• Monday 27th of July 2026

विषयगत समिति प्रतिनिधित्व सङ्ख्याका आधारमा हेरफेर होस् : एमाले


  • गोकर्णेश्वर अनलाइन

नेकपा (एमाले) ले सर्वाेच्च अदालतको पछिल्लो फैसलाका आधारमा उत्पन्न परिस्थितिलाई दृष्टिगत गरी प्रतिनिधिसभाका विषयगत समितिमा दलीय प्रतिनिधित्वको हैसियत र सङ्ख्याका आधारमा सदस्य रहने गरी हेरफेर गर्न माग गरेको छ ।

प्रतिनिधिसभाको आजको बैठकको प्रारम्भमा सभामुखसँग समय लिएर नेकपा (एमाले) का सांसद खगराज अधिकारीले अदालतको फैसलापछि सदनमा एमाले र नेकपा (माओवादी केन्द्र)को उपस्थिति बेग्लैरूपमा रहे पनि संसदीय समितिमा अझै नेकपाकै हैसियतमा रहनुपर्ने स्थितिलाई छिटो अन्त्य गर्न आवश्यक छ भन्नुभयो । उहाँले भन्नुभयो, “अदालतको फैसलापछि सदनमा एमाले र माओवादी केन्द्र नजिक भएर पनि बेग्लाबेग्लै बसाइको स्थितिमा छ, तर विषयगत समिति जाँदा अझै हामी पनि नेकपा बन्न बाध्य छौं, यस्तो स्थिति संविधान, कानून, नियमावलीविपरीत छ, अब तत्काल सुधार गरियोस् ।”

सदनमा एउटा र समितिमा अर्काे पार्टी हुने असंवैधानिक काम गर्न कसैले उक्साउन नहुने बताउँदै सांसद अधिकारीले भन्नुभयो, “हामी संविधानसम्मत हुन चाहन्छाँै, संसदीय व्यवस्थाअनुसार दलको शक्तिको आधारमा समितिमा प्रतिनिधित्व हुँदै आएको छ, हामी अहिले अलग भइसकेकाले अब हामी एमाले भएर समितिमा रहन चाहन्छाँै ।” उहाँले भन्नुभयो, “सत्तापक्षलाई बाध्य पारेर दबाब दिन पाइँदैन, प्रतिनिधित्वअनुरुप समितिमा रहने व्यवस्था होस्, समितिका कामकारवाहीलाई संविधान, कानूनअनुसार अघि बढाउन आजकै बैठकबाट समितिमा सांसद रहने व्यवस्था गरियोस्, अन्यथा हामी गैरकानूनी कामको साक्षीको फड्केकिनारा हुन सक्दैनौँ ।”

जवाफमा सभामुख अग्निप्रसाद सापकोटाले कार्यव्यवस्था परामर्श समितिमा दलीय छलफल र सहमतिका आधारमा नामावली प्राप्त भएपछि समितिमा रहने सदस्यको फेरबदल गरिने स्पष्ट गर्नुभयो ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology