• Tuesday 28th of July 2026

अस्पताललाई एघार थान अक्सिजन सिलिन्डर हस्तान्तरण


  • गोकर्णेश्वर अनलाइन

अटो इन्जिनीयरिङ एसोसिएशन स्याङ्जाले गह्रौँ प्राथमिक अस्पताललाई ११ थान अक्सिजनसहितका सिलिन्डर हस्तान्तरण गरेको छ ।

विश्वव्यापी महामारीका रुपमा फैलिरहेको नयाँ भेरियन्ट कोभिड–१९ को सङ्क्रमणका कारण अक्सिजनको खपत दैनिक बढेपछि एसोसिएशनले सिलिन्डर हस्तान्तरण गरेको अध्यक्ष राजु तिवारीले बताउनुभयो ।

वालिङ नगरपालिकाभित्र रहेका विभिन्न मेटल कम्पनी, वर्कशप, मोटर ग्यारेज, ग्यास वेल्डिङलगायत कम्पनीमा रहेका ११ थान अक्सिजनसहितको सिलिन्डर हस्तान्तरण गरिएको अध्यक्ष तिवारीले बताउनुभयो ।

“कोभिड सङ्क्रमितको सङ्ख्या द्रूत गतिमा बढ्दै गइरहेका बेला उपचारका लागि अक्सिजनको अभाव हुन सक्छ”, अध्यक्ष तिवारीले भन्नुभयो, “कोही पनि सङ्क्रमितले अक्सिजनको अभावकै कारण ज्यान गुमाउन नपरोस् भन्ने हेतुले सिलिन्डर सङ्कलन गरी अस्पताललाई उपलब्ध गराएका हौँ ।”

सिलिन्डरको खोजी कार्य भइरहेकाले अझै थप गर्न सकिने उहाँले बताउनुभयो । कोभिड–१९ को रोकथाम तथा नियन्त्रण र उपचारका लागि नगरपालिकासँगै अन्य सहयोगी सङ्घसंस्थाको पनि उत्तिकै साथ र सहयोग रहेको नगर उपप्रमुख कल्पना तिवारीले बताउनुभयो । उहाँले महामारीका समयमा रोकथाम तथा नियन्त्रणका साथै उपचारका लागि आ–आफ्नो क्षेत्रबाट सहयोग गर्ने व्यक्ति तथा सङ्घसंस्थालाई आभार व्यक्त गर्नुभयो ।

व्यवसाय बन्द गर्दै अस्पतालमै पुगेर सिलिन्डर हस्तान्तरण गरेकामा नगरपालिकाका स्वास्थ्य शाखाप्रमुख एवं जनस्वास्थ्य निरीक्षक कमलप्रसाद पाण्डेले खुशी व्यक्त गर्नुभयो । पाण्डेले एसोसिएशनले विपद्का समयमा गरेको सहयोगलाई भुल्न नहुने बताउनुभयो । उहाँले प्राप्त सामग्रीको सही सदुपयोग गरी मानवीय जीवन रक्षाका लागि प्रयोग गर्ने प्रतिबद्धता जनाउनुभयो ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology