तत्कालीन होक्से र ज्याम्दी गाविसबाट २५ वर्ष अघिदेखि मिर्गाैला तस्करी हुने गरेको थियो । तत्कालीन होक्से गाविस–१ स्थित एकै परिवारका सात जनाले मिर्गाैला बेचेपछि उनीहरुले विसं २०६८ मा गाउँ नै छाडेर हिँडेका थिए । त्यसयता मिर्गाैला तस्करी फस्टाउँदै गएपछि केही वर्षको अनुसन्धानबाट काभे्रपलाञ्चोक प्रहरीले विसं २०७० वैशाखमा १० मिर्गाैला तस्करलाई पक्रेर थप अनुसन्धानपछि सात जनालाई कानूनी कारवाही नै गरेको थियो ।

त्यसपछिका केही वर्षमा मिर्गाैला झिकेपछि शल्यक्रिया गरेर पठाउने गर्दा परिवार र छिमेकीसँग लुकेर नुहाउनुपर्ने बाध्यता हटेको भन्दै यहाँका अर्थावस्था कमजोर भएका परिवारलाई मिर्गाैला बिक्री गराउन तस्करले थप हौस्याएको तथ्यसमेत खुलेको थियो । त्यसअघि बिक्री गर्नेका मिर्गाैला निकाल्दा पेटको बायाँतर्फ छदेखि आठ इन्चसम्मको टाँकाको खत देखिन्थे ।

दलालमार्फत आफ्नो शरीरको महत्वपूर्ण अङ्ग मिर्गाैला बेची छिमेकी र आफन्तले घृणा गर्ने डरले आफ्नो पीडा लुकाउँदै आएका जिल्लाका पुरुष पछिल्ला केही वर्षदेखि समाजमा खुलेरै चेतनशील अभियानमा लागेका छन् । भारतको दिल्लीमा नोकरीको लोभमा परी २१ वर्षअघि मिर्गाैला बेचेका मण्डन देउपुर नपा–२ का नवराज मिजारले भन्नुभयो, “हामी चिरेको पेट छोपेर नुहाउने गथ्र्यौँ, तर मिर्गाैला बेच्दा शरीर र परिवारमा हुने बेफाइदाबारे समाजमा चेतना बाँड्दैछौँ ।” उहाँ जिल्लाको मानव बेचबिखनसम्बन्धी सार्वजनिक कार्यक्रममा मिर्गाैला झिकेको खतसमेत देखाउने गर्नुहुन्छ ।

नवराज भन्नुहुन्छ, “मैले मिर्गाैला बेचेपछि दुखाई कम गर्न रक्सी खाने गर्थेँ, मिर्गाैला बेचेको पैसा पनि सकेँ, जमिन पनि सकेँ, मैले रक्सी छाडेको पनि पाँच वर्ष भइसक्यो ।” उहाँलाई १५ वर्षअघि मिर्गाैला बेच्नुभएका ज्याम्दीकै अर्का रामकुमार परियारले सहयोग गर्दै आउनुभएको छ । उहाँले आफूलाई पातलेखेतका विनोद परियारले जागिरको लोभ देखाई भारतको चण्डीगढ पुर्याएर मिर्गाैला बेच्न बाध्य पारेको बताउँदै यसबाट आफ्नो जीवन नै खतरायुक्त भएको बताउहुन्छ । उहाँ भन्नुहुन्छ, “भनेको जति पैसा पनि दिएनन्, त्यो पैसाले केही गर्न पनि सकिनँ, तर अन्यलाई मिर्गाैला बेच्दाको असरबारे भन्ने गर्दै आएको छु ।”

मिर्गाैला बेचेका ज्याम्दीकै गणेश परियार र अमिक परिवारले गाउँमा दलाललाई प्रवेश निषेध गरिएको बताउनुभयो । उहाँहरुले अब ज्याम्दीबाट कसैलाई पनि मिर्गाैला बेच्नेजस्तो घृणित काममा लाग्न नदिने प्रण गर्नुभएको छ । “हामी खुलेरै लागेका छौँ, अब कसैको जीवन बर्बाद हुन दिन्नौँ”, गणेशले भन्नुभयो । उहाँहरुले आफ्नो अभियानमा साथ दिन प्रहरी, प्रशासनसँग अनुरोधसमेत गर्दै आउनुभएको छ ।

मिर्गाैला बिक्री गर्नेले नै खुलेर यसविरुद्ध लाग्नु र सरोकारवाला संस्थाको अभियानले मिर्गाैला तस्करी रोकिएको ठानिएको छ । पिपीआरका जिल्ला संयोजक कृष्णप्यारी कर्मी भन्नहुन्छ, “मिर्गाैला बेचेपछि हुने गम्भीर शारीरिक समस्याबारे जानकारी दिएपछि पिडितहरु आफैँ चेतनामूलक अभियानमा लाग्नुभएको छ, यो निकै खुशीको अवस्था हो ।” पिपीआरको केही वर्षअघिको अध्ययन प्रतिवेदनमा पाँचखाल नगरअन्तर्गत होक्सेबाट ११२, पाँचखालबाट १०२ तथा मण्डनदेउपुर नगरको ज्याम्दीबाट ५६ ले आफ्नो शरीरको एउटा मिर्गाैला बिक्री गरेको उल्लेख गरेको छ । यसमध्ये पुरुषभन्दा महिलाको सङ्ख्या तेब्बर देखिन्छ ।

कानूनमा मिर्गाैला दान गर्न आफन्त हुनुपर्ने उल्लेख छ । गैरकानूनीरूपमा मिर्गाैला बिक्री गराए मानव बेचविखन तथा ओसारपसार ऐन, २०६४ अन्तर्गत १० वर्ष कैद र रु दुई देखि पाँच लाखसम्म जरिवाना र सजाय हुनेछ । पीडकलाई गरिएको जरिवानामध्ये आधा रकम भने पीडितलाई क्षतिपूर्ति भराइदिने कानूनी व्यवस्था छ ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology