• Tuesday 28th of July 2026

२४ स्वास्थ्यकर्मीमा कोरोना पुष्टि


  • गोकर्णेश्वर अनलाइन

नयाँ भरिएन्टसहितको दोस्रो लहरको कोरोना सङ्क्रमण फैलिएसँगै अग्रपक्तिमा खटिने स्वास्थ्यकर्मीसमेत जोखिममा पर्दै गएका छन् । सङ्क्रमणको दोश्रो लहर फैलिएपछि यहाँ हालसम्म २४ स्वास्थ्यकर्मीमा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य कार्यालयका प्रमुख योगेशप्रसाद भट्टले जानकारी दिनुभयो ।

प्रमुख भट्टका अनुसार सबैभन्दा बढी पुर्चौंडी नगरपालिकाका विभिन्न स्वास्थ्य संस्थामा कार्यरत १४ स्वास्थ्यकर्मीमा सङ्क्रमण पुष्टि भएको छ । यस्तै पाटन नगरपालिकाका विभिन्न स्वास्थ्य संस्थामा कार्यरत चार, जिल्ला अस्पतालको पिसीआर प्रयोेगशालामा कार्यरत एक, सीमानाकास्थित झुलाघाट हेल्थडेस्कमा कार्यरत एक, गुरुखोला स्वास्थ्यचौकीमा कार्यरत एक र बैतडी प्लसमा कार्यरत एक स्वास्थ्यकर्मीमा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य कार्यालले जनाएको छ ।

सङ्क्रमण पुष्टि भएका स्वास्थ्यकर्मीको स्वास्थ्य अवस्था गम्भीर नरहेको र उनीहरु आइसोलेसनमा रहेका प्रमुख भट्टले बताउनुभयो । कोरोना सङ्क्रमणको रोकथाम र उपचारका लागि अग्रपंक्तिमा खटिएका स्वास्थ्यकर्मी सङ्क्रमित हुनथालेपछि समस्या भएको छ । उहाँले भन्नुभयो, “कोभिडको क्षेत्रमा प्रत्यक्षरुपमा काम गरिरहेका स्वास्थ्यकर्मी नै सङ्क्रमित भएपछि स्वास्थ्य सेवा नै प्रभावित भएको छ, सङ्क्रमण देखिएका स्वास्थ्य संस्थामा आसपासका स्वास्थ्यकर्मीले आलोपालो मिलाएर काम गरिरहेका छन् ।”

जिल्लामा दोस्रो लहरको सङ्क्रमणपछि १८८ मा सङ्क्रमण पुष्टि भइसकेको छ भने एक जनाको मृत्यु भएको छ । कोरोना सङ्क्रमण तीव्ररुपले फैलिरहेकाले स्वास्थ्यका मापदण्ड पूर्णरुपमा पालना गर्न स्वास्थ्य कार्यालयले आग्रहसमेत गरेको छ ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology